शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्रीले भने-सिंहदरबार केन्द्रित अधिकार गाउँमा लैजान निर्वाचन अपरिहार्य छ

समयपोष्ट २०७३ फागुन २६ गते ७:३४

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजान स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बताएका छन् । बिहिबार राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनले मात्र सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजाने वातावरण बन्ने बताएका हुन् । प्रधानमन्त्रीले राजनीतिक संक्रमण लम्बिँदै जाँदा जनतामा निरासा छाउँने र पश्चगामी शक्तिले टाउको उठाउने प्रयास गर्ने बताउँदै भने,"राजनीतिक संक्रमण लम्बिँदै जाँदा जनतामा निरासा छाउँछ, पश्चगामी शक्तिले टाउको उठाउने प्रयास गर्दछन् । नयाँ संविधानले स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित महत्वपूर्ण अधिकार दिएको छ ।" उनले भने,"ती अधिकारको कार्यान्वयनका लागि निर्वाचनको कुनै बिकल्प छैन । स्थानीय तहको निर्वाचनले मात्र सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजाने वातावरण बन्छ । त्यसैले स्थानीय निर्वाचन अपरिहार्य छ ।"

Advertisement

सोही अवसरमा प्रधानमन्त्रीले सूचनाको हक लोकतन्त्रको स्तम्भ भएको बताउँदै भने,"सूचना र सूचनाको हक प्रभावकारी भयो भने मात्रै लोकतन्त्र बलियो हुन्छ । जनताले जति सजिलै सूचना पाउँछन्, त्यति नै जनताको पक्षमा बनेका नियम, कानून र अधिकारहरु लक्षित वर्गमा पुग्दछन् र कार्यान्वयन हुन्छन् । उनले भने,"आजको युग आफै पनि सूचनाको युग हो । तसर्थ, सूचना लुकाएर लोकतन्त्र बलियो हुन्छ, प्रशासन शक्तिशाली हुन्छ भन्ने ठान्नु भ्रम हो ।"

त्यस्तै प्रधानमन्त्रीले  लोकतन्त्र संस्थागत गर्न निर्वाचनको बिकल्प नभएको उल्लेख गर्दै भने,"लोकतन्त्रको व्यवहारिक प्रयोग भनेकै निर्वाचन हो । हामीकहाँ घोषणामा लोकतन्त्रलाई स्वीकार्ने तर लोकतान्त्रिक संस्कृतिको निर्माण र अवलम्बन गर्ने कुरामा समस्या छ । लोकतन्त्रका लागि निर्वाचन र राजनीतिक प्रतिस्पर्धालाई सहजतापूर्वक आत्मसात गर्न जरुरी छ ।"

प्रतिक्रिया

सम्बन्धित सामाग्री