शुक्रबार, १६ चैत २०८०

भारत सरकारको सहयोगमा निर्माण हुन लागेको २२ कोठे बिद्यालय भवनको शिलन्यास

समयपोष्ट २०७५ फागुन ४ गते २२:४०

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेको श्री महालक्ष्मी माध्यामिक बिद्यालयको २२ कोठे भवनको शिलन्यास सम्पन्न भएको छ ।

भूकम्पले पूर्णरुपमा क्षति पुगेको उक्त बिद्यालय भवनको शिलन्यास शनिबार संघीय सरकारका शिक्षा बिज्ञान तथा प्रबिधिमन्त्री गिरीराजमणी पोखरेलले गरेका हुन्।

बिद्यालय भवनको शिलन्यास कार्यक्रमलाई संबोधन गर्दै मन्त्री पोखरेलले शिक्षामा विज्ञान र प्रविधि भित्र्याउनु जरुरी रहेको बताए। उनले शिक्षालाई विकास र समृद्धिसँग जोडेर अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको भन्दै त्यसका लागि अबको शिक्षण सिकाइमा विज्ञान र प्रविधि अनिवार्य रहेको उल्लेख गरे ।

विसं २०२८ मा ल्याइएको शिक्षा नीतिले वर्तमान शैक्षिक आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने भएकाले सरकारले नयाँ शिक्षा ऐन ल्याएर कार्यान्वयन गर्ने तयारी गरिरहेको उनले बताए ।

मन्त्री पोखरेलले नेपालको पुरानो शिक्षामा कामको संसार र शिक्षाको संसारको तालमेल नमिल