बुधबार, ५ वैशाख २०८१

मृत्यु भएकाहरुप्रति गृहको समवेदना

समयपोष्ट २०७४ फागुन २९ गते ११:०८

गृह मन्त्रालयले सोमबार युएस बंगला विमान दुर्घटना भई त्यसमा सवार यात्रुको दुःखद निधन भएकामा गहिरो समवेदना प्रकट गरेको छ ।

Advertisement

मन्त्रालयले आज एक विज्ञप्ति जारी मृत्यु हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेको छ । मन्त्रालयले मृतकका परिवार र आफन्तजनमा समवेदना प्रकट गर्दै घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

मन्त्रालयले घटनाको खोज तथा उद्धारमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्गतका निकाय, खोज उद्धार टोलीसहित अग्निनियन्त्रक संस्था, एम्बुलेन्स, अस्पताललाई मानवीय सेवा पु¥याएको भन्दै धन्यवाद व्यक्त गरेको छ ।

दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घटनास्थलको अवलोकन र विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था बुझी उपचार कार्यमा कुनै कमी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको थियो ।

खोज तथा उद्धारका क्रममा घाइतेलाई उद्धार गरी काठमाडौँ मेडिकल कजेल शिक्षण अस्पताल, नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, न्यूरो अस्पताल, ग्रान्डी अस्पताल र ओम अस्पताल पु¥याइएको थियो ।

प्राप्त पछिल्लो विवरणअनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । विमानमा चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार थिए ।

शव परीक्षणपछि परिवार तथा आफन्तजनलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको पनि मन्त्रालयले जनाएको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री