शुक्रबार, १६ चैत २०८०

‘उज्ज्वल सपना’ मोबाइल एप सार्वजनिक

समयपोष्ट २०७९ चैत १५ गते १५:०१

Advertisement

प्रवासी कामदारलाई लक्षित गरेर गैरसरकारी संस्था इसरा नेपालले ‘उज्ज्वल सपना’ मोबाइल एप सार्वजनिक गरेको छ ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालद्वारा मङ्गलबार ललितपुरमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र इसरा इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा लिजा रेन्डी टेलरले संयुक्त रूपमा एप सार्वजनिक गर्नुभएको हो ।

‘उज्ज्वल सपना’ प्रवासी कामदार र वैदेशिक रोजगार खोजी गर्नेहरुका लागि श्रम कानुन र अधिकार, मेनपावर कम्पनी, रोजगारदाता, सेवा प्रदायक, दैनिक अद्यावधिक गरिएका सूचना तथा समाचारसहित विस्तृत जानकारी दिने उद्देश्यले तयार पारिएको स्मार्टफोन एप हो । यो एपमा बर्मेली, खमेर र नेपाली भाषामा नेपाल र गन्तव्य मुलुकका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

कार्यक्रममा सहसचिव पोखरेलले नेपालीका लागि वैदेशिक रोजगारी बाध्यता भएकोे बताउनुभयो । “जबसम्म हामीले उत्कृष्ट आन्तरिक रोजगारी सृजना गर्न सक्दैनौँ, तबसम्म वैदेशिक रोजगारीमा भर पर्नुपर्ने बाध्यता भएकाले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनु आवश्यक छ”, उहाँले भन्नुभयो । सहसचिव पोखरेलले सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने भन्दै विदेशमा सिकेका सीप प्रयोग गरेर नेपालमा रोजगारी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले श्रमिकमैत्री वैदेशिक रोजगार ऐन बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै पाँच वर्षे रणनीति तयार गरेर काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

आप्रवासन विज्ञ केशव बस्यालले कामका लागि नेपालबाट वार्षिक २० देखि २५ प्रतिशत मानिस बाहिर जाने गरेको र सोही अनुसार प्रतिफल प्राप्त नभएको बताउनुभयो । दक्षिण एसियाली क्षेत्रीय ट्रेड युनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेतले सरकारको मापदण्ड के हो भन्ने कुरा पनि एपमा समेटिनुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले कामदार पठाउन कामदारको माग लिन मेनपावर कम्पनीहरुबीच भएको अस्वस्थ प्रतिस्पर्धाले मजदुर मारमा परेको बताउनुभयो ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारको क्षेत्रमा पारदर्शिताको कुरा मात्रै भएको तर काम नभएको बताउनुभयो । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरिबहादुर कार्कीले यो एपले सबैलाई एउटै स्थानमा ल्याउन सहयोग पु¥याउने बताउनुभएको थियो ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घका उपाध्यक्ष धनबहादुर विकले श्रमिकको जिन्दगीलाई उपयोग गर्दै पेसा बनाएर राजनीति गर्न नहुने भनाइ राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री