बिहीबार, ६ वैशाख २०८१

सबस्टेशनको क्षमता बढाइयो, ओभरलोड भएर विद्युत् कटौती हुने समस्या हट्ने

समयपोष्ट २०७७ चैत १० गते १२:२७

Advertisement

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रअन्तर्गत रहेको सबस्टेशनको क्षमता बढाइएको छ । शनिबार र आइतबार विद्युत कटौती गरेरै क्षमता वृद्धि गरिएको हो । भरतपुर वितरण केन्द्रका इञ्जिनीयर विनोद सापकोटाले इनकमर र बक्स कपुलर परिवर्तन गरी क्षमता बढाइएको जानकारी दिनुभयो । उहाँले ८०० एम्पियर क्षमतालाई बढाएर एक हजार ५०० बनाइएको बताउनुभयो । उहाँका अनुसार सबस्टेशनमा सर्वसाधारणका लागि नौवटा र कोकाकोला कम्पनीका लागि एउटा छुट्टै गरी जम्मा १० फिडर रहेका छन् । उक्त फिडरका लागि दुईवटा इनकमर छन् ।

एउटा इनकमरमा ओभरलोड भएर ट्रिप हुनेबित्तिकै पाँचवटा फिडरको विद्युत् काटिन्थ्यो । आधा जिल्लाभर विद्युत् कटौती हुने गर्दथ्यो । उहाँका अनुसार अहिले नै इनकमर फूल लोडमा थियो । “अहिले नै ८०० एम्पियरको रेन्जमा करेन्ट पुगिसकेको अवस्था छ । त्यसैले गर्मीयाममा ९०० एम्पियरसम्म करेन्ट पुग्ने अवस्था थियो । यो क्षमताले कुनै पनि हालतमा थेग्न सक्ने अवस्था थिएन”, उहाँले भन्नुभयो, “त्यसैले हामीले क्षमतालाई बढाएका हौँ ।” आठ सय एम्पियरबाट एक हजार ५०० एम्पियर गणितीय नियमका आधारमा बढाइएको उहाँले बताउनुभयो ।

अब क्षमता बढाएपछि गर्मीयाममा ओभरलोड भएर विद्युत् कटौती हुने समस्या नआउने सापकोटाको भनाइ छ । भरतपुर सबस्टेशन चितवनको मुख्य र ठूलो सबस्टेशन हो । यहाँ ट्रान्समिसनको लाइनलाई ल्याएर कम भोल्टेज बनाई अन्य सहायक सबस्टेशनमा पठाइन्छ । माडी, चनौली र टाँडीमा सहायक सबस्टेशन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री