कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ, डिजिटल बैंकिङ यात्रामा नयाँ माइलस्टोन

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप आधुनिक र अन्तर्राष्ट्रिय स्तरको भुक्तानी सुविधा उपलब्ध गराउने उद्देश्यले मास्टरकार्ड डेबिट कार्ड सेवा औपचारिक रूपमा शुभारम्भ गरेको छ ।

बैंकले आज काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा यो सेवाको औपचारिक घोषणा गर्दै बिहीबारदेखि नै डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको जानकारी दिएको छ । यो कदमलाई बैंकको डिजिटल बैंकिङ यात्रामा महत्वपूर्ण माइलस्टोनको रूपमा हेरिएको छ ।

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले स्वागत मन्तव्यका क्रममा कुमारी बैंकले डिजिटल रूपान्तरण र ग्राहकमैत्री सेवामा निरन्तर अग्रसरता देखाउँदै आएको बताए । उनले मास्टरकार्ड जस्तो विश्वव्यापी भुक्तानी नेटवर्कसँग जोडिएर बैंकको सेवा क्षमता थप मजबुत बन्ने र ग्राहकहरूलाई थप सुविधा तथा सुरक्षा प्रदान गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्रकारले मास्टरकार्ड डेबिट कार्डले भौतिक तथा डिजिटल दुवै माध्यमबाट भुक्तानीलाई सरल, छिटो र सुरक्षित बनाउने बताए । उनले यो कार्ड नेपाल, भारत र भुटानका सबै मास्टरकार्ड स्वीकार गर्ने एटीएम तथा पीओएस मेसिनमा प्रयोग गर्न सकिने, अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीमा सहजता हुने र मास्टरकार्ड क्रेडिट कार्ड सेवा चाँडै नै सुरु गरिने जानकारी दिए ।

बैंकले गत वर्षदेखि नै आफ्ना एटीएमहरूमा मास्टरकार्ड स्वीकार गर्दै आएको थियो । अब आफ्नै कार्ड जारी भएसँगै ग्राहक सेवामा थप सुधार हुने बैंकको विश्वास छ ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर २९७ शाखा, ३१५ एटीएम, ४६ एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिइरहेको छ । बैंकले विद्युतीय कारोबारलाई उच्च प्राथमिकता दिँदै ग्राहकहरूलाई सहज, सुरक्षित र अत्याधुनिक सेवाहरू उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा पनि डिजिटल सेवालाई थप विस्तार गर्दै लैजाने बैंकले प्रतिबद्धता जनाएको छ ।

Advertisement

यो मास्टरकार्ड डेबिट कार्डको शुभारम्भले कुमारी बैंकका ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको भुक्तानी अनुभव प्रदान गर्दै नेपालको डिजिटल बैंकिङ क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री