शनिबार, ८ वैशाख २०८१

कथावाचन बालबालिकाका लागि किन आवश्यक छ ?

बालसाहित्य सर्जक यशु श्रेष्ठको अन्तर्वार्ता

समयपोष्ट २०७६ चैत २४ गते ११:०७


नेपालका चर्चित बालसाहित्य सर्जक हुन् यशु श्रेष्ठ । नेपाली बालसाहित्यको क्षेत्रमा चम्किलो तारा झैं उदाइरहेका उनका सयभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् भने दर्जनभन्दा बढी पुस्तकहरुको सम्पादन गरिसकेका छन् । दर्जनभन्दा बढी सामाजिक संस्थाहरुमा रहेर सव्रिmयताका साथ कार्यरत उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा परामर्शदाताको रूपमा काम गरिरहेका छन् । नयाँ पुस्ता निर्माणमासमेत सचेत भएर लागिरहेका उनी सानै उमेरदेखि पुस्तकालयको स्थापना तथा साहित्य र शिक्षाको श्रीवृद्धिमा लागि परेका उनी नेपालका चर्चित कथावाचक पनि हुन् । नेपाल बालसाहित्य समाजका सचिव तथा कथावाचक समाजका महासचिव उनी बालमनोविज्ञान केन्द्रित, बालव्यवहार र चासो केन्द्रित बालसाहित्य लेख्छन् । बालबालिकालाई कसरी व्यवहार गर्नु पर्छ ? उनीहरुको मनोविज्ञानलाई कसरी बुझ्नुपर्छ, अभिभावकको कर्तव्य के हो ? अभिभावकले बालसाहित्य किन पढ्नु पर्छ ? अभिभावकको भूमिका के हो ? आदि जस्ता विषयमा गम्भीर विचार गरी आफ्ना कलम अगाडि बढाउँछन् । विभिन्न छलफल र कार्यशाला चलाउँछन् । केटाकेटी उत्कृष्ट लेखक सम्मान २०६१, माउन्ट एभरेस्ट बालसाहित्य सम्मान २०६९, नूर–गङ्गा राष्ट्रिय बालसाहित्य नवप्रतिभा पुरस्कार २०६९, बालतृणा सम्मान २०७२, नेबासास उत्कृष्ट बालसाहित्य पुरस्कारलगायत पुरस्कार र सम्मानले सम्मानित उनी नेपाली बालसाहित्यमा नयाँनयाँ प्रयोग गर्न, बालसाहित्यलाई अगाडि बढाउन समर्पित युवा सर्जक हुन् ।

Advertisement

लकडाउनमा फेसबुक लाइभमार्फत कथावाचन गरिरहनुभएको छ । यो अवसरलाई कसरी हेर्नुभएको छ ?

खै, यसलाई अवसर भन्ने कि बाध्यता ? मोबाइलको सदुपयोगमा मात्र हाम्रो ध्यान जान्छ । पढ्नु पर्ने त भौतिक पुस्तक नै हो । मोबाइल र भनौँ न डिजिटल प्रविधिले पारेको असर बारेमा हामी धेरै छलफल गर्छौ । यसको सदुपयोग मात्र हुनुपर्छ भन्छौँ, त्यसैले फेसबुक लाइभ एउटा बाध्यता हो तर सँगसँगै अवसर पनि हो । हामी बालबालिकामाझ नै जान चाहन्छौँ । उनीहरुको अनुहार पढेर कथावाचन गर्न र यसको फाइदा लिनदिन चाहन्छौँ । यसरी गरिएको सिकाइ नै फरक हुन्छ । सँगै फेसबुक लाइभ पनि एउटा राम्रो माध्यम रहेछ, यसबाट पनि धेरै गर्न सकिने रहेछ भन्ने अनुभव भयो । कथालय इन्कले सुरु गरेको स्टोरी टाइम इन नेपालमा यही लकडाउनको अवस्थामा मात्र हो मैले यहाँ कथावाचन गरको । अनि युनिसेफ (अन्तराष्ट्रिय गैरसरकारी संस्था)का लागि पनि अहिले नै गरेँ । त्यसैले गर्दै जाने हो भने यसको पनि एउटा छुट्टै महत्व र भूमिका छ भन्नेमा प्रष्ट भएका छौँ ।

अनलाइनमार्फत अहिले गरिएको कथावाचन कसरी भिन्न हुन्छ ?

