बिहीबार, १३ वैशाख २०८१

मर्चेण्ट बैङ्किङको दायरा बढ्दै गइरहेको छ

समयपोष्ट २०८० वैशाख ७ गते ९:४५

Advertisement

अहिले नेपालको मर्चेण्ट बैङ्किङ क्षेत्रको अवस्था कस्तो छ ?

नेपालमा मर्चेण्ट बैङ्करहरुको सङ्ख्या ३१ वटा पुगेको छ । ३१ वटा कम्पनीमध्ये आठवटाले पोर्टफोलियो मात्र गर्छन् । बाँकीले इस्यु म्यानेजर, अण्डर राइटर, पोर्ट फोलियो, शेयर रजिष्टार सबै गर्छन् । यहाँ म्युचुअल फण्ड चलाउने कम्पनीहरु १५ वटा छन् । ती १५ कम्पनीको स्किम ओपन इण्डेड ६ वटा र क्लोज इण्डेड ३१ वटा गरी ३७ वटा म्युचुअल फण्ड चलिरहेका छन् । समग्र हेर्ने हो भने मर्चेण्ट बैङ्किङ क्षेत्र बढ्दै छ । धितोपत्र बोर्डमा दर्ता भई पहिलो लाइसेन्स प्राप्त एनआईडीसी क्यापिटल मार्केट देशकै पहिलो मर्चेण्ट बैङ्किङ हो । त्यो बेला बैङ्किङ थिएन, विशुद्ध मर्चेण्ट बैङ्किङ मात्र थियो । त्यसपछि तीनवटा जति अरु कम्पनी आए । त्यो बेला कम भोलुम र प्रतिस्पर्धा पनि कम थियो । अहिले बिजनेस भोलुम बढेको छ र प्रतिस्पर्धा पनि धेरै नै बढेको छ । अहिलेको समयमा नम्बर नबढेको भए त्यति बिजनेस दुई–तीनवटाले पनि गर्न सकिँदैन थियो । अलि अस्वस्थ प्रतिस्पर्धाले गर्दा हाम्रो राजस्वमा प्रभाव परेको छ । सेवामा प्रतिस्पर्धा भएको भए धेरै राम्रो हुन्थ्यो । तर, यहाँ राजस्व नआउने किसिमबाट प्राइसिङमै अस्वस्थ प्रतिस्पर्धा छ ।

प्रायः मर्चेण्ट बैङ्कहरु परम्परागत बिजनेशमा केन्द्रित छन् । नयाँ इनोभेसनसहित नयाँ प्रडक्टहरुमा जान के–कस्ता नीतिगत समस्याहरु छन् ?

मैले मर्चेण्ट बैङ्किङमा मात्र अठार वर्ष बिताएँ । इस्यु म्यानेजमेण्ट, आरटीएसबाहेक अरु म्युचुअल फण्ड पहिले ल्याएको पनि एनआईडीसीले थियो । अहिले म्युचुअल फण्डहरु आउने क्रम पनि जारी छ । मर्चेण्ट बैङ्किङको दायरा बढ्दै गइरहेको छ । नयाँ नयाँ टुल्सहरु आइरहेका छन् । अहिले जुन पोर्टफोलियो म्यानेजमेण्ट थपिएको छ, त्यसले पनि नयाँ स्कोप बढाएको छ । पोर्टफोलियोले पब्लिकलाई सहज हुने गरी लगानी व्यवस्थापन गरिरहेको छ । अर्को एडभाइजरी, त्यसको स्कोप बिस्तारै बढ्दै छ । पहिले एडभाइजरी निःशुल्क दिइन्थ्यो । अहिले सशुल्क सेवा दिने गरेका छौं । अर्को विशिष्टीकृत लगानीको लाइसेन्स धितोपत्र बोर्डबाट दस–एघारवटा कम्पनीले पाइसकेका छन् । सनराइज क्यापिटल पनि लाइसेन्स लिने क्रममा छ । यो लगानीले हाम्रो स्कोप निकै नै वृद्धि गरिदिन्छ । पीईभीसीलाई अलिकति बुष्ट गर्ने हो भने क्यापिटल मार्केटलाई नै सहयोग गर्छ ।

यहाँको अनुभवमा मर्चेण्ट बैङ्किङमा के–कस्ता कार्यक्रम ल्याउँदा अझ प्रभावकारी होलान् ?

