शुक्रबार, १४ वैशाख २०८१

नवनियुक्त गभर्नर अधिकारीले गरे पदभार ग्रहण

समयपोष्ट २०७६ चैत २५ गते ११:४९

Advertisement

नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार नेपाल सरकारबाट राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त भएका अधिकारीले मंगलबार राष्ट्र बैंकमा गएर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणअघि अधिकारीले राष्ट्र बैंकमा आयोजित विशेष कार्यक्रममा बैंकका कर्मचारीहरुलाई सम्बोधन गरेका थिए । त्यसअघि सर्वोच्च अदालतमा आयोजित एक मार्यक्रममा उनले प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।

राष्ट्र बैंकमा यसअघि ३० वर्ष काम गरेर ४ वर्षअघि बाहिरिएका अधिकारी गभर्नरको रुपमा फेरि प्रवेश गरेका हुन् र उनले अबको ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गर्नेछन् ।

खोटाङमा जन्मिएका अधिकारीले भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेका छन् । चार्टर्ड एकाउन्टेन्टको पृष्ठभूमिबाट राष्ट्र बैंकको गभर्नर बन्ने उनी पहिलो व्यक्तित्व हुन् । हालका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा उनको कार्यकाललाई सफल बनाउन सहयोग पु¥याउने मध्येका एक अधिकारी थिए ।

राष्ट्र बैंकमा रहेर डेपुटी गभर्नरको महत्वपूर्ण भूमिकासमेत सफलतापूर्वक निर्वाह गरेका अधिकारी पछिल्लो चार वर्षदेखि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । अधिकारीले बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर दुईवटा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको समेत आयोजना गरे । बोर्डले संयोजन गरेका केही आयोजना कार्यान्वयनको चरणमा छन् । भारतीय कम्पनी सतलज विद्युत् निगमले सङ्खुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यस्तै नेपाली साझेदारसहित चिनियाँ लगानीकर्ता समूहले होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याइसकेको छ । यस्तै धादिङमा अर्को चिनियाँ समूहले ह्वासिन सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ । अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेशन’ मा सन् १९८९ मा स्नातक गर्नुभएको छभने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिनुभएको छ । केन्द्रीय बैंकको वित्तीय व्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर काम गरिसकेको अनुभव अधिकारीसँग छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री