यो हामी सबैको एउटा सानो प्रयास हो । यसमा ठुलो समूह वा सामग्रीहरु छैनन् । मेरो घरमा जे उपलब्ध छ, त्यसैबाट मैले यो काम गरेँ वा अरुले पनि यसै गरिरहुनुभएको छ । त्यसैले यो यसै पनि फरक भयो । ल्यापटपबाट अलि फराकिलो क्षेत्र ओगटेर, अलि चलेर कथावाचन गर्न पाइन्छ भन्ने लाग्यो र कोसिस गरेँ । तर, उज्ज्यालो, आवाज आदि नपुग्ने देखेर मोबाइलबाटै काम चलाइयो । मोबाइलबाट गर्दा अक्षरहरु नै उल्टा देखिने, चित्रहरु स्पष्ट रूपमा देखाउन वा हाउभाउ गर्न असजिलो हुने तर जति वा जसरी राम्रो हुन्छ, त्यसरी नै देखाइयो, गरियो । अलि धेरै सामग्री, धेरै तयारीका साथ गर्ने हो भने पक्कै अझ राम्रो र व्यवस्थित हुन्छ नै ।

प्रत्यक्ष बालबालिकासँग भेटेर गरिएको र यसरी अनलाईन गरिएको कथावाचन धेरै नै फरक हुन्छ । अनलाईनमा एकोहोरो बोल्यो, न दर्शकको अवस्था बुझ्न पाइन्छ, न अन्तर्क्रिया गर्न पाइन्छ, न समय र परिस्थिति कस्तो बन्यो थाहा पाइन्छ । यी र यस्ता धेरै कुराहरु थाहा पाउन गाह्रो हुन्छ । कथावाचनका विभिन्न पाटाहरुमध्ये एकादुई पाटा अनलाइनबाट गर्न सकिन्छ । अरू धेरै पाटाहरु छन्, जुन अनलाइन गर्न धेरै गाह्रो छ तर अनलाइनबाट कथावाचन गर्नु एउटा अर्को गजबको पाटो चाहिँ हो ।

तपाईँको अहिलेको कथावाचन अन्तर्राष्ट्रिय संस्थाहरुले पनि आफ्नो विद्युतीय पेजमा हालेका रहेछन् ? यसले नेपाली बालसाहित्य अन्तर्राष्ट्रिय रूपमा जोडिदै गएको आभाष दिएको हो ?

यसलाई मैले यसरी बुझेको छैन । बरु परिस्थितिलाई बुझेको छु । विश्वभर अहिलेको यो एउटा परिस्थिति उस्तैउस्तै छ । परिस्थितिले केही उपाय पनि उब्जायो । मानव हृदय एउटै हो । त्यही हृदयका लागि भनेर गर्यौं । हाम्रो उपायले जहाँजहाँका हृदयलाई छोयो, त्यहाँत्यहाँ त्यो जोडिदै गयो । तर जहाँसम्म नेपाली बालसाहित्य अन्तर्राष्ट्रिय रूपमा जोडिने भन्ने कुरामा छ, त्यसमा म असाध्यै सकरात्मक थिएँ र छु ।

लकडाउनमा हामी अभिभावक वा बालबालिकाहरुले कसरी समय सदुपयोग गर्न सक्छौँ ?

यो गहिरो चिन्तन हो । म कतिपय अभिभावकहरुलाई देखिरहेको हुन्छु, उहाँहरु समय कटाउन गाह्रो भयो भनेर छटपटाइ रहेका हुन्छन् । उहाँहरु र उहाँहरु जस्तालाई म भन्छु, ‘हरेक कुरामा समस्या मात्र देख्ने होइन । कुनै पनि कुरा पूरा गलत र पूरा सही हुँदैन । त्यसैले समस्या र परिस्थितिलाई बुझ्नुपर्छ । त्यहीअनुसार व्यवहार गरेर अघि बढ्नैपर्छ ।’ यो लगभग विश्वभरलाई परेको अवस्था छ । तपाईँ वा म एक जनालाई परेको होइन । मलाई त समय नै अपुग भइरहेको छ । सोच्ने हो भने सबैलाई समय अपुग नै छ । यो लकडाउनको समय पनि खेर फाल्नै हुन्न । केही न केही गरिरहनुपर्छ । आजको योजना बनाऔँ । यो विपद् छ । विपद् पछिको विकास सोचौँ । जसले जति सक्छ, त्यति गर्ने गरी सोचौँ । योजना बनाऔँ । आखिर भोलि पनि त बाँच्नै छ, केही राम्रो त गर्नै छ । त्यसैले नकरात्मक कुराहरुलाई कसरी पन्छाउँदै सकारात्मक भएर अगाडि बढ्न सकिन्छ, चिन्तित भएर होइन, चिन्तन गरेर सोचौँ । योजनाहरु बनाऔँ ।

