शुक्रबार, १६ चैत २०८०

चीनमा फेरि संक्रमण

समयपोष्ट २०७६ चैत १४ गते ८:०८

Advertisement

बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीन चिन्तित देखिएको छ। देशभित्र घरेलु संक्रमण शुन्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएको छ।

मार्च २३ मा चीनमा देखिएको ७८ नयाँ भाइरस संक्रमितमध्ये ७४ केस विदेशबाट आएका अर्थात् आयातित केसहरू नै हुन्। नयाँ आयातित केसहरू थपिँदा चिन्ताको विषय बनेको हो। योसँगै विदेशबाट आएका संक्रमितहरुको कुल संख्या ४२७ पुगेको छ।

यस्ता आयातित केसहरू बेइजिङ, साङहाइ, क्वाङतोङसहित चीनका १२ वटा प्रान्त तथा सहरमा देखिएका छन्। सबैभन्दा बढी बेइजिङमा छन्। सोमबार देखिएका ७४ केसमध्ये ३१ वटा यहीं थियो। बेइजिङको स्वास्थ्य समितिका अनुसार, सोमबारसम्म बेइजिङमा यस्ता आयातित केसको संख्या १३८ पुगेका छन्।

पछिल्लो अवस्थामा यी आयातित कोरोनाभाइरस सङ्क्रमणले चीनलाई चिन्तित बनाएको छ। सोमबार आयातितबाट एक जना स्थानीय बेइजिङ नागरिक संक्रमित भएको पनि बताइएको छ। योसँगै बेइजिङले बुधबारबाटै बेइजिङ प्रवेश गर्ने सबैको अनिवार्य न्यूक्लिक एसिड टेस्ट गर्ने जनाएको छ। यसअघि ज्वरो आएको अवस्था र केही लक्षण देखिएको खण्डमा परीक्षण गरिँदै आएको थियो। यसै गरी गत शुक्रबारदेखि बेइजिङका लागि उडेका विमानहरूलाई अन्य सहरमा अवतरण गराइ त्यतै जाँच र क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरिएको छ। त्यसअघि मार्च १६ सोमबारबाट बेइजिङ उत्रेका सबैले स्वखर्चमा तोकिएको स्थानमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको थियो।

सो नियमअघिसम्म बेइजिङ फर्केका सबैलाई सेल्फ क्वारेन्टाइनका लागि भनिएको थियो। यसरी बाहिरबाट आएका चिनियाँहरूमा देखिनसक्ने कोरोनाभाइरस संक्रमण र यसबाट हुने सम्भावित प्रसार रोक्न पनि चीनले उल्लेखनीय कदम चालिरहेको छ।

हालसम्म बेइजिङमा आयातित १०७ केससँगै कूल ५२२ जना संक्रमित भएका छन्। तीमध्ये ४०० जना निको भइ फर्किसकेका छन् भने ८ को मृत्यु भएको छ। यसका साथै जनवरी २४ तारिखदेखि बन्द गरिएका बेइजिङका पार्कहरू, चिडियाखाना, ग्रेटवाल तथा पर्यटकीय स्थलहरू धमाधम खोल्न थालिसकेका छन्। स्थानीय सञ्चार माध्यमले सोमबार बेइजिङको सडकमा देखिएको ट्राफिकले बेइजिङ पूर्ववत् अवस्था पुगेको जनाएको छ। हाल चीनभरि नै स्थिति सामान्य बन्दै गएको छ। धेरै क्षेत्रका शिक्षण संस्थाहरू खोलिसकेका छन् यसै गरी कोरोनाभाइरसको इपिसेन्टर मानिएको उहान र हुपै प्रान्तमा समेत कलकारखाना सञ्चालनमा आइसकेका छन्। यतिबेला नेपालमा देखिएका केश पनि आयातित नै छन्। त्यसैले चीनको अनुभवबाट नेपालले सिकेर आफ्नो तयारी अघि बढाउन र नागरिक पनि त्यसमा तयार हुन आवश्यक छ। आजको अन्नपूूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री