मंगलबार, ११ वैशाख २०८१

नेपाली चलचित्रमा लगानी र व्यापारवीचको अन्तर्विरोध

समयपोष्ट २०७३ फागुन २० गते ४:०१

labaलब प्याकुरेल

Advertisement

विश्व अहिले एकिकृत भौतिक सिद्धान्तको परिकल्पनामा प्रवेश गरेको छ । कृष्ण विवर (व्ल्याक होल) सम्मको यात्राको परिकल्पनाले विज्ञानको क्षेत्रमा कयौ प्रतिपादित नियमहरुको खण्डन गरेको छ । केहिसमय अगाडी न्यूट्रोन, इलोक्ट्रोन र प्रोट्रोनलाई वस्तुको सबैभन्दा सानो इकाइ मानिन्थ्यो । अहिले भौतिक विज्ञानले क्वार्कलाई सानो इकाइ बताइरहेको छ । विपरित तत्वद्धारा वस्तुको गुण निर्माणहुने नियमलाई खण्डन गरिएको छ । एकैवस्तु आपसमा बदलिने सिद्धान्तको विकास भएको छ । यहि नै सापेक्षेता र अनिश्चयताको सिद्धान्त हो । स्टेफन हकिङ्सले प्रतिपादन गरेको एकिकृत सिद्धान्तको दार्शनिकस्वरुप भनेको विपरितवीचको एकत्व हो । यो भौतिक तथा सामाजिक विज्ञानको जीवन पनि हो ।
वैज्ञानिक अवधारणाहरुको बाह्य र आन्तरिक व्याख्या निरपेक्ष हुन्छ । तर, यसैसिद्धान्तलाई नेपाली चलचित्रमा भने सापेक्षितरुपमा विष्लेषण गर्न सकिन्छ । एकैवस्तु आपसमा विपरितमा बदलिने गुण नेपाली चलचित्रको परिचायक बनेको छ । पक्षवीच विद्यमान भिन्न प्रकृति र सड्घटकको एक अर्कासंगको संघर्षका कारण गति र विकासको संवेग प्राप्त हुनुपर्नेमा बाäय यान्त्रिक शक्तिको दबाबका कारण नेपाली चलचित्रको जीवन संकटग्रस्त बनेको छ । जसकाकारण नेपाली चलचित्रको गति र विकास पुरै प्रभावित बनेको छ । मौलिकता र गुणपक्षमा तिव्र र्यासपन आएको छ । लगानी असुरक्षित छ । कलाकारिता जीवनयापनको आधार बन्न सकेको छैन । कर्मशील श्रमजीवीको भविष्य अन्धकार छ । श्रमको मुल्य, मुल्यांकन तथा सम्मानको परिपाटी छैन । रोजगारमा निरन्तरता र सामाजिक सुरक्षा छैन । पेसागत संघसंगठनहरुमा नैतिकबल र इमान्दारीपन कमजोर रहेको छ । चलचित्रको नियमन, नियन्त्रण र विकसित गर्ने जिम्मेवार प्राप्त निकायहरू अनुत्तरदायी त छँदै छन्, गैरराष्ट्रवादीसमेत देखिएका छन् । अनैतिक, अपारदर्शी, अवैधानिक व्यावसायिक गतिविधि बढ्दो छ । अशिष्ट, असामाजिक, विकृतिपूर्ण तथा यौनका अपरिष्कृत र अपरिमार्जित प्रस्तुतिसहितका चलचित्रको बाढी लागेको छ । 
यसप्रकारका नकारात्मक परिणाम पछाडी सजातीय सड्घटकको विकृतिपूर्ण संघर्ष कारकको रुपमा देखिन्छ । लगानी (निर्माता) र व्यापार (हलवाला) वीच व्याप्त विकारपनका कारण चलचित्रको आन्तरिक तथा बाह्य जीवन अत्यन्त धरासायी बनिरहेको छ ।
निर्माताको समस्या र अन्तर्विरोध
