शनिबार, ८ वैशाख २०८१

सहुलियतपूर्ण कर्जाका लागि स्टार्टअपलाई परियोजना प्रस्ताव पेस गर्न सरकारको आह्वान

समयपोष्ट २०७९ चैत १६ गते ११:५६

Advertisement

सरकारले सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि इच्छुक स्टार्टअपलाई परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आज एक सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो।

स्टार्टअप कोष कार्यक्रमअन्तर्गत यही हप्ता जारी भएको स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ लाई टेकेर उद्योग विभागले स्टार्टअपहरूलाई परियोजना प्रस्ताव पेस गर्न आग्रह गरेको हो। मन्त्रालयले यसका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका तथा कार्यविधिमा तोकिए अनुसार स्टार्टअप उद्यमका मापदण्ड पूरा गरेका स्टार्टअप उद्यमीले सहुलियतपूर्ण कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सक्ने विभागले जनाएको छ।

विभागले बिहीबार एक सूचना जारी गर्दै स्टार्टअप उद्यमीले सूचना प्रकाशित भएको २१ दिन भित्र कार्यविधिको अनुसूची (१) बमोजिमको ढाँचामा आफ्नो परियोजना विभागमा प्रस्ताव पेस गर्नुपर्ने उल्लेख गरेको छ।

स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि अनुसार कुनै पनि स्टार्टअपले बिना धितो तीन प्रतिशत ब्याजदरमा अधिकतम २५ लाख रुपैयाँसम्म सरकारबाट ऋण पाउने छन्। उद्योग मन्त्रालयले स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर सहुलियत ब्याजदरमा कर्जा तथा बिउ पुँजी उपलब्ध गराउने गरी कार्यविधिमा व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले कर्जा प्रवाह गर्ने बैंक तोक्नेछ। उक्त बैंकले सिफारिसको आधारमा दुई किस्तामा कर्जा प्रदान गर्नेछ। पहिलो किस्ता जारी गर्दा स्वीकृत रकमको बढीमा ५० प्रतिशतसम्म प्रवाह गर्न सक्नेछ।

कर्जा प्रवाह गर्नुअघि बैंकले कर्जा प्राप्त गर्ने तरिका, कर्जाको सीमा, किस्ता बुझाउनुपर्ने अवधि (सात वर्ष नबढाइ), कर्जा चुक्ताका लागि सावाँ फिर्ता र ब्याज भुक्तानी अवधि तथा प्रक्रिया समेत उल्लेख गरी सम्झौता गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

स्टार्टअप उद्यम कार्यक्रम व्यवस्थितरूपमा संचालन गर्न स्टार्टअप उद्यम कार्यान्वयन समिति गठन गरिने मस्यौदामा उल्लेख गरिएको छ। उक्त समितिले उद्यममा कर्जा प्रवाहको लागि मापदण्ड पुरा भएका नवउद्यमीबाट परियोजना प्रस्ताव आह्‍वान गर्ने, स्टार्टअप उद्यमको लागि कर्जा माग गर्ने, प्रस्तावित परियोजनाको विवरण तयार गर्ने, प्रस्तावित परियोजनाको मूल्यांकन र छनोटको काम गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री