बुधबार, १२ वैशाख २०८१

‘क्लब फुट समस्या समयमै उपचार गरे निको हुन्छ’

समयपोष्ट २०७८ वैशाख ५ गते १३:२४

Advertisement

बालबालिकामा जन्मजातै खुट्टाको पैताला बाङ्गो हुने या पछाडि फर्किने (क्लब फुट) समस्या समयमै उपचार गरे निको हुने चिकित्सकले बताउनुभएको छ । जन्मेपछि मात्रै थाहा हुने सो रोगको शल्यक्रिया वा प्लास्टर गरेर निको पार्न सकिने उहाँहरुको भनाइ छ ।

विश्वको तथ्याङ्कअनुसार एक हजारमध्ये एक जनामा यो रोग देखिने गरेको भए पनि नेपालमा यसको यकिन तथ्याङ्क भने छैन । भरतपुर अस्पतालका प्रवक्ता वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौला यस्ता खालका समस्या लिएर आउने गरेका जनाउँदै आफूहरुले यस्ता बिरामीलाई अर्थाेपेडिक सर्जनकामा पठाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “समयमा उपचार गर्दा यो रोग निको हुन्छ ।” जन्मनुअघि नै यसको रोकथाम गर्न भने नसकिने उहाँको भनाइ छ ।

अस्पतालका वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राडा कृष्णप्रसाद पौडेल क्लब फुट भएका बालबालिकालाई अवस्था हेरी प्लास्टरदेखि शल्यक्रियासम्म गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धेरै आत्तिनु पर्दैन, समयमै उपचार गर्न सके यसलाई सामान्य बनाउन सकिन्छ ।”

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरको सिटिइभिटी कार्यक्रमका सहायक प्राचार्य मुकेश मल्लिकले बालकभन्दा बालिकामा यो समस्या कम देखिने गरेको बताउनुभयो । बालबालिकामा यो समस्या वंशाणुगत गुण, कलिलैमा गर्भवती हुँदा र जुम्ल्याहा बच्चा जन्मँदा देखिन सक्ने उहाँको भनाइ छ । क्लब फुट भएका बालबालिकालाई स्प्लिन्ट (विशेष जुत्ता), पोन्सेटी (प्लास्टर) र थेरापी विधिबाट उपचार गराउन सकिने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री