बिहीबार, १३ वैशाख २०८१

मनाइयो ६२ औँ विश्व रङ्गमञ्च दिवस

rss २०७९ चैत १३ गते २१:४०


आज ६२औँ विश्व रङ्गमञ्च दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्र सिंह बानियाँ, बुद्धि तामाङजस्ता धेरै नाम छन्, जसले रङ्गमञ्चबाट अभिनयको सुरुआत गर्दै चलचित्रको अभिनय, निर्माण तथा निर्देशन लगायतका विधामा सक्रिय हुनुहुन्छ ।

Advertisement

प्रायः चलचित्रमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने भएमा रङ्गकर्मीलाई नै खोज्ने गरिन्छ । उनीहरू आर्थिकरूपमा सबल हुन नै चलचित्रमा काम गरिरहेको प्रतिक्रिया दिइरहेका हुन्छन् । अभिनेता सौगात मल्लले चलचित्रको सङ्ख्या बढ्नुमा आर्थिक दायित्व महसुस गरेको एक सार्वजनिक कार्यक्रमै बताउनुभएको थियो । आर्थिक रूपमा सबल हुन् चलचित्रको विभिन्न विधामा रङ्गकर्मीको उपस्थिति बलियो छ ।

कथाअनुसार भूमिका सुहाउँदो कलाकार छान्ने कामसँगै अभिनय र निर्देशनमा व्यस्त रहनुभएको रङ्गकर्मी बरालले पच्चीस वर्षअगाडि नै नाटक बनाउने सोच्नुभएको ‘यौटा सपनाको अवसान’ बल्ल मञ्चन भइरहेको छ । नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा विद्यार्थी हुँदा पढेर रङगमञ्चमा प्रस्तुत गर्ने उहाँको सपना भएता पनि लगानकर्ताको अभावकै कारण सम्भव भएको थिएन । गोविन प्रोडक्सनले निर्माणको अभिभारा लिएपछि नाटक मञ्चन भएको हो । नेपालमा रङ्गमञ्चको विकास र विस्तारमा सरकारी सहयोग आवश्यक रहेको अभिनेता बरालले बताउनुभयो ।

“विदेशी नाट्यकर्मी भेट्दा उहाँहरू अच्चमित भएको पाउँछु । हामीले नेपालमा सरकारी सहयोगबिना नै नाटक घर बनाएका छौँ । नाटक मञ्चन गरिरहेको सुनेर एकजना विदेशी नाट्यकर्मीले म पनि नाटकघर बनाउँछु भन्नुभएको थियो”, रङ्गकर्मी बरालले भन्नुभयो । चलचित्र अभिनेताका रूपमा स्थापित हुनुभएको अभिनेता कार्म नाटकलाई समय नै छुट्याउनुहुन्छ ।

“रङ्गमञ्चमा प्रस्तुत हुँदा मिल्ने सन्तुष्टि छुट्टै छ । त्यसैले समय मिलाएर नै म नाटक गर्छु”, अभिनेता कार्मले भन्नुभयो, “चलचित्रमा धेरै व्यावसायिक पाटो हुन्छन् । रङ्गमञ्चमा भने कला मात्र केन्द्रित हुन्छ । यसले हाम्रो सिकाइलाई ताजा बनाइराख्छ ।”

अहिले नाटकघरको सङ्ख्या भने बढेको पाइन्छ । यद्यपि बढ्दो सङ्ख्याले पु¥याएको टेवाको विषयमा सोच्नुपर्ने समय आएको नाट्यकर्मी लक्ष्मी बर्देवाले भन्नुभयो । “रङ्गकर्मीहरूबीच एकता र ऐक्यबद्धता बढाएर काम गर्न सके यसको राम्रो नतिजा आउने छ । अन्यथा सङ्ख्या मात्र बढ्नुले विकसित भयो भन्ने अवस्था हुँदैन”, नाट्यकर्मी बर्देवाले भन्नुभयो ।

चार दशकको रङ्गमञ्च यात्रामा फरकफरक रुपमा बुझ्न पाएको अभिनेता बरालले बताउनुभयो । “हिजो र आज नाटक परिवर्तन देखिएको छ । विदेशी नाट्यकर्मीसँग हामीले साक्षात्कार गर्न पाइरहेका छौँ । यद्यपि अन्य क्षेत्र झैँ अहिले ग्ल्यामर यहाँ भित्र्याउने कि नभित्र्याउने भन्ने प्रश्नको जवाफ छैन”, रङ्गकर्मी बरालले भन्नुभयो ।

रङ्गकर्मी भोलाराज सापकोटा नाटकलाई कलाले मात्र जीवित राखेको बताउनुहुन्छ । “रङ्गकर्म गरिरहेकालाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन । अहिले चलचित्रमा महङ्गो अभिनेतामा पर्नेले यहीँबाट सुरुआत नगरेका भने होइनन् । तर, यो अभिनय बुझ्ने र सिक्ने मञ्चमात्र बनिरहेको छ”, रङ्गकर्मी सापकोटाले भन्नुभयो । उहाँले नेपालमा यसमै समर्पित रहने अवस्था नभएकाले चलचित्रतर्फ आकर्षण बढेको हुनसक्ने बताउनुभयो ।

समीक्षक शिशिर उप्रेतीले रङ्गमञ्चलाई स्कुलकै शिक्षामार्फत विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो । “स्कुलकै पुस्तकमा रङ्गमञ्चको शिक्षालाई राख्न पहल गरिरहेको छु । तर सम्बन्धित निकाय हामी झैँ गम्भीर नहुँदा यसले विषय प्रवेशसमेत पाएको छैन”, उहाँले भन्नुभयो । पछिल्लो समय नाम चलेका कलाकार रङ्गमञ्चभन्दा पनि चलचित्रमा व्यस्त छन् । आर्थिक पक्षलाई सबल बनाउन भएता पनि चलचित्रमा काम गर्ने क्रम बढेको उनीहरूको भनाइ छ ।

नाटकभन्दा पनि चलचित्र निर्माण तथा अभिनयमा व्यस्त रवीन्द्र सिंह बानियाँले आर्थिक र समयको लागत बढी लाग्ने भएकाले पनि समय कम दिन सकेको बताउनुभयो । “नाटकघरका लागि सरकारी निकायबाट नै सहयोग भए सजिलो हुन्छ । यसका लागि दिने समयले अन्य क्षेत्रबाट बढी आर्थिक लाभ दिए तापनि सन्तुष्टि भने दिन सक्दैन”, अभिनेता बानियाँले भन्नुभयो, “म नाटक गर्ने सोचमा छु । तर, हामीबाट अपेक्षा हुने राम्रो नाटक र टिम मिलाउन भने सहज छैन ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री