निर्माताको प्रमुख कार्य भनेको चलचित्र निर्माणको लागि रकमको व्यवस्थापन गर्नु हो । निर्माणपश्चात् चलचित्रको वितरण र प्रदर्शनमा निर्माताको भूमिका महत्वपूर्ण हुन्छ । अधिकांश निर्माताहरूले आ˚्नो कार्यभारको उचित संयोजन र पहल गर्न सकिरहेका छैनन् । धेरैजसो निर्माता असक्षम मात्र होइनन् अनविज्ञ छन् ।
करिब ६५ प्रतिशत निर्माताको पुँजीको स्रोत–सम्बन्ध भूमि, श्रम, मिहिनेत–पसिना, वैधानिक आय–आर्जनमा आधारित रहेको छ । घर, खेत धितोमा राखेर वा बिक्रीबाट आएको धन, व्यवसाय वा मिहिनेत, परिश्रमद्वारा आयआर्जन गरिएको रकम र वैदेशिक श्रममार्˚त आएको वैधानिक धन चलचित्रमा प्रयोग भएको राष्ट्रिय पुँजी हो । राष्ट्रिय पुँजी अन्तर्गतको प्रवृत्तिगत अवधारणा भने वास्तविक राष्ट्रिय पुँजीपति जस्तो छैन । यो देशभित्रको रुपान्तरित राष्ट्रिय पुँजी हो । यसको समस्या पुँजीमा होइन, लगानीकर्ताको प्रवृत्तिमा छ । व्यावसायिक ज्ञान, सीप र दक्षताको कमी, सामाजिक एवम् साँस्कृतिक मूल्य–मान्यतामा कमजोरी निर्माताहरुको नकारात्मक चरित्र हो । रङ्गीन स्वार्थ र साँस्कृतिक विचलनमा प्रेरित लगानीको प्रवृत्ति नेपाली चलचित्रको पहिलो समस्या हो । दर्शकको स्वाद र चाहनाको मूल्याङ्कन गर्न नसक्नु र माग र व्यापारको वास्तविक अवस्थाको अध्ययन बिना चलचित्र निर्माण गर्नु निर्माताहरुको अर्को कमजोरी रहेको छ । लहैलहैमा निर्माता बन्ने र प्रभाव वा वहकावमा बहकिने (फिल्मी भाषामा मुर्गा बन्न तयार हुने) एउटा जबर्जस्त प्रवृत्ति नेपाली चलचित्रको समृद्धि र विकासको वाधक बनेको छ । चलचित्र निर्माणतर्फ सामान्य ज्ञान भएका तर वितरण र प्रदर्शनमा पुरै अनभिज्ञ निर्माताहरूको सङ्ख्या धेरै हुँदा धन गुमाउनेको सङ्ख्या पनि दिनानुदिन बढिरहेको छ ।
बलपूर्वक आर्जन गरिएको एवम् गुण्डामार्फत लगानी भएको अवैध धन, अनैतिक गतिविधिमार्फत वैधानिक बनाउन प्रयोग भएको रकम, घरेलु दलालमार्फत विदेशी अन्डरवल्र्ड तथा माफियाले चलचित्रमा गरेको लगानी करिब १५ प्रतिशत हाराहारी छ । नेपाली चलचित्रमा देखिएको यो पुँजी दलाल पुँजी हो । मध्यमार्गी लगानीसमेत चलचित्र देखिन्छ । निरन्तररूपमा चलचित्र निर्माणमा क्रियाशील यो समूह हाराहारी २० प्रतिशत रहेको छ ।
नेपाली चलचित्र निर्माताहरुको प्रमुख अन्तर्विरोध हलवालासँग अन्तरनिहित छ । ८० प्रतिशत निर्माताहरुले दिन–प्रतिदिन आफ्नो घर–खेत गुमाइरहँदा केहि मुठ्ठीभर हलसाहु भने आलिसान महल ठड्याइरहेका छन् । अकूत सम्पत्ति आर्जन गरेका छन् । व्यापार खराब रहेको चलचित्रले आर्थिक क्षतिको हिस्सा ग्रहण गर्नु स्वभाविक हो, तर राम्रो व्यापार गरेको सफल चलचित्रका निर्माताले समेत क्षति व्यहोर्न बाध्य पारिएको छ । निर्माताको लागि चलचित्र प्रदर्शन ‘खाए खा नखाए घिच’ जस्तै भएको छ । निर्मातामाथि निम्नप्रकारबाट दोहन गरिएको छ । 

