बिहीबार, ६ वैशाख २०८१

महिनौ देखि मोटरबाटो बन्द हुँदा यात्रुलाई सास्ती

समयपोष्ट २०७६ वैशाख २ गते ११:४२


मुलुककै राजधानीको रुपमा रहेको काठमाडौँमा एक महीनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले ठूलो सास्ती ब्यहोर्र्नु परेको छ ।

Advertisement

सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो । टोखा नगरपालिका खरीबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताए । “लामो समयसम्म बाटो बन्द हुँदा साह्रै गाह्रो भएको छ”, उनी भन्छन् ।

यस्तै, टोखा नगरपालिकाकै माधवटार हाइट बस्ने इन्द्रविलास घिमिरे पनि बाटो बन्द हुँदा आवतजावत गर्न अप्ठ्यारो भएको बताए । “चाँडो सक्नुपर्ने काम ढिलो गरेर सक्दा हामीजस्ता यात्रुलाई समस्या परेको छ”, उनी भन्छन् ।

यी त केवल प्रतिनिधि पात्रमात्र हुन् । सामाखुशीदेखि ग्रीनल्याण्डसम्म सवारी साधन चल्न नपाउँदा धेरै यात्रु समस्यामा परेका छन् । उक्त बाटोमा सामाखुशी यातायात, शिवपुरी, झोर टोखा हुँदै सामाखुशी चल्ने यातायात र माइक्रो सञ्चालन हुँदै आएका थिए ।

काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी र नुवाकोटको त्रिशूली जाने बाटो बन्द हुँदा लाखौँ यात्रुलाई समस्या परेको हो । सामाखुशी ग्रीनल्याण्डको बाटो बन्द हुँदा सवारी साधन सामाखुशी चोकदेखि वसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रीनल्याण्ड जानुपर्ने बाध्यता रहेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौला ग्राण्डीजस्तो महत्वपूर्ण अस्पतालमा जाने मुख्य बाटो अवरुद्ध हुँदा सयौँ बिरामीलाई गाह्रो परेको बताए । “सरकारले पूर्वाधार निर्माणमा ढिला हुँदा लाखौँ जनताले दुःख पाएका छन्”, उनी भन्छन् ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलक थापामगर सामाखुशी चोकदेखि ग्रीनल्याण्ड चोकसम्म बाटो मर्मत गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको बताए । “ट्राफिक डाइभर्सन गर्दा साँघुरो बाटो र ठूला गाडी हुँदा धेरै जाम हुने अवस्था आउने गरेको छ”, उनी भन्छन् ।

टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोल ढल निर्माण गर्दा बाटो बन्द गर्नुपरेको बताए । “टोखा नगरपालिकाले बाटो कालोपत्रे तथा ढल निर्माण गर्नका लागि बाटो बन्द गरेको हो”, उनी भन्छन् । बाटो फराकिलो र ढल निर्माण भइसक्न अझै एक महीना लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री