शुक्रबार, १६ चैत २०८०

‘लिफ्ट’ प्रविधिबाट फेदीको पानी डाँडाको बस्तीमा

समयपोष्ट २०७४ फागुन २८ गते १०:५५

–सन्तोष गौतम

Advertisement

म्याग्दीको बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आँगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दंग पर्नुभएको छ ।

“डेढ–दुई घण्टा लगाएर गाग्री, ग्यालिन, ड्रम, बोतलमा पानी ओसार्नुपर्ने वर्षौदेखिका दुःखका दिन गए,” साठी वर्षीया परियारले भन्नुभयो – “अहिले आँगनको धारामा नियमित पानी आउन थालेपछि सुविधा भयो ।”

घरमा उपभोग गर्ने र गाईबस्तुलाई खुवाउने पानी ल्याउन, नुहाउन, कपडा धुनका लागि कुवा, खोल्सा र पधेरामा पुगेर घण्टौं पालो पर्खिएर पानी ओसार्ने गर्दै आउनुभएकी डडुवाकी टीका शाहीको दैनिकी फेरिएको छ ।

“बिहान उठेदेखि नसुत्दासम्म पानीको जोहो गर्दा गर्दै दिन बित्थ्यो,” शाहीले भन्नुभयो – “घरमै पानी आउन थालेपछि समयको वचत र सुविधा भएको छ ।” परियार र शाही मात्र नभएर ९३ घरधुरीको बसोबास रहेको डडुवा गाउँका बासिन्दाको दैनिकी लिफ्ट प्रविधिको खानेपानी आयोजना सञ्चालन भएसँगै परिवर्तन भएको छ ।

पुलाचौर डडुवा लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनामार्फत फेदीको पानी डाँडामा पु¥याएर घरघरमा वितरण गरिएपछि स्थानीयवासी दंग छन् । डडुवाका बासिन्दाले मंगला गाउँपालिका १ पूर्णगाउँको गाजाबाङ भन्ने ठाउँबाट पानी ल्याएर उपभोग गर्दै आएका थिए ।

विसं २०४३ मा निर्माण भएको उक्त आयोजना जीर्ण हुँदा पर्याप्त खानेपानी आपूर्ति हुन नसक्दा हिउँदको समयमा कुवा, खोल्सा र धाराको पानी उपभोग गर्नुपर्ने बाध्यता थियो । गाउँभन्दा माथि पानीको स्रोत नभएकाले लिफ्ट प्रविधिको आयोजना निर्माण गरिएको उपभोक्ता समितिका सचिव डम्मरबहादुर बानियाले जानकारी दिनुभयो ।

“धेरैलाई फेदीको पानी तानेर गाउँमा पु¥याउने योजनामा विश्वास लागेको थिएन तर प्रविधिको विकासले गर्दा नसोचेको सफलता पायौं,” बानियाले भन्नुभयो । सौर्य ऊर्जाको प्रयोग गरेर डडुवा गाउँको फेदीमा रहेको पैरापानीको मुहानको पानी ३५० मिटर माथि भेंडाखोर भन्ने ठाउँमा निर्माण गरिएको रिजर्भ टंकीमा पु¥याएर पाइपलाइनमार्फत घरघरमा वितरण गरिएको छ ।

त्रियानब्बे घर, एउटा विद्यालय र एउटा मन्दिरमा निजी धारामार्फत खानेपानी वितरण गरिएको सचिव बानियाले बताउनुभयो । उहाँका अनुसार पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना, जिल्ला समन्वय समिति, बेनी नगरपालिका र उपभोक्ताको एक करोड ३३ लाख रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो ।

कूल २६० वाट क्षमताको १२० वटा सोलार प्यानलमार्फत पाँच हजार वाट क्षमताको ४ वटा पम्प सञ्चालन गरेर प्रति पाँच सेकेण्डमा ११ लिटरका दरले पानी आपूर्ति गराइएको छ । इन्टेकबाट बीस हजार लिटर क्षमताको रिजर्भ टंकीमा संकलन गरिएको पानी १७५ मिटर माथि रहेको दश हजार लिटर क्षमताको अर्को टंकीमा पु¥याई त्यहाँबाट पुनः पम्पिङ गरेर थप १७५ मिटर माथि भेंडाखोरमा रहेको बीस हजार लिटर क्षमताको टंकीमा पु¥याइएको छ ।

विसं २०६९ मा सर्वेक्षण भई २०७२ देखि निर्माण शुरु गरिएको आयोजना यही महिना सम्पन्न भएको हो । आयोजना निर्माणका लागि ९३ घरधुरी उपभोक्ताले ५० दिन भन्दा बढीका दरले श्रमदान गरेका स्थानीयवासी कृष्ण खत्रीले बताउनुभयो । नगरपालिकामा समावेश भएपनि डडुवा गाउँमा भौगोलिक रुपमा विकट छ ।

आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि सबै उपभोक्ताको धारामा मिटर जडान गरी मासिक शूल्क संकलन गर्ने उपभोक्ता समितिका अध्यक्ष मोहन भण्डारीले बताउनुभयो । डडुवामा लिफ्ट प्रविधिको खानेपानी आयोजना सफल भएपछि मालिका गाउँपालिका ७ बिममा यस्तै प्रविधिको अर्को आयोजना शुरु भएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री