बिहीबार, १३ वैशाख २०८१

अख्तियारले छानबिन थालेपछि कुशहा-बेल्ही सडक निर्माण तीव्ररूपमा सुरु

समयपोष्ट २०७५ फागुन ९ गते १३:४२

Advertisement

लामो समयदेखि अलपत्र छाडेको सप्तरीको कुशाहा–बेल्ही सडकको काम ठेकेदार कम्पनीले पुनः शुरु गरेको छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको कामले निरन्तरता पाएको हो ।

सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिएपनि ठेकेदार कम्पनीले काम अलपत्र छाडेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले गत कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालय राजविराजसँग सो सडकको सम्पूर्ण विवरण माग गरेको थियो ।अख्तियारले छानबिन थालेपछि ठेकेदार कम्पनीले सडकको काम तीव्ररूपमा अघि बढाएको हो । कम्पनीले धमाधम काम अघि बढाएपनि सडकको काम सन्तोषजनक नरहेको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।

जिल्ला प्राविधिक कार्यालय सप्तरीले पप्पु मृतसञ्जीवनी जेभी, काठमाडौँ नामको ठेकेदार कम्पनीलाई सो निर्माण कार्यको जिम्मा दिएको थियो ।

करीब दुई वर्षअघि नै सडकमा हालिएको ग्राभेलमै ठेकेदार कम्पनीले अहिले धमाधम कालोपत्र गर्न शुरु गरेकाले सडक छिट्टै भत्किन सक्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ ।

११ करोड १ लाख ७९ हजार ५५२ रुपैयाँको लागतमा सञ्चालित योजनाअन्तर्गत निर्माणाधीन सो सडक छेउमै पानी बगाउनका लागि नाला र वृक्षरोपण गर्नुपर्नेछ ।

तोकिएको समयसीमाभित्र सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन भने हालसम्म कालोपत्रे गरिएका सडकका कतिपय ठाउँ उप्किनुको साथै खाल्डाखुल्डी समेत भएको स्थानीयवासी बताउँछन् ।

सडक र नाला निर्माणमा लापरवाही देखिए पनि तत्कालीन जिल्ला प्राविधिक कार्यालयका कर्मचारीको मिलेमतोमा सात करोड ३५ लाख ९४ हजार ३ सय ४५ रुपैयाँ निकासा भएको छ ।

कामको उचित मूल्याङ्कन नगरी कर्मचारीको मिलेमतोमा बढी रकम भुक्तानी दिइएकाले ठेकेदार कम्पनी सडकलाई अलपत्र पारेर सम्पर्कविहीन भएको स्थानीयवासीको गुनासो छ ।

सप्तरीको सुरुङ्गा नगरपालिकाको कुशहाबजारदेखि बलानबिहुल गाउँपालिकामा पर्ने भारतीय सिमावर्ती क्षेत्र बेल्हीसम्म करीब साढे १६ किलोमिटरसम्मको उक्त सडक योजनाअन्तर्गत सडक छेउमा वृक्षरोपणसमेत गर्ने भनिए पनि त्यसमा पनि चरम लापरवाही भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

योजनाअन्तर्गत नाला निर्माणमा पनि ठेकेदारले व्यापक अनियमित गरेकाले छानबिन गर्नुपर्ने बलानबिहुल गाउँपालिका–५ का वडाध्यक्षसमेत रहनुभएका स्थानीयवासी मो हन्सु बताउँछन्।

प्रदेश सरकारअन्तर्गत सिरहामा स्थापना गरिएको जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख राजकुमार गोइतले सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको बैंक सुनिश्चितका लागि रोक्का गर्ने गरी प्रक्रिया शुरु गरेपछि सडकको काम पुनः सञ्चालन भएको बताउँछन्।

सडक निर्माणमा कमीकमजोरी भएकाले छिट्टै सडक उप्किएको र नालामा समेत केही क्षति भएकाले सोको मर्मतसमेत सम्बन्धित ठेकेदारबाटै गराउने प्रमुख गोइतको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री