शनिबार, ८ वैशाख २०८१

नेपाली क्रिकेट टिमका खेलाडीलाई जनही २१ हजार दिने एनएमबि बैंकको घोषणा

समयपोष्ट २०७९ चैत २ गते १०:१२

Advertisement

एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली टिमका १६ जनालाई जनही २१ हजार रुपैयाँ दिने भएको छ ।

बैंकले सो रकम सबै १६ खेलाडीको नाममा बैंक खाता खोलेर खातामार्फत हस्तान्तरण गरिने जनाएको छ।

नगद पुरस्कारले खेलाडीहरुलाई अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रको गौरव रहेको र उनीहरुको मनोबल उच्च राख्न सकेमा खेलाडी र खेलकुद जगतको प्रगति हुने बताए।

विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ वटा जित हात पारेर नेपालले सिरिजको अन्तिम खेल किर्तिपुरमा युएइसँग खेल्दैछ।

नेपालले आजको खेलमा करण केसीको ठाउँमा गुलशन झालाई समावेश गरेको छ । नेपाली टोलीमा झासँगै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् । विभिन्न सात राष्ट सहभागी शृङ्खलाको यो अन्तिम खेल हो ।

सन् २०१९ देखि सुरुआत भएको आइसीसी लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।

नेपाल लिग–२ मा ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अङ्कका साथ शिर्ष र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्कका साथ तालिकाको अन्तिममा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री