मर्चेण्ट बैङ्किङमा ग्रोथ राम्रै छ । एनआईडीसीले पछिल्लो आठ–दस वर्षमा धेरै नै प्रगति गरिसकेको छ । सीडीएससीबाट डीम्याट भौतिकीकरण गर्ने कार्य र मेरो शेयरमा नयाँ फिचरर्स आएको छ । अहिले अनलाइन ट्रेडिङ भएको छ । त्यसले यस क्षेत्रमा धेरै राम्रो विकास गरेको छ ।

हामी अझै पनि शहर केन्द्रित छौं । क्यापिटल मार्केट र मर्चेण्ट बैङ्किङ बुझेकाहरु धेरै कम छन् । यसलाई हामीले देशव्यापीरुपमा क्यापिटल मार्केट साक्षरता कार्यक्रम चलाउनुपर्ने हुन्छ । अहिले ५२ लाख डीम्याट खाता भनिए तापनि त्यो वास्तविक तथ्याङ्क होइन । अस्तिमात्र सत्र लाख डिम्याट त कारोबार नै नभएको भनेर आयो । दुर्गम क्षेत्र रुकुम पश्चिममा धितोपत्र बोर्डको संयोजकत्वमा पुगेर आएका थियौं । त्यति ठूलो सङ्ख्यामा उपस्थिति जनसमुदायको माझमा डिम्याट खाता कति जनाको छ भनेर सोध्दा जम्मा पाँच जनाले हात उठाए । डिम्याट खाता भनेको नबुझ्ने पनि धेरै छन् । स्टक मार्केटमा समेट्न धेरै नै बाँकी छ । हामीले सचेतनामार्फत यो विषयमा जानकारी गरायौं भने क्यापिटल मार्केटको विकास गर्न सक्छौं र देश विकासमा सकारात्मक भूमिका खेल्न सक्छ ।

म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण खासै देखिँदैन । लगानीका अन्य क्षेत्रहरु पनि छन् तर म्युचुअल फण्ड नै किन रोज्ने ?

यो एकदम ठूलो समस्या हो । म यो क्षेत्रमा जोइन गर्दा पहिलो क्लोज इण्डेड म्युचुअल फण्ड जारी भएको थियो । त्यो बेलादेखि नै म्युचुअल फण्डबारे बुझाउन हामीले धेरे प्रयासहरु ग¥यौं । त्यो बेला दस करोडको जारी गर्दा बल्लतल्ल बिकेको थियो । भर्खरै मात्र हामीले एक अर्वको सनराइज फोकस इक्यिुटी फण्ड सब्सक्राइब गरायौ, अवस्था उस्तै छ । त्यो बेला पनि आवेदन दिने कम थिए, अहिले पनि त्यस्तै छ । म्युचुअल फण्ड साना लगानीकर्ताहरुका लागि हो । सचेतनाको कमीले गर्दा आम सर्वसाधारणले यसबारे बुझेका छैनन् । भारतदेखि विश्वभरीनै म्युचुअल फण्डमार्फत लगानी हुन्छ । शेयरबजारभन्दा यसमा जोखिम कम हुन्छ । भर्खरैमात्र धितोपत्र बोर्डबाट म्युचुअल फण्डको कोटालाई हटाउने कुरा आइरहेको छ । तर, यसमा कोटा बढाएर वैदेशिक रोजगारीमा गएकाहरुलाई समेत म्युचुअल फण्डमार्फत गराउँदा उनीहरुको जोखिम कम हुन्छ । अहिले एक सय रुपैयाँमा आइरहेको छ । भोलि प्रिमियममा आउँछ । बुक बिल्डिङमा झन बढीमा आउँछ । त्यसमा जोखिम बढी हुन्छ । म्युचुअल फण्डमा लगानी गर्दा वैदेशिक लगानीकर्ता र साना लगानीकर्ताहरु धेरै नै सुरक्षित हुन्छन् । म्युचुअल फण्डमा लगानी गर्दा ठीक हुन्छ भन्ने कुरा बुझाउन हामीले एसोसियसन र धितोपत्र बोर्डको सहकार्यमा देशका विभिन्न स्थानमा सचेतना कार्यक्रम, प्रशिक्षण चलाउँदैछौ । मर्चेण्ट बैङ्कर एसोसिएसनमा म आबद्ध भएको १३ वर्षमा अहिले अध्यक्षमा निर्वाचित भएको छु । हामीले हरेक वर्ष क्यापिटल मार्केटलाई बुस्ट गर्न अर्थमन्त्रालय, धितोपत्र बोर्डलगायतका संस्थामा आफ्ना मागहरु राख्ने गरेका छौं ।

यहाँले नेतृत्व गरेको सनराइज क्यापिटलको अवस्था कस्तो छ ?

सनराइज क्यापिटलले मर्चेण्ट बैङ्किङको काम गर्दै आएको तीस वर्ष पूरा भएको छ । प्राथमिक निष्कासन, शेयर रजिष्टार र म्युचुअल फण्ड पनि पहिलो हामीले निकालेका हौं । अहिले हाम्रो तीनवटा म्युचुअल फण्ड छ । हामीले पोर्टफोलियो म्यानेजमेण्ट गरिरहेका छौं । शेयर रजिष्टारमा केही घटेको छ किनकि मर्जको कारणले धेरै नै लिष्टेड कम्पनी घटेका छन् । त्योबाहेक आगामी दिनमा ओपन इण्डेड म्युचुअल फण्ड र विशिष्टीकृत लगानी दर्ताको क्रममा छौं । समयबोध म्यागेजिनको चैत्र अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री