शुक्रबार, ७ वैशाख २०८१

तीनबुँदे सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ : विप्लव

समयपोष्ट २०७७ फागुन २१ गते १५:४५

Advertisement

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना रहेको बताएका छन् ।

राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै विप्लवले भने,‘यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ,‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,।’

महासचिव चन्दले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताउँदै सहमतिभित्र महान् आकांक्षा लुकेको समेत उल्लेख गरे । उनले भने,‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’

उनले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताए । उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’

उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए । उनले सरकार, यसका जिम्मेवार नेतृत्वगण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री