शुक्रबार, ७ वैशाख २०८१

सिंहदरबारमा सौर्य ऊर्जा प्रणालीको उद्घाटन गर्दै ओलीले भने- जागिर खोज्दै विदेशमा नेपाली युवा भौतारिने दिन गए

समयपोष्ट २०७४ चैत २७ गते १०:४४

काठमाडौँको सिंहदरबारमा चीन सरकारको सहयोगमा एक मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणालीको उद्घाटन गरिएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले सौर्य ऊर्जा प्रणालीको उद्घाटन गरे । नवीकरणीय ऊर्जा उत्पादनमा सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले चीन सरकारलाई धन्यवाद दिए।

Advertisement

‘सोलारबाट बिजुली उत्पादन गर्न सहयोग गरेकोमा चीन सरकारलाई धन्यवाद दिन चाहन्छु। यो अन्त्य होइन सुरुवात हो’ प्रधानमन्त्री ओलीले भने । आगामी दिनमा पनि चीन सरकारको यस्तै खालका सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री ओलीले बताए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालयलगायत विभिन्न मन्त्रालय तथा संस्थान गरी २१ वटा भवनको छानामा सोलार प्यानल राखेर सौर्य ऊर्जा उत्पादन गरेको हो । राजनीतिक मुद्दा हल हुँदै गएको बताउँदै प्रधानमन्त्री ओलीले आर्थिक सम्वृद्धि हासिल गर्नु अबको लक्ष्य रहेको बताए।

‘विदेशिएका युवालाई स्वदेशमै आकर्षक रोजगारी दिने हो। जागिर खोज्दै विदेशमा नेपाली युवा भौतारिने दिन गए’ प्रम ओलीले भने, ‘नवीकरणीय ऊर्जा तथा जलविद्युत् निर्माणमा स्वदेशी र विदेशी लगानी परिचालन गछौं।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छानामा जडान गरिएको सोलार प्यानलको पनि प्रम ओलीले अवलोकन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री