बुधबार, १२ वैशाख २०८१

सच्याइएकोः अनुवाद भएमा धेरै कृति चर्चित हुन्छन् प्रा माइकल हट

समयपोष्ट २०७५ फागुन ९ गते १९:०८

Advertisement

श्याम रिमाल

एसओएएस युनिभर्सिटी अफ लण्डनका प्रा माइकल हट नेपाल आउन थालेको करीब ४० वर्ष भयो । नेपाली तथा हिमाली अध्ययन विषयका प्रा हट राम्रो नेपाली बोल्छन् । स्कूल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज(एसओएएस)बाट ‘नेपाली भाषा र यसको साहित्य’मा विद्यावारिधि गरेका प्रा हट आधुनिक र समसामयिक नेपाली साहित्य, नेपाली डायस्पोरा, मिडिया, कला र साहित्य, भुटानी शरणार्थी आदि विषयमा रुचि राख्नाका साथै कलम चलाउछन् । उनले ‘लाइफ अफ भूपी शेरचन, पोएट्री एण्ड पोलिटिक्स इन पोष्ट–राणा नेपाल’, ‘नेपाल इन नाइनटीज’ जस्ता कृति लेख्नाका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’, लीलबहादुर क्षत्रीको ‘बसाइँ’ उपन्यास आदि अङ्ग्रेजीमा अनुवाद गरेका छन् ।
‘गोरखा भूकम्प’पछि उहाँ अहिले ‘पृथ्वीको भयानक कम्पनपछि ः प्राकृतिक प्रकोपको मूर्त अमूर्त विरासत’ शीर्षक परियोजनामा काम गरिरहेका छन् । यसमा उहाँसँगै योगेशराज मिश्र, जीवन बानियाँ(नेपाल), मार्क लिच्टी(अमेरिका), जोन ह्वेलप्टन(बेलायत) र स्टेफ्यानी लोटोर(जर्मनी) संलग्न छन् । तीन वर्षको यो परियोजना अर्काे वर्ष सकिँदैछ । “यसमा भूकम्पले नेपाली संस्कृति, सम्पदा, पुनःनिर्माण, संरक्षण, समाज र राजनीतिक प्रक्रियामा पारेको असरबारे अध्ययन हुनेछ ”, उनले भने । भर्खरै नेपाल आउनुभएका उनी सो भूकम्प (७.८ रिक्टर स्केल)को केन्द्रविन्दु गोरखाको ‘बारपाक’ पनि जाँदै छन् । उनले भूकम्पसम्बन्धी सिङ्गो काव्य कृति र छ–सात वटा साहित्यिक पत्रिकाका भूकम्प विशेषाङ्क पनि सङ्कलन गरिरहेका छन् । भूकम्पसम्बन्धी करीब ३०० कविता पढिसकेका प्रा हटले ती कवितामा खासगरी मानिसका दुःख, ग्लानि, क्रोध, समानता, सङ्कल्प, आशाजस्ता विषयवस्तु पाइएको उनले जानकारी दिए।
दश पन्ध्र वर्षका बीचमा नेपाली साहित्यका पाठक निकै बढेको र पत्रकारहरुले पनि साहित्य सिर्जना गर्न थालेको जस्ता कुरा परिवर्तनका मुख्य विषय हुनसक्ने उनको बुझाइ छ । नेपाली पाठकहरु संसारभर रहेको पनि उनको मान्यता छ । पहिलेभन्दा महिला, जनजाति र दलित समुदायबाट आएकाहरुले लेख्न थालेको उनी बताउछन् । “लेखक र पाठक दुवैमा समावेशीकरण भएको छ”, उनी भन्छन्।
हाल नेपाली साहित्यको अनुृसन्धानमा व्यस्त प्रा हटको कर्णाली ब्ल्युज(बुद्धिसागर) तथा भूकम्पसम्बन्धी केही कविता प्रकाशनोन्मुख छ । पाठकको मुटु छुने क्षमता नेपाली लेखकमा भए पनि धेरैजसो नेपाली लेखकले नेपाल बाहिर चर्चा पाउन नसकेको उनी स्वीर्काछन् । सन् १९९० मा मायालु, दयालु र कलात्मक जीवन बिताएको मध्यम वर्गले सामाजिक–राजनीतिक जटिलता भोगेको कथा बोकेको श्रद्धा घलेको ‘द वेवार्ड डटरः अ स्टोरी अफ काठमाडौँ’(प्रकाशक स्पिकिङ टाइगर, सन् २०१८) निकै राम्रो भएको उनको टिप्पणी थियो । अङ्गे्रजी भाषामा लेख्ने नेपाली लेखकको उत्कृष्ट कृतिको उदाहरण उनले यसरी दिए । “अनुवाद भएमा निकै कृति चर्चित हुने सम्भावना छ”, उनले भने । विश्वस्तरको कृति केलाई भन्ने प्रश्नमा उहाँले विश्वस्तरको भन्नुको अर्थ पनि खोज्नुपर्ने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री