loot

आय–व्ययको अव्यवस्थित र अपारदर्शी विवरण थमाइन्छ ।
कर छलीबाट निर्माताको वास्तविक हिस्सामाथि अत्यधिक घोटाला गरिएको छ ।
टिकट काउन्टरद्वारा ब्लाकमेल गरिने गरिएको छ । 
हलको अतिरिक्त शुल्क भार निर्माताले तिर्नुपर्छ । 
उधारो व्यापारका कारण निर्मातालाई ठूलो नोक्सानी भइरहेको छ । 
तथाकथित स्वदेशी तथा विदेशी सिन्डिकेट संचालन गरी निर्माताको पुँजीमाथि शोषण गरिएको छ । 
प्रचारप्रसारमा स्वदेशी सिनेमा उत्पीडनमा पारिएको छ । 
लामोसमय पछि व्यापारिक हिस्सा प्राप्त हुने र बाँकी रकमका लागि राम्रै माथापच्ची गर्न बाध्य पारिन्छ । 

हलवालाको अन्तर्विरोध
नेपाली चलचित्रमा सिनेमा हल ढुकुटी हो भने सिनेमा हल सञ्चालक ढुकुटीका चाबी जस्तैभएका छन् । चलचित्रमा क्रियाशील निर्माता, निर्देशक, कलाकार, प्राविधिक, कामदार एवम् पोष्ट प्रोडक्सन हाउसको परिणामको फल अन्ततः सिनेमाहलमा अन्तर्निहित छ । नेपालमा साना, मझौला र मल्टिप्लेक्स गरी ३ प्रकारका हलहरू सञ्चालनरत छन् । मुख्यगरी मल्टिप्लेक्स हल राजधानी केन्द्रित छ, मझौला हल राजधानी बाहिरका साना सहरमा बढी छ भने साना हल गाउँ केन्द्रित छ । एकैठाउँमा दुई वा सोभन्दा बढी पर्दाभएको सिनेमाघरलाई मल्टिप्लेक्स भनिन्छ । राजधानीमा ९ वटासम्म पर्दा भएका सिनेमाघर निर्माणमा तीव्रता आएको छ । 
हलवालाको प्रधान अन्तर्सङ्घर्ष निर्मातासँग सम्वन्धित छ । निर्माताको भनाई छ, ‘हलको लागि व्यापारिक सामाग्री हामीले दिने हो, यसकारण पहिलो प्राथमिकता निर्माता हुनुपर्छ ।’ हलवालाको प्रतिक्रिया छ, ‘चलचित्र लगानीको कैयौँगुणा बढी लगानी हलमा भएको छ, यसकारण व्यापारको पहिलो हिस्सेदारी हलवाला हुनुपर्छ ।’ चलचित्रमा पहिलो लगानी निर्माताले गर्दछ, सो लगानीको प्रतिफल दिने हलवाला हुन्छ । हलको कानुन (?), विधि, नीति आदी छाता (संरक्षक) संस्थाको अगुवाईमा हलवाला आफैले बनाएको छ । यसलाई सञ्जालद्वारा लागू गरिरहेको छ । ५० लाखको चलचित्र निकै तामझामसहित प्रदर्शनमा जान्छ । तर, हलबाट व्यापार हिस्सा मुस्किलले ५–७ लाख आउँछ । हलको अतिरिक्त शुल्क कटाएर बाँकी बचेको हिस्सा निर्माताको गोजीमा हलवालाको मनोमानी–राजीखुसीमा मात्र प्राप्त भइरहेको छ । यस्तो हुनुको पछाडी मुख्यतः दुईवटा कारक रहेको छ ।
१. नेपाली राष्ट्रिय चलचित्र सम्बन्धी उपयुक्त ऐन, कानुन तथा कार्यक्रम छैन । भएको नीति पश्चगमनकारी छ । कार्यान्वयनमा फितलोपन छ र त्यसको प्रभावकारिता छैन ।
२. हलवालाको नेतृत्वमा वैदेशिक (क्यूक वा टूके सर्वर) तथा घरेलु (डीसीएन सिष्टम) सञ्जाल तैयार गरी तथाकथित सिन्डिकेट लागू गरिएको छ । केही चलचित्रकर्मी र वितरकलाई संलग्न गराइएको सञ्जालको दबाबका कारण नेपाली चलचित्र फुल्न र फैलन सकेको छैन ।
संस्लेषण
अर्थ, श्रम, प्रविधि र सिर्जनाको केन्द्रीकृत अभिव्यक्ति चलचित्र हो । यो तथाकथित नाफाखोर, नोकरशाह तथा दलाल पुँजीपतिले बुझ्ने व्यापारको हिस्सा मात्र होइन । यो त कला, सँस्कृति एवम् मनोरञ्जनद्वारा सामाजिक, साँस्कृतिक एवम् राष्ट्रियतामाथि नयाँ विचार पैदा गर्ने गतिशील, सिर्जनशील, आत्मनिर्भर –साँस्कृतिक उद्योग हो । यो सूचना तथा सञ्चारको विश्वव्यापी अवधारणा हो । यसको प्रभाव प्रचुररूपमा मैदानमा तत्कालै देखिन्छ ।
