बिहीबार, १३ वैशाख २०८१

‘समाज सुहाउँदो पाठ्यक्रमको विकास सरकारले गर्न सकेको छैन’

समयपोष्ट २०७३ चैत १७ गते ३:३५

हाम्रो स्कुलको इतिहास त्यति लामो नभए पनि विद्यार्थी र अभिभावकहरूमा ओलम्पिया स्कुल राम्रो स्कुलमध्यको एक हो भन्ने बनाउन सफल भएका छौं । आमअभिभावकहरूले सिक्ने सिकाउने कुराहरूमा अन्य स्कुलभन्दा ओलम्पिया उत्कृष्ट छ भन्ने बुझेका छन् र हामीले पनि आमअभिभावकको त्यो बुझाइलाई सार्थक बनाएका छौं । 
हामी नयाँ विद्यार्थीहरू कक्षा एकदेखि लिने गर्छौं । त्यसमा पनि हरेक कक्षामा पच्चीसजना विद्यार्थी हामीले अध्यापन गराउँदै आएका छौं। अहिले कक्षा दससम्म चार सय पचासजना विद्यार्थी छन् । हाम्रो स्कुलको पूर्वाधारअनुसार हामीले विद्यार्थी भर्ना लिने गरेका छौं । विद्यार्थीको संख्या मात्र बढी देखाउने अनि विद्यार्थीलाई आवश्यक पर्ने पूर्वाधारहरू पुर्याउन नसक्ने हो भने त्यसको केही औचित्य रहँदैन । हाम्रो मुख्य उद्देश्य भनेको विद्यार्थीको संख्या वृद्धि गर्नेभन्दा पनि उनीहरूलाई कसरी गुणस्तरीय शिक्षा दिने र राम्रो बनाउने भन्ने नै हो । 
हाम्रो सिकाइ विधि पनि त्यही किसिमको रहेको छ । हरेक विद्यार्थीलाई इन्डिभिज्योल्ली पार्टिसिपेट गराएर सिकाउँछौं । अहिले शिक्षामा क्रान्ति नै आएको छ भन्दा पनि हुन्छ । परम्परागत शिक्षण विधिभन्दा पनि नयाँ शिक्षण पद्धतिअनुसार शिक्षण संस्था अगाडि बढिरहेका छन् । हाम्रो हकमा पनि ठ्याक्कै त्यही हो । घोकाएरभन्दा पनि विद्यार्थीलाई सम्बन्धित विषयको बारेमा फिल्डमै लगेर सिकाउने विधि हामीले प्रयोग गरिरहेका छौं । कुनै पनि विषयको अध्यापन गराउँदा हामी त्यसको कारणसहित विद्यार्थीलाई व्याख्या गरिदिन्छौं । 

Advertisement

हामीले विद्यार्थीलाई नेपाल सरकारकै पाठ्यक्रमअनुसार पढाउनुपर्ने बाध्यात्मक स्थिति छ । धेरै कुराहरू परिमार्जन भएका छन् तर पनि अहिलेको समाजसुहाउँदो पाठ्यक्रमको विकास सरकारले गर्न सकेको छैन । यस्तो अवस्थामा पनि यस ओलम्पिया स्कुलले अहिलेको समयानुसारको शिक्षा विद्यार्थीलाई उपलब्ध गराएर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराउन सक्ने क्षमतावान् विद्यार्थी उत्पादन गराउन सफल भएको छ । कक्षाका हरेक विद्यार्थीको संलग्नता हाम्रो सिकाइ विधिमा रहन्छ । कुनै विद्यार्थी बोल्दै नबोल्ने लजालु छ भने पनि हाम्रो स्कुलमा आइसकेपछि त्यो विद्यार्थी हरेकसँग घुलमिल हुने, स्कुलको हरेक कार्यक्रममा क्रियाशील हुने हामी बनाउँछौं । विद्यार्थीलाई स्कुलको पाठ्यक्रमअनुसार फिल्ड ट्रिपहरूमा लैजाने, पाठ्यक्रमकै आधारमा स्कुलमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र विद्यार्थीलाई त्यसमा सहभागी गराउने हामी गर्छौं । विद्यार्थीले आफैं छोएर, आफ्नै आँखाले देखेर र आफैंले गर्दा विद्यार्थीले छिट्टै सिक्ने हुँदा हामी त्यस्ता पद्धतिहरू अवलम्बन गरेर विद्यार्थीलाई सिकाउँछौं । 

स्कुलमा विद्यार्थीका लागि श्रव्य दृश्य कक्षा सञ्चालन गर्छौं । त्यस्तै पावर पोइन्ट प्रजेन्टेसन हामी विद्यार्थीलाई गर्न लगाउँछौं। कलेज लेभलमा मात्र गराइने प्रजेन्टेसन हाम्रो स्कुलमा कक्षा एकदेखिको विद्यार्थीलाई गर्न लगाइन्छ । त्यो पनि विद्यार्थीलाई परखने हाम्रो स्कुलको एउटा विधि हो । फेरि त्यसमा कक्षाका हरेक विद्यार्थी सहभागी हुनैपर्छ । यसरी सिकाउँदा बोल्दै नबोल्ने बच्चा पनि बोल्ने र कक्षामा सबैको अगाडि आएर ढुक्कसाथ उभिन सक्ने हुन्छन् । उनीहरूमा मासमा बोल्न आत्मविश्वास पनि बढ्छ । 

हाम्रो स्कुलमा हुने अतिरिक्त क्रियाकलापहरूमा हामी राष्ट्रियस्तरका नाम चलेका व्यक्तित्वहरूलाई स्कुलमा निम्त्याएर विद्यार्थीलाई ट्रेनिङ गराउँछौं । यी सबै कुराले गर्दा ओलम्पिया स्कुल अन्यभन्दा उत्कृष्ट छ, जसले अत्यन्त न्यून शुल्कमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री