राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘आरबीबी फोनलोन’ : मोबाइल एपबाटै बिना धितो एक लाखसम्म कर्जा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘आरबीबी डिजिटल संसार’ मार्फत तुरुन्तै कर्जा उपलब्ध गराउने डिजिटल सेवा ‘आरबीबी फोनलोन’ सञ्चालनमा ल्याएको छ । यो सेवा कार्यान्वयन गर्न बैंक र फोनलोन प्राइभेट लिमिटेडबीच सम्झौता सम्पन्न भएको हो ।

यो सेवामार्फत ग्राहकहरूले कुनै धितो नराखी, कागजी प्रक्रिया पूरा नगरी र बैंक शाखामा भौतिक उपस्थिति नजनाई सिधै मोबाइल एपबाट एक लाख रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । सेवा हाल तलबी खाता भएका योग्य ग्राहकहरूलाई मात्र उपलब्ध छ । उनीहरूले आफ्नो खातामा भएको कारोबारको आधारमा कर्जा पाउनेछन् ।

Advertisement

ग्राहकले आरबीबी डिजिटल संसार एपमा आफ्नो खाता रजिस्टर्ड भएको मोबाइल बैंकिङ सुविधामार्फत सजिलै आवेदन दिन सक्नेछन् । आवेदन दिएपछि बैंकले आवश्यक जाँच तथा प्रक्रिया पूरा गरी कर्जा स्वीकृत गर्नेछ । यो सेवाले विशेष गरी आकस्मिक आर्थिक आवश्यकता परेका ग्राहकहरूलाई ठूलो सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशका ७७ वटै जिल्लाका सदरमुकाम तथा दुर्गम क्षेत्रसमेत समेट्दै ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२६ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा सञ्चालन गरिरहेको छ । बैंकले ४७ लाखभन्दा बढी ग्राहकलाई विभिन्न बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

‘आरबीबी फोनलोन’ सेवाको सुरुवातले बैंकको डिजिटल बैंकिङलाई थप मजबुत बनाउने र ग्राहकहरूलाई प्रविधिमैत्री, छिटो तथा सहज वित्तीय सेवा प्रदान गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री