बालबालिकाहरुलाई कथा सुनाऔँ । उनीहरुसँग पनि सुनौँ । असल मानिसहका व्यवहार बारेमा कुरा गरौँ । पहिलापहिला आफुले भोगेका वा समाजले भोगेका कुराहरु पनि सुनाउन लायक गरी सुनाऔँ । बालबालिकाका विद्यालयका कुरा सुनौँ । उनीहरुले पनि धेरै कुरा सिकाउन सक्छन्, सिकौँ ।

समय कटाउन गाह्रो छ भने पढ्ने बानीको विकास गरौँ । धेरै पढौँ । किताब पढौँ, समाज पढौँ, वरपरका कुरा पढौँ । पहिला सरसफाइ गर्न नभ्याइएका कोठाचोटाहरुमा सरसफाइ गरौँ । एकअर्कासँग घरभित्र खेल्न सक्ने कुराहरु खेलौँ । मनभरिका कुराहरु गरौँ । सर्जक हुनुहुन्छ भने सिर्जना गरौँ । जसलाई जे आउँछ, त्यो गरौँ । नआउनेलाई आउनेले सिकाऔँ । योग, ध्यान, नृत्य गरौँ । बालबालिकाहरुलाई कथा सुनाऔँ । उनीहरुसँग पनि सुनौँ । असल मानिसहका व्यवहार बारेमा कुरा गरौँ । पहिलापहिला आफुले भोगेका वा समाजले भोगेका कुराहरु पनि सुनाउन लायक गरी सुनाऔँ । बालबालिकाका विद्यालयका कुरा सुनौँ । उनीहरुले पनि धेरै कुरा सिकाउन सक्छन्, सिकौँ । अक्षर नजान्नेहरुले अक्षर लेख्न सिके पनि भयो । जान्नेहरुले सुन्दर अक्षर बनाउनतिर लागे पनि भयो । कति मानिसहरुलाई खाद्यान्न राहतको जरुरी छ । कतिपय स्थानहरुमा राहत वितरण गरिएका छन् । थाहा नभएकालाई थाहा दिऔँ वा जान्न खोजौँ । इन्टरनेटमा पढ्न, जान्न सक्ने धेरै कुरा छन्, त्यता पनि केही समय दिन सकिन्छ । घरभित्र बसेर कतिपय सिपहरु नै सिक्न सकिन्छ । धेरै धेरै कुराहरु छन्, जुन हामी गर्न सक्छौँ र त्यो फलदायी हुन्छन् ।

कथावाचन किन आवश्यक छ ?

कथावाचन बालबालिका र किशोरकिशोरीहरुका लागि अपरिहार्य चिज हो, हामी यसो भन्छौँ । हुन त ठुला मानिसहरुका लागि पनि कथावाचन गरिएको, यसले पारेको प्रभाव हामीलाई थाहा छ तर म यसपट्टि जान्नँ । बालबालिकाको हकमा कथावाचनले धेरै नै प्रभाव पार्दछ । यसले कल्पनाशक्तिको विकास, चेतनशीलता, शब्दभण्डारको वृद्धि, स्वभावमा शालिनता, शान्त, कोमल बनाउँछ । विभिन्न उत्सुकताहरु मेटाउँछ । मनोरञ्जन प्रदान गर्दछ । हामी त भन्छौँ, विद्यालय शिक्षामा कथावाचन भनेको नशा र रगतको सम्बन्ध हुन्छ । सिकाइ प्रभावकारी बनाउन यसले ठुलो भूमिका निर्वाह गर्छ । साना उमेर समूह, जसलाई पढ्नै आउँदैन भने उनीहरुका लागि त झन् कथावाचनको भूमिका महत्वपूर्ण रहन्छ । साना बालबालिकाले सुनेर, देखेर, कल्पना गरेर अनि आफैँ गर्दै सिक्ने हो । २ वर्षको उमेरसम्म ९०० र ५ वर्षको उमेरसम्म २००० शब्द दिमागमा भण्डारण र ज्ञान लिन सक्छन् भनिन्छ । यसका लागि कथावाचनले धेरै मदत गर्दछ । यस्ता शब्द सिकाइ र शब्द भण्डारमा कथावाचनले धेरै नै मदत गर्दछ ।

