
महालक्ष्मी विकास बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा देशव्यापी रूपमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरू आयोजना गरी सफल समापन गरेको छ । बैंकले मिति २०८२ चैत २ देखि चैत ८ गते (मार्च १६ देखि २२, २०२६) सम्म साताव्यापी अभियान सञ्चालन गरेको थियो ।
यो वर्षको ग्लोबल मनी विकको मुख्य नारा “स्मार्ट मनी टक्स” (Smart Money Talks) रहेको थियो । यस नारालाई आत्मसात् गर्दै बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरू, विशेष गरी विद्यार्थी तथा युवाहरूलाई केन्द्रित गरी विभिन्न शाखा तथा प्रादेशिक कार्यालयहरू मार्फत कार्यक्रमहरू सञ्चालन गरेको छ ।
बैंकका दरबारमार्ग, हेटौँडा, इटहरी, भैरहवा, विजयपुर (पोखरा), विरगञ्ज, धनगढी, सूर्यपुरा, डडेलधुरा, लाहान, बिचबजार, मंगलसेन, चिप्लेढुङ्गा लगायतका दर्जनौं शाखाहरूले वित्तीय साक्षरता कार्यक्रम, ¥याली तथा सचेतना अभियान सञ्चालन गरेका थिए । यी कार्यक्रमहरूमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरू, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी तथा वित्तीय अनुशासन जस्ता महत्वपूर्ण विषयहरूमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमहरूमा एक हजारभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको नेतृत्वमा आयोजित प्रभातफेरी तथा अन्य वित्तीय साक्षरता कार्यक्रमहरूमा पनि महालक्ष्मी विकास बैंकले उत्साहजनक सहभागिता जनाएको थियो ।
विशेषगरी नेपालगञ्ज शाखाले श्री युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगञ्ज, बाँकेमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्रीहरू वितरण गर्दै वित्तीय शिक्षालाई प्रोत्साहन गरेको छ । यसबाहेक बैंकको आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू (फेसबुक, इन्स्टाग्राम, युट्युब आदि) मार्फत सचेतनामूलक पोस्ट तथा भिडियो सामग्रीहरू प्रसारण गरी किशोरकिशोरी तथा युवायुवतीमा वित्तीय जागरण ल्याउने प्रयास गरेको छ ।
बैंकले यो अभियानबाट नेपाली समाजमा वित्तीय शिक्षाको महत्वबारे सकारात्मक जागरण फैलिने विश्वास व्यक्त गरेको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारा बोकेर विगत ३१ वर्षदेखि निरन्तर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको हाल देशभर १०३ शाखा कार्यालयहरू सञ्चालनमा छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरू छन् ।
यो अभियानले नेपालमा वित्तीय समावेशिता तथा जिम्मेवार वित्तीय व्यवहार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।








प्रतिक्रिया