शुक्रबार, १६ चैत २०८०

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भण्डारी,पुन,ओली र देउवाको यस्तो आयो शुभकामना सन्देश

समयपोष्ट २०७४ फागुन २४ गते ५:३६

राष्ट्रपति विद्यादेवी भण्डारीले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुखशान्ति एवं समृद्धिको कामना गरेकी छिन् ।

Advertisement

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्नु आजको आवश्यकता देखिएको बताएकी छिन् ।

महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चितता गर्न आवश्यक रहेकामा राष्ट्रपति भण्डारीले जोड दिएकी छिन् ।

उपराष्ट्रपतिको शुभकामना
उपराष्ट्रपति नन्द बहादुर पुनले विश्वभरका श्रमिक महिलाहरुको महान् उत्सव १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवम् राष्ट्रको निरन्तर समुन्नतीको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा पुरुष सरह समान अवसर पाउनु पर्ने बताउँदै उनले विभिन्न कालखण्डका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र वलिदानको गौरवपूर्ण संघर्षबाट स्थापित नयाँ संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायतका अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागीता बढ्दै गईरहेको मैले महसुस गरेको छु ।

प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ ।

सन्देशमा भनिएको छ, “विभिन्न खालका कूरीति अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानूनी एवं व्यावहारिकरुपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु ।”

सरकारको विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको सन्देशमा राष्ट्रपति, उपराष्ट्रपतिमध्ये एक जना महिला, सभामुख, उपसभामुखमध्ये एक जना महिला, राष्ट्रियसभाको अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला प्रदेशको सभामुख, उपसभामुखमध्ये एक जना महिला राख्ने संवैधानिक प्रावधान हुनु महत्वपूर्ण फड्को भएको उल्लेख छ ।

त्यसैगरी स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला राख्ने प्रावधान महिला सशक्तीकरणका लागि महत्वपूर्ण फड्को भएको र राष्ट्रपतिजस्तो महत्वपूर्ण पदमा महिला रहेको विश्वका सीमित मुलुकको सूचीमा नेपालले आफूलाई उभ्याउन सफल भएको सन्देशमा उल्लेख छ ।

नेपालको संघीय संसद्मा ३३ प्रतिशतभन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला प्रतिनिधि निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

महिला हकअधिकारप्राप्तिका लागि संविधान, विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमा नेपाल पक्ष राष्ट्र भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले ती सन्धिसम्झौताको पालनमा सरकार गम्भीर रहेको सन्देशमा उल्लेख छ ।

कांग्रेस सभापतिको शुभकामना
काठमाडौं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको भन्दै त्यसविरुद्ध नारी जागरण आजको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

शहरदेखि दूरदराजका गाउँहरूमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गर्दै उनले हिंसा र लोकतन्त्र जनताको सम्प्रभूतामाथिको सबैभन्दा ठूलो खतरा रहेको औँल्याएका छन्

“हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो, हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो, काँग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउने विश्वास लिएको छु” देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय महिला दिवस
महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिन्छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री