शुक्रबार, १६ चैत २०८०

दृश्यावलोकनस्तम्भ पूर्वी नेपालकै रौनक

समयपोष्ट २०७५ फागुन २९ गते १७:४४


सुमन घिमिरे

Advertisement

झापा दमक नगरपालिका–३ का राजकुमार बानियाँलाई आफ्नै वडामा पौने तीन अर्बको लगानीमा दृश्यावलोकनस्तम्भ(भ्यू टावर) निर्माण हुने सुन्दा शुरुमा त उनलाई विश्वासै लागेन ।

बानियाँलाई मात्रै होइन, छरछिमेकी र साथीभाईलाई समेत त्यति ठूलो लागतमा दृश्यावलोकनस्तम्भ निर्माण हुन्छ भन्ने विश्वास लागेको थिएन । तर २०७३ जेठ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दृश्यावलोकनस्तम्भ निर्माणको शिलान्यास गरेपछि बानियाँ मात्र होइन, दमक नगरपालिका र छिमेकी स्थानीय तहका स्थानीयवासी पनि उत्साहित बनेका थिए ।

प्रथमपटक ओली प्रधानमन्त्री हुँदा शिलान्यास भएको सो स्तम्भको निर्माण प्रक्रिया उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा बल्ल शुरु भएको छ । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत दमक नगरपालिका–३ मा दृश्यावलोकनस्तम्भ निर्माणका लागि अहिले सहरी विकास मन्त्रालयले ३५ दिने टेण्डर आह्वान गरेको छ ।

स्तम्भ निर्माणका लागि स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्य पर्ने जग्गा दमक नगरपालिकालाई निःशुल्क दिएका छन् । स्थानीयवासीले विभिन्न मितिमा गरी गत असार १० गतेभित्रमा ५ बिघा जमीन नगरपालिकाको नाममा रजिष्ट्रेशन पास गरिदिएका छन् ।

स्थानीयवासीले १० धुरदेखि एक बिघासम्म जमीन निःशुल्क उपलब्ध गराएका छन् । आफ्नै वडामा दृश्यावलोकनस्तम्भ निर्माणका लागि निःशुल्क जग्गा दिएका शान्तिराम गौतमले भने, “आफ्नो ठाउँ मात्र नभएर समग्र झापा र पूर्वी मोरङकै विकासमा टेवा पुग्ने भएकाले यो योजनाको निर्माणका लागि जग्गा दिएका हौँ ।”

यो स्तम्भ निर्माण भएपछि दमकमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने गौतमको भनाइ छ । दृश्यावलोकनस्तम्भ अवलोकनका लागि मात्र नभएर पूर्णरुपमा व्यावसायिक हुने भएकाले दमकको समग्र क्षेत्रको विकासमा यसले टेवा पुर्‍याउने स्थानीयवासी शान्तिदेवी धिमालले बताए ।

उनले भने, “टेण्डर आह्वानसँगै दृश्यावलोकनस्तम्भ निर्माण हुने निश्चित भएपछि स्थानीयवासीमा खुशी छाएको छ ।” सो स्तम्भ निर्माणका लागि सहरी विकास मन्त्रालयले कुल रु दुई अर्ब ७२ करोड ५१ हजार ४८४ को लागत अनुमान गरेको छ ।

पाँच बिघा क्षेत्रफलमा निर्माण हुने सो दृश्यावलोकनस्तम्भ अढाई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाउने कार्य भइरहेको हो । १८ तले स्थायी संरचनाको सो स्तम्भ ७२ मिटर अग्लो रहनेछ । जसमा २८ मिटर स्टिलको टावर रहने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिए ।

दृश्यावलोकनस्तम्भमा अण्डरग्राउण्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल, कर्पोरेट कार्यालयलगायत रहनेछन् । दृश्यावलोकनस्तम्भ निर्माण हुने दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालले यसको निर्माणपछि नगरमा विकासका अन्य सम्भावना पनि खुल्ने बताए ।

“दृश्यावलोकनस्तम्भ गौरवको योजना हो”, उनले भने, “यसलाई सफल बनाउनु सबैको साझा दायित्व हो ।” ‘हाम्रो एउटा सपना पूरा हुने भयो’ बरालले भने, “यसले दमकलाई प्रदेश १ कै प्रमुख पर्यटकीय नगरको रुपमा विकास गराउनेछ ।” दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दृश्यावलोकनस्तम्भले पूर्वी नेपालकै रौनक बढाउने दाबी गरे ।

दमकलाई पर्यटकीय हब बनाउने उद्देश्यका साथ नगरपालिका अघि बढेको बताउँदै प्रमुख ओलीले भने, “ दृश्यावलोकनस्तम्भले पूर्वी नेपालकै पर्यटन क्षेत्रको विकाशमा सहयोग पुर्‍याउँछ ।” दमकमा सो स्तम्भ निर्माण भएपछि यहाँको व्यापार व्यवसायको प्रवद्र्धन हुुनुका साथै पर्यटकीय गन्तव्यको रुपमा पनि विकास हुने नगर प्रमुख ओलीको भनाइ छ ।

उनले दृश्यावलोकनस्तम्भ दमकका जनताको मात्र नभई प्रधानमन्त्री ओलीको पनि सपनाको आयोजना भएको सुनाए । स्तम्भ निर्माण हुने स्थान पूर्वपश्चिम राजमार्गदेखि तीन किलोमिटर तथा दमकको मुख्य चोकदेखि ६ किलोमिटर उत्तरमा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री