बिहीबार, १५ चैत २०८०

व्यापारीमाथि आक्रमण गरी लुटपाट, चार युवक पक्राउ

समयपोष्ट २०७८ वैशाख ३ गते १२:२२

Advertisement

महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । मङ्गलबार राति करिब ९ बजेको समयमा पाँच जनाको समूहमा आएका युवाले पसलको ढोका तोडफोड गरी भित्र पसेर पसले राजु चौधरी तथा उनका छोरा गौरव चौधरीलाई अश्लील गालीगलौज गर्नुका साथै मोटरसाइकलको हेलमेट र मुक्का, लात्तीले कुटपिट र लुटपाट गरेको पीडित पसलेले बताएका छन् । हेलमेटले हिर्काएर भागेकाहरुको एक थान हेलमेट अझै सो पसलमा छुटेको अवस्थामा छ ।

मदिरा खाएर मात्तिएका युवाको समूहले पसले राजुको पसलको गल्ला (पैसा राख्ने स्थान) बाट रु तीन लाख र एक थान मोबाइल लुटेर लगेको राजुले बताएका छन् । सो घटनाको विरोधमा स्थानीय व्यापारीले आफूहरु असुरक्षित भएको भन्दै बुधबारदेखि महोत्तरी उद्योग वाणिज्य सङ्घ मटिहानीमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रदर्शन र नाराबाजी गरिरहेका छन् ।

व्यापारीहरुको सुरक्षाका लागि कुनै चासो नदेखाएको भन्दै स्थानीय व्यापारीले तालाबन्दी गरेपछि सङ्घका अध्यक्ष मोहनप्रसाद गुप्ता पनि व्यापारीसँग ऐक्यबद्धता प्रकट गर्दै उनीहरूसँग प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा उत्रिनुभएको छ । उद्योग वाणिज्य सङ्घ मटिहानीले दोषीउपर कडाभन्दा कडा कानूनी कारवाही नभए थप सङ्घर्षका कार्यक्रम अगाडि सार्ने बताएका छन् । मटिहानी बजारमा पटक–पटक यस प्रकारका घटना हुँदै आए पनि प्रहरी चौकी तथा सशस्त्र बिओपीको उदासीनताका कारण दोषी उम्कने तथा व्यापारी लुटिने गरेको स्थानीय व्यवसायीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री