शुक्रबार, ७ वैशाख २०८१

राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्ता भोलि

समयपोष्ट २०७४ फागुन २२ गते १२:५०

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि भोलि फागुन २३ गते बुधबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । सो निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ ।

राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचन कार्यक्रम अनुसार फागुन २४ गते बिहीबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

उक्त निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची आज सार्वजनिक गरेको छ ।

आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम रहेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित तीन जना र प्रदेश सभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन ।

उक्त निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र कायम गरिएको छ । संघीय नेपालको तेस्रो राष्ट्रपतिका लागि हुने निर्वाचनमा हालसम्म कुनै राजनीतिक दलले औपचारिकरुपमा उम्मेदवारको घोषणा गरिसकेका छैनन् ।

गणतन्त्र घोषणापछि पहिलो राष्ट्रपति डा रामवरण यादवले आफ्नो भूमिका निर्वाह गरिसक्नुभएको छ भने दोस्रो राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारी हाल कार्यरत हुनुहुन्छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री