शुक्रबार, १६ चैत २०८०

विद्युत् सुविधापछि हर्षित

समयपोष्ट २०७५ फागुन ९ गते १७:४२

Advertisement

सिन्धुलीको फिक्कल गाउँपालिका–६ रत्नावतीका २०० घरमा यतिबेला बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजनामार्फत बिजुली बाल्न पाउँदा स्थानीयवासी हर्षित बनेका हुन् ।

साविकको रत्नावती गाविसको ६, ७, ८ र ९ नं वडाका २०० घरधुरीले विद्युत् सुविधा विस्तार भएको साउ खोला जलविद्युत् आयोजनाका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए । गाउँकै १३ किलोवाट र १८ किलोवाटका दुईवटा लघुजलविद्युत् परियोजनाबाट गाउँ झिलिमिली भएको हो । ‘‘अहिले २०० घरमा नै विद्युत् मिटर जडान गरेका छा, प्रतिमहीना रु १५० र प्रतियुनिट रु ३० लिने गरेका छन’’, आयोजनाका अध्यक्ष एवं फिक्कल गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका कार्कीले भने ।

विद्युत् सुविधापछि विद्यार्थीलाई पढ्न पनि सहज हुनुको साथै मट्टितेल र टुकी बाल्नुपर्ने बाध्यता हटेको छ । दिउँसोको समयमा विद्युत्को सदुपयोग गर्दै कुटानीपिसानीको मिल सञ्चालन गर्ने लक्ष्य रहेको छ अध्यक्ष कार्कीले बताए । आयोजनाको रेखदेख गर्न र बिजुलीको महशुल उठाउन दुई जनाले रोजगारीसमेत पाएका छन् ।

स्थानीयवासीले रु ३० लाख बराबरको श्रमदान र १९० घरले प्रतिघर रु पाँच हजार ५०० का दरले दिएको रकमबाट बिजुली बाल्न सफल भएको उनले बताए। स्थानीय खोलाबाट निकालेको बिजुलीबाट गाउँ झिलीमिली भएको र विद्युत् सुविधाले विस्तारै गाउँको विकास हुने स्थानीयवासी पदम तामाङको विश्वास व्यक्त गरे । विद्युत् सुविधाले बत्ती बाल्नको अतिरिक्त स्थानीयवासीको सञ्चारमा पहुँच पुगेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रतिकिलोवाट रु चार लाखका दरले ७२ लाख, सङ्घीय सांसद गणेशकुमार पहाडीको संसदीय कोषबाट रु छ लाख, फिक्कल गाउँपालिकाको रु पाँच लाख र जनश्रमदान गरी रु एक करोड २७ लाखको लागतमा आयोजना सम्पन्न भएको इञ्जिनीयर सञ्जीव उपाध्यायले जानकारी दिए । २०७१ सालबाट शुरु गरिएको आयोजना हालै सम्पन्न भएको उहाँको भनाइ छ । भूकम्प प्रभावित जिल्लामा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उत्पादन गर्न र राष्ट्रिय प्रसारणको लाइन नपुगेको स्थानमा केन्द्रले प्रति किलोवाट रु चार लाखका दरले थप सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री