शुक्रबार, १६ चैत २०८०

ढल्कोमा संचालित विद्युतीय रिक्सामा एनसीसी बैंकको क्यूआर कोडसेवा शुभारम्भ

समयपोष्ट २०७७ चैत २६ गते १०:४१

Advertisement

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले का.म.न.पा. १७ ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उनीहरूलाई क्यूआर कोड हस्तान्तरण गर्नुभयो ।

क्यूआर कोड मार्फत विद्युतीय भुक्तानीलाई प्रवर्दन गर्ने राष्ट्र बैंकको नीतिअनुसार एनसीसी बैंकले विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । त्यसका लागि बैंकले श्रमिक नेपाल यातायात अटो प्रा.लि.सँग सहकार्य गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक कडेलले विद्युतीय भुक्तानी अहिलेको आवश्यकता बनिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वस्थ र पारदर्शी बैंकिङ कारोबारमा पनि यसले सघाउ पुर्याउने छ ।’ प्रदुषणमुक्त सवारी अटो रिक्सामा प्रदुषणमुक्त भुक्तानी सुरुवात भएको कडेलको भनाई छ । साथै यस प्रकारका कार्यक्रमले देशको समग्र शुसासनमा समेत सकारात्मक प्रभाव पार्दछ ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश राज अर्यालले सवारी साधनमा क्यूआर कोड राख्दा ग्राहकहरूले नगद बोक्ने झन्झट नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्राहकले तिरेको पैसा एनसीसी बैकमा जम्मा हुन्छ । त्यो पैसा एकातिर सुरक्षित हुन्छ भने अर्कोतिर व्याज समेत आउँछ ।’ अर्यालले क्यू.आर.कोडको प्रयोग व्यापक बन्दै गएको र भोलिका दिनमा रिक्सा चालकले पानीका बोतल किन्नदेखि तरकारी किन्नसमेत क्यूआर कोडको सहायता लिनसक्ने बताउनुभयो । चालकहरूलाई बिना धितो ऋण दिन पनि एनसीसी बैंक तयार रहेको उहाँले बताउनुभयो ।

काठमाडौं महानगरपालिका १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धरले चालकहरू आफ्नो अनुशासनमा रहनुपर्ने र सम्बन्धित निकायले पनि चालकको गन्तव्य क्षेत्र विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले हाल १५० को संख्यामा ढल्कुमा विद्युतीय रिक्सा सञ्चालनमा रहेको बताउनुभयो ।

श्रमिक नेपाल यातायात अटो प्रा.लि.का अध्यक्ष डम्बर रानाका अनुसार पाईडलबाट सुरु गरेका व्यवसायी अटो रिक्सामा प्रवेश हुँदासम्म कुनै निकायको सहयोग नपाएको बताउनुभयो । उहाँले एनसीसी बैंक आफूहरूको सहयोगी बनेर आएको बताउनुभयो ।
रानाले भन्नुभयो, ‘पाइडल मारेर रिक्सा चलाउनुपर्ने चालक आज विद्युतीय रिक्सासम्म बल्ल–बल्ल आईपुगेका छन् । कुनै पनि वित्तीय संस्थाको सहयोग चालकहरूलाई भएको थिएन् । अहिले एनसीसी बैंकको सहयोग पाएका छौं । हामीले स्वदेशमा उत्पादन हुने बिजुली प्रयोग गरी प्रदुषणमुक्त रिक्सा चलाएका छौं । यसलाई पर्यटन क्षेत्रमा आवद्ध गराउन जरुरी छ ।’

नेपाल ट्रेड युनियन महासंघका सचिव सोम तामाङ्ले श्रमिक वर्गलाई लक्षित गरी एनसीसी बैंकको क्यू.आर.कोड कार्यक्रम ल्याइएकाले यसबाट चालक र ग्राहक दुवै लाभान्वित हुने बताउनुभयो ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री