शुक्रबार, १६ चैत २०८०

पर्वतमा चार जलविद्युत् आयोजना निर्माणाधीन

समयपोष्ट २०७७ फागुन २१ गते १३:४०

Advertisement

लक्ष्मीप्रसाद सापकोटा

पर्वतमा चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । ऊर्जा खोलाको रुपमा परिचित मोदीखोला र दक्षिण क्षेत्रको सेतीखोलामा थप चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । ती आयोजनाको क्षमता ५० मेगावाट रहेको छ । मोदीखोलामा तीन र सेतीखोलामा एउटा आयोजना निर्माणाधीन छन् ।

पर्वतको मोदी गाउँपालिकामा रहेको मोदीखोलामा तल्लो मोदी, तल्लो मोदी दुई र मध्यमोदी जलविद्युत् आयोजना र पैयुँ गाउँपालिकास्थित सेतीखोलामा सेतीखोला जलविद्युत् आयोजनाले धमाधम काम गरिरहेका छन् । तल्लो मोदी २० मेगावाट, मध्यमोदी १५ दशमलव एक मेगावाट, तल्लो मोदी दुई आयोजना १० मेगावाट र सेतीखोलामा साढे तीन मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा रहेका हुन् । मोदी इनर्जी कम्पनीले निर्माण गरिरहेको तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा रहेको छ । यो आयोजना चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ ।

यो आयोजना यसअघि नै सञ्चालनमा आइसक्नुपर्ने हो । सुरुङमा देखिएको प्राविधिक समस्या, तार टाँग्दा भएको झण्झट, कर्मचारीको आन्दोलन, देशमा भएका विभिन्न खाले विपत्तिका कारण तोकिएको समयमा चार्ज हुन नसकेको आयोजनाले जनाएको छ । अब आयोजनाको काम सकेर परीक्षणको अन्तिम तयारीमा रहेको जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले जानकारी दिनुभयो ।

शुरुमा रु तीन अर्ब ५० करोड खर्च हुने अनुमान गरिएकोमा सुरुङको समस्या तथा ढिलाइलगायत कारणले आयोजनाको लागत बढेको छ । यही नदी बेसिनमा चौधरी ग्रुपको लगानीमा मध्यमोदी आयोजना निर्माण भइरहेको छ । चौधरी ग्रुपले मध्यमोदी हाइड्रोपावर कम्पनीमार्फत यो आयोजना निर्माण गरिरहेको हो । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । विसं २०७० असार ७ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको आयोजना सम्पन्न गर्न करीब रु दुई अर्ब ८० करोड लाग्ने अनुमान छ ।

आयोजनाबाट विसं २०७५ मङ्सिरमा नै विद्युत् उत्पादन गर्ने तालिका भए पनि भूकम्प नाकाबन्दीलगायतका कारणले उत्पादन अवधि थप भएको थियो । कुनै अवरोध नभए यो आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिनुभयो । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी–२ निर्माण गरिरहेको छ ।

पहिले १० मेगावाटको तल्लो मोदी–१ आयोजनाको निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले यो आयोजना निर्माण गरिरहेको हो । यो तल्लो मोदी–१ को क्यासकेड आयोजना रहेको निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो । कम्पनीले यो आयोजना अघि बढाउन विसं २०७४ मा उत्पादन अनुमतिपत्र प्राप्त गरेको थियो ।

निर्माणाधीन मोदी बेसिनका तीन आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोडिने बताइएको छ । यसैगरी सेतीखोलामा पैयुँखोला हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सेतीखोला जलविद्युत् आयोजनाले विसं २०७४ मा उत्पादन अनुमतिपत्र लिएको थियो । उक्त आयोजनाको कामले यो वर्ष गति लिएको छ । चार दशमलव ७३ मेगावाटको भुरुङदी खोला साना जलविद्युत् आयोजना भने अध्ययनकै क्रममा छ । यो आयोजना अमरावती हाइड्रोपावर कम्पनीले अध्ययन गरिरहेको हो ।

मोदी बेसिनमा यसअघि निर्माण सम्पन्न भएका २५ मेगावाटका तीन जलविद्युत् आयोजना सञ्चालनमा छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १४ दशमलव आठ मेगावाटको मोदीखोला, १० मेगावाटको तल्लो मोदी–१ र एक मेगावाटको पातीखोेलाले विद्युत् उत्पादन गरिरहेका छन् । त्यस्तै सुपर मोदी र अपर मोदी पनि निर्माणको प्रक्रियामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री