शुक्रबार, ३० जेठ २०८२

एकताको सन्देश दिन आयोजना गरिएको संयुक्त सभामा बोर्ड लफडा

समयपोष्ट २०७५ वैशाख ९ गते ८:५२

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको पारेर एमाले र माओवादी केन्द्रले आयोजना गरेको संयुक्त कार्यक्रम तोकिएको समयमा सुरु हुँन सकेन । राष्ट्रिय सभा गृहमा दिउँसो १ बजेदेखि कार्यक्रम सुरू हुने भनिए पनि कार्यक्रमको बोर्डमा कम्युनिष्ट नेता लेनिनसहित अरू विश्व कम्युनिष्ट नेताको तस्बिर नराखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध जनाएपछि कार्यक्रम निर्धारित समयमा शुरु हुँन नसकेको हो ।

Advertisement

लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर थिएन । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर थियो । साथै केपी ओली र प्रचण्डका ठूला तस्वीर थिए । लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्वीर नदेखिएपछि हलमा उपस्थित माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरे ।

कार्यकर्ताको लगातारको नाराबाजीपछि आयोजकले उक्त बोर्ड हटाएको छ । माओवादी कार्यकर्ताले माओको तस्वीर नराखेकोमा पनि विरोध जनाएका थिए । माओवादीले आफ्नो कार्यक्रममा कार्ल मार्क्स, ए‌ंगेल्स, लेनिन, स्टालिन र माओको तस्वीर राख्ने गरेको छ ।

यसअघि नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आज दुई पार्टी एकता घोषणा गर्ने बताइएको थियो । तयारी नपुगेकाले आजको एकता टरे पनि एकताको सन्देश दिन भन्दै दुई दलले संयुक्त सभा आयोजना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री