मनोरञ्जनकासाथ दिगो सिकाइ, शारीरिक तथा बौद्धिक विकास, संवेगात्मक विकासमा सन्तुलन ल्याउन, सामाजिक विकासका, भाषिक विकासका, पठन सिप, पठन संस्कार र पठन संस्कृति विकासका लागि कथावाचनको महत्वपूर्ण भूमिका छ र यसकै लागि हामी कथावाचन गर्ने गर्दछौँ ।

तपाईँ कथावाचनमा कहिलेदेखि लाग्नुभयो र किन ?

हामी केही किशोरहरु मिलेर गाउँमा पुस्तकालय स्थापना गरेका थियौँ । पुस्तकालयले मासिक रूपमा विभिन्न कार्यक्रमहरु गर्दथ्यो । त्यही बेलामै हामी कथा पढेर सुनाउँथ्यौँ । कथाका बारेमा छलफल गर्दथ्यौँ । यही बेलादेखि सुरु भएछ कथावाचनका सिलसिला । जब बालबालिकाहरूलाई बालकथा लेख्न सुरु गरियो, तब अलि सचेत भएर कथावाचनलाई हेरियो । यो अनजान रूपमै हामीले गरिरहेको कथावाचन रहेछ ।

२०६६ सालमा नेपाल बालसाहित्य समाज र डेनिस राइटर्स एसोसिएनको आयोजनामा ‘स्टोरी एक्प्रेस’ भन्ने एउटा कार्यक्रम भएको थियो । यसअन्र्तगत हामी कथावाचन गर्दै विभिन्न जिल्लाहरूमा गयौँ । औपचारिक रूपमा कथावाचन गर्दै विभिन्न स्थानहरुमा गएको यो पहिलो पटक थियो । यसलाई नै मैले सचेत भएर कथावाचनको सुरुवाती गरेको समय हो भन्छु ।

बालबालिका र बालसाहित्यको एउटा महत्वपूर्ण पाटो कथावाचन हो । यसले बालबालिकाको सम्पूर्ण हितमा महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैले कथावाचनलाई अँगालेको हुँ ।

म बालबालिका र बालसाहित्यलाई असाध्यै माया गर्छु । बालबालिका र बालसाहित्यको एउटा महत्वपूर्ण पाटो कथावाचन हो । यसले बालबालिकाको सम्पूर्ण हितमा महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैले कथावाचनलाई अँगालेको हुँ । यो मेरो पेशा भइसकेको छ । त्यसैले यतातिर लाग्ने मात्र होइन, छाड्ने कुरै पो भएन ।

कथावाचनका मुख्य पक्षहरू के के हुन्छन ?

कथावाचन भन्ने बितिक्कै ‘कथा’ आइहाल्यो । ‘कथा’ र यसका ‘वाचक’ अनि बालबालिका र सही स्थान नै यसका मुख्य पक्षहरु हुन् । ‘कथा’ वाचन गर्न लायकका, बालबालिकाका उमेर सुहाउँदो हुनुपर्यो । वाचकमा यसलाई वाचन गर्ने गुण जस्तै हाउभाउ, आवाजमा प्रधानता, समय र बालबालिकालाई बुझ्ने क्षमता, प्रस्तुतिमा फरकपन र निखारता ल्याउन सक्ने हुनुपर्यो । बालबालिका नभै यो कसरी पूरा हुन सक्छ र ? बालबालिका पनि उस्तै उमेर समूहका भए भने कथावाचन गर्न अझ सजिलो र मजा हुन्छ । ‘स्थान’ पनि बालबालिका मैत्री, शान्त र ध्यान नभड्किने खालको हुनुपर्यो ।

सामान्यतयाः तपाईँ कसका लागि र कुनकुन विषयका कथाहरु वाचन गर्न रुचाउनुहुन्छ ?

