शुक्रबार, ७ वैशाख २०८१

प्रधानमन्त्री ओली आज भारत जाँदै

समयपोष्ट २०७४ चैत २३ गते ०:४९

प्रधानमन्त्री केपी ओली भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छन्। ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली दिल्ली जान लागेका हुन्। नेपाल एअरलायन्सको नियमित उडानबाट दिल्ली पुग्ने प्रधानमन्त्री ओली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै राष्ट्रपति भवनमा पुग्नेछन्।

Advertisement

आजको अन्नपूर्णमा पोष्टमा प्रकाशित यो समाचार चिरञ्जीवी ढुंगाना र खगेन्द्र भण्डारीले लेखेका छन्, राष्ट्रपति भवनमा केहीबेर आराम गरेपछि उनले भारतीय उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय व्यवसायीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साँझ उनी नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्। रात्रिभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कूटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएकोे छ।

भारतीय समकक्षी मोदी र ओलीबीच शनिबारमात्र औपचारिक भेटवार्ता हुनेछ। बिहान राष्ट्रपति भवनमा मोदीले ओलीलाई स्वागत गर्नेछन् भने त्यसपछि भारतीय सेनाले ओलीलाई ‘गार्ड अफ अनर’ दिएपछि प्रधानमन्त्री ओलीसँग भारतीय राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम छ। भेटपछि ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुग्नेछन्। उनले त्यहाँ दीप प्रज्वलन गर्ने कार्यक्रम छ।

हैदरावाद हाउसमा सुरुमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलसहित औपचारिक छलफल हुनेछ। दुवै नेताले दिल्लीबाटै वीरगन्जमा रहेको एकीकृत चेकपोस्टको उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हैदरावाद हाउसमै दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुनेछ। पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले भेट्ने कार्यक्रम छ भने भारतीय नेताहरूले पनि शनिबारै भेट गर्नेछन्।

यस्तै इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा पनि ओली सहभागी हुनेछन्। प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोज आयोजना गर्नेछन् भने राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोज दिनेछन् ।

दिल्ली भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री ओली उत्तराखण्ड जाने कार्यक्रम छ। उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्दवल्लभ पन्त कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा उनी सहभागी हुनेछन्। प्रधानमन्त्री ओलीलाई उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिनेछ। प्रधानमन्त्री सोही दिन साँझ स्वदेश फर्कनेछन्।

भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक निर्माण तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संघीय संसद्का सदस्य, मुख्यसचिव, परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्च अधिकारी सहभागी हुनेछन्।

प्रमण्डलमा कलाकार पनि

प्रधानमन्त्री ओलीको भ्रमण दलमा दुई कलाकारलाई पनि सहभागी गराइएको छ। नेपाली चलचित्रका ‘महानायक’ राजेश हमाल र चलचित्र निर्देशक एवं सञ्चारकर्मी दिनेश डिसी भ्रमण दलमा अटाएका छन्। प्रधानमन्त्रीको विदेश भ्रमणमा कलाकारलाई सहभागी गराइएको यो सम्भवत पहिलो घटना हो।

केही दिन प्रधानमन्त्री ओलीले निजी निवासमा कलाकारसँग छलफल गरेका थिए। ओलीले कलाकारलाई कथाले मागेअनुसार नभई देशको आवश्यकताअनुसार काम गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले भारतीय कलाकारसँग पनि अन्तक्र्रिया गर्ने कार्यक्रम छ।

नाकाबन्दी र संविधानमा मोदी स्वयं महसुस

मधेस आन्दोलनलगत्तैको नाकाबन्दी र संविधान घोषणालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्युरोक्रेसीका आँखाबाट हेर्दा असहज परिस्थिति बनेको तर्क गर्दै मधेसका प्रबुद्ध वर्गले ३० महिनायता भने सम्बन्ध विश्वासमा परिणत हुँदै गएको बताएका छन्।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा मधेसका विभिन्न पेसामा आबद्ध प्रबुद्ध समुदायले बिहीबार अन्नपूर्णसँग भने, ‘ओलीको यो भ्रमण गणतन्त्रपछिको सबैभन्दा परिणममुखी हुनेछ। ओली प्रधानमन्त्री भएकै रात मोदीले टेलिफोनमार्फत दिएको शुभकामना सन्देशले नै यसको संकेत गरेको छ।’ नाकाबन्दीलाई संविधानको घोषणासँग जोड्दै भारतीय ब्युरोक्रेसीले गरेको भ्रमपूर्ण सन्देशलाई मोदीले आहिले चिन्न सफल भएको दाबी उनीहरूको छ।

स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वाम शक्तिको विजय र ओली नेतृत्वमा शक्तिशाली सरकार गठन भई नेपाल अघि बढिरहेको सन्र्दभमा मोदी स्वयंको एकल गृहकार्यबाट हुन लागेको यो भ्रमण समग्रमै उपलब्धिमूलक हुने दाबी उनीहरूको छ।

भारत सरकारले प्रधानमन्त्री ओलीलाई राष्ट्रप्रमुखकै इज्जत र सम्मान गर्ने तयारी गरिरहेको उनीहरूको दाबी छ।

पूर्वराजदूत श्यामानन्द सुमनले तीन चौथाइ बहुमतसहितको सरकार प्रमुखका हैसियतमा भ्रमणमा जान लागेका ओलीको स्वागतका लागि भारतले पनि सोही हिसाबमा गरिएको बताए।

उनले भने, ‘नाकाबन्दीका बेला दुवै पक्षमा रहेको गलत भ्रम तथा दुवै पक्षबीच रहेको विवाद एक हदसम्म अन्त्य भइसकेको छ। भारतीय ब्युरोक्रेसीले मोदीलाई पठाएको सूचनाबाट परेको अप्ठ्यारोलाई मोदीले महसुस गरेकोले ओली भ्रमण सोचेभन्दा बढी सफल हुने देखिन्छ।’

वाम गठबन्धनले सबै चुनावमा जित्नुको कारण र ओलीलाई मोदीले दिएको बधाई सन्देशले पनि दुई देशबीचको सबै तिक्तता अन्त्य भएको दाबी सुमनले तर्क गरे।

संविधानको घोषणालाई तत्काल समर्थन नगरे पनि अहिले आएर घुमाउरो रूपमा मोदीले समर्थन जनाएको दाबी पूर्वराजदूत सुमनको छ। यो भ्रमणको उद्देश्य कुनै प्राजेक्टमा भन्दा पनि ओली–मोदीको मिलन हुनु सबैभन्दा ठूलो उपलब्धि हुने उनको धारण छ। ज्येष्ठ नागरिक सप्तरीका अध्यक्ष शंकर शुक्रदले यो भ्रमण दुवै देशका साझा मुद्दाको निकासका लागि ऊर्जा हुने टिप्पणी गरे।

उनले भने, ‘यो भ्रमणले मधेस आन्दोलन, नाकाबन्दी र संविधानबारे भारतीय पक्षमा रहेको आशंकाको अन्त्य गर्दै नेपालको आर्थिक विकासमा भारतीय पक्षको लगानी भित्रिने छ। हुलाकी राजमार्ग, सीमा अतिक्रमण, सीमा सहजता र सीमा अपराधको अन्त्य गराउन भ्रमणको उद्देश्य भए तराई मधेसका २२ जिल्लाका ५१ प्रतिशत जनसमुदाय लाभान्वित हुनेछन्।’

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका पूर्वप्रमुख डा.सोहन कर्णले प्रधानमन्त्रीले नयाँ एजेन्डामा नभई पञ्चेश्वर एवं हुलाकी राजमार्गमा केन्द्रित रहेनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री