फितलो ऐन–कानुनको सहारामा नेपाली निर्मातालाई ठगी गर्नु सामान्य प्रायः भएको छ । दैनिक जसो अत्यधिक घाटा व्यहोरिरहँदा पनि अधिकांश निर्माता आवाजविहीन बनेका छन् । मौनबस्नु निर्माताको निरीहता र बाध्यता दुबै हो । धनशाली र बलशालीले राज गरेको मुलुकमा निमुखा र निर्बलहरूको आवाज कमजोर हुनु नौलो होइन । आवाजविहीन देखिएका यी निर्माताहरूको लगानीको सुरक्षाबिना नेपाली राष्ट्रिय चलचित्रको समृद्धि र विकास भने सम्भव छैन ।
स्मरणयोग्य के छ भने, स्वतन्त्र तथा असंलग्न राष्ट्रले व्यापार, वाणिज्य, पारवहन लगायतका क्षेत्रलाई खुला प्रतिस्पर्धामा लाने वा नलाने भन्ने निर्णय स्वतन्त्ररूपमा आफै गर्न सक्दछ । डब्लुटीओको प्रावधानमा विकासोन्मुख मुलुकले आवश्यकताअनुसार व्यापारको कुन क्षेत्रलाई खुला प्रतियोगितामा लाने भन्ने निर्णय आफै गर्न सक्दछ भन्ने उल्लेख छ । साफ्टा सम्झौताअन्तर्गत संवेदनशील सूचीमा परेका उद्योगहरूलाई सम्बन्धित मुलुकले सकारात्मक विभेदको नीति अवलम्बन गर्दै संरक्षण दिन पाउने अवस्था रहेको छ । इन्डो–नेपाल ट्रिटी आफ टेड संशोधन २००९ को आर्टिकल ९ को प्रावधानअनुसार राष्ट्रिय स्वार्थ र राष्ट्रिय सम्पदा संरक्षणका लागि दुवै पक्षले आवश्यकीय नियन्त्रण गर्नसक्ने प्रावधान छ । तर, नेपाली चलचित्रमा भने यसखाले स्पष्ट अन्तर्राष्ट्रिय नीतिलाई अपव्याख्या र उपेक्षा गरिएको पाईन्छ । जसलेगर्दा वैदेशिक प्रभावको विस्तार सहज बन्दै गएको छ ।
अहिले हलवालाको आम्दानीको स्वरूप सामन्ती, एकाधिकार एवम् नोकरशाही प्रवृत्तिको देखिएको छ । लगानीको प्रति˚लको चाबी लिएका हलवालाको मनोमानीले नेपाली चलचित्रको वैधानिक राष्ट्रिय पुँजीलाई क्षणभरमा नै दलाल पुँजीमा रूपान्तरण गर्न मद्दत पुर्याइरहेको छ । विशेषतः हलवालाले नेपाली चलचित्र निर्माताको पुँजीको शोषण गरेको छ । यसबाट आमचलचित्रकर्मी निर्देशक, कलाकार, प्राविधिक, कामदार, पोस्ट प्रोडक्सन हाउस, वितरकआदी माथि नकारात्मक प्रभाव पारेको छ । चलचित्र लगानीमा पुँजीको स्रोत सकारात्मक हुँदासमेत परिणाम प्रतिउत्पादक बनेको छ । चलचित्र आम्दानीको स्रोत अनैतिक, अपारदर्शी तथा अवैधानिक व्यावसायिक गतिविधि देखिएको हुँदा यसको उत्पादन र परिणाम सकारात्मक नभएको निष्कर्ष सहज निकाल्न सकिन्छ । 
एकैवस्तु आपसमा विपरितमा बदलिने गुण विज्ञानको नियम हो । यसर्थ सजातीय स्वस्थ प्रतिस्पर्धालाई स्वभाविक मान्न सकिन्छ । तर, अहिले लगानी र व्यापारवीच देखिएको विपरित ध्रुवीय विकारपनका कारण समग्र चलचित्र उद्योग विभाजन वा विघटनको संघारमा छ । नेपाली चलचित्रको सुरक्षा गर्नु र भविष्यमा नेपाली राष्ट्रिय चलचित्र उद्योगको विकास र समृद्धिमा अग्रसर हुनु सम्पूर्ण चलचित्रकर्मीको कार्यभार भएको छ । यसकालागि आमचलचित्रकर्मीवीच एकता जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री