म बालबालिका र किशोरकिशोरीहरुका लागि कथावाचन गर्ने गर्छु । कथा भट्याउनु मात्र कथावाचन हैन । कथावाचनलाई म फराकिलो दृष्टिले हेर्छु । एउटा गीतलाई लिऔँ न, ‘कहाँ आउँछ र घुमेर, त्यो बालपनको उमेर’ । यो गीतमा पनि कथा छ, अनि कथावाचनको एउटा फरक प्रस्तुति हो गीत । गीत आफैँमा फरक विधा हो तर यसले पनि कथाहरु भनिरहेको हुन्छ । त्यसैले म गीतलाई कथावाचनको फरक प्रस्तुति मान्छु ।

कथावाचनका फरकफरक प्रस्तुति, फरक ढङ्ग र तरिकाहरु छन् । तिनलाई अवलम्बन गर्दै म बालबालिकामाझ प्रस्तुत भइरहेको हुन्छु ।

 

म बालबालिकाहरुले रुचि राख्ने, उनीहरुलाई वाचन गर्नु पर्ने सबै खाले कथाहरु वाचन गरिरहेको हुन्छु । कथावाचनका फरकफरक प्रस्तुति, फरक ढङ्ग र तरिकाहरु छन् । तिनलाई अवलम्बन गर्दै म बालबालिकामाझ प्रस्तुत भइरहेको हुन्छु ।

योबाहेक अरू के काममा सङ्लग्न हुनुहुन्छ ?

म बालबालिकाले पढ्ने खालका उमेर सुहाउँदा पुस्तकहरु लेख्ने गर्छु । विभिन्न प्रकाशन गृहहरुबाट हालसम्म मेरा १२५ भन्दा बढी बालपुस्तकहरु प्रकाशित भइसकेका छन् । यही नै मेरो पेशा बनिरहेको छ । म यसअन्तर्गतकै विभिन्न कार्यहरु गर्ने गर्छु । बालबालिकासँग रमाउने, कथावाचन गर्ने, पुस्तक लेख्ने, बालसाहित्य लेखन, कथावाचन, शैक्षिक सामग्री निर्माणलगायतका प्रशिक्षणहरु प्रदान गर्ने, पत्रपत्रिकाहरुका लागि लेख्ने, सम्पादन गर्ने, शिक्षा र बालसाहित्यमा काम गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुका लागि काम गर्ने आदि कार्यहरुमा जुटिरहेको हुन्छु ।

तपाईँ लकडाउनको समय कसरी उपयोग गर्दै हुनुहुन्छ ?

पुस्तक भनेको एउटा मजाको साथी रहेछ । अरुले साथ छाड्ला तर पुस्तकले छाड्दैन । राम्रा पुस्तकले जीवनका धेरै रङहरुलाई बदल्दो रहेछ वा फिक्का हुन नदिँदो रहेछ । यसैले पुस्तकहरु साथी छन्, तिनलाई साथमा लिएर पढ्दै छु । सिर्जना गर्नु पर्ने धेरै कुराहरु छन्, तिनलाई लेख्दै छु । लेखेका कुराहरुलाई पुनर्लेखन गर्दै छु । यो समयमा बालबालिकाहरुलाई के गराउन सकिन्छ वा के गर्दा राम्रो होला भनेर सोध्ने अभिभावकहरुलाई फोनमै भए पनि सल्लाह आदानप्रदान गर्दैछौँ । नजानेका कुराहरुलाई सिक्ने प्रयास गर्दै बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै छु । समाजिक संजाल र अनलाइन पत्रिकाहरुमा रम्दै छु । कोरोना बारेमा अपडेट बस्नै पर्यो, यो पनि गरिँदै छ भने फोन गरेर सोध्नेहरुलाई यसका बारेमा भन्दै पनि छु । घरभित्र बसेर परिवारमा मिलेर खेल्न सक्ने खेलहरु पनि खेल्दै छु । यसरी नै मजाले बितिरहेका छन् यी समय पनि ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री