शनिबार, ८ वैशाख २०८१

प्रहरीबाट खोजी भइरहेका सिलवाल संसदमा : प्रहरीले गरे सलाम, ओलीले मिलाए हात

समयपोष्ट २०७४ फागुन २० गते १:४६

‘किर्ते कागज’ मा छानबिनका लागि प्रहरीबाट खोजी भइरहेका एमाले सांसद नवराज सिलवाल शनिबार संसद् प्रवेश गरेका छन्। सिलवाल संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले–माओवादी संसदीय दलको संयुक्त बैठकमा सहभागी भए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Advertisement

प्रहरीको खोजी सूचीमा रहेका सिलवाललाई संसद प्रवेशक्रममा प्रहरीले नै सलाम गरेका थिए। उनी कडा सुरक्षा घेरा पार गर्दै दलको बैठक कक्षमा पसेका थिए। बैठक कक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिलवालसँग हात मिलाउँदै स्वागत गरे। गृहमन्त्री रामबहादुर थापा पनि त्यहीँ थिए। सिलवालसँग एमाले-माओवादीका अरु सांसदले पनि हात मिलाए। एक्कासि उनको प्रवेशलाई लिएर एमाले–माओवादीका सांसद, संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीले समेत मुखामुख गरे।

बैठकमा सामेल भएपछि कक्षभित्र, बाहिर र चिया पसलमा एकैछिन सिलवालसँग मोबाइलमा ‘फोटो सेसन’ नै चलेको थियो। उनले सांसदहरूसँग ‘ग्रीन टी’ पिउँदै सेल्फी पनि खिचाए। यसअघि गत फागुन ७ गते सिलवाल सार्वजनिक रूपमा प्रधानमन्त्रीनिवास बालुवाटारमा देखिएका थिए। सिलवालको छानबिन फाइल प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको छ।

सिलवालको ‘किर्ते कागज’ सम्बन्धी विवादमा मुद्दा चलाउने निर्णयसहितको फाइल महानगरीय प्रहरी परिसरले गत महिना जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो। सर्वोच्च अदालतको फैसलाअनुरुप छानबिनपछि परिसरले सिलवालमाथि कारबाहीको मागसहित छानबिन फाइल सरकारी वकिलसमक्ष बुझाएको हो।

आईजीपी प्रकरणमा सर्वोच्च अदालतमा चलेको मुद्दामा ‘किर्ते कागज’ पेस गरेको भन्दै छानबिनको परमादेशसहित भएको फैसलाअनुरुप परिसरले अनुसन्धान सुरु गरेको थियो। सरकारी वकिलले परिसरको छानबिन फाइलमा अध्ययन गरिरहेको छ। ‘अझै केही कागजात बुझ्नुपर्ने देखिएको छ। सबै अध्ययन गरेर मात्र के गर्ने भनेर निर्णयमा पुग्छौं। काम अझै बाँकी छ,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्य दाहालले अन्नपूर्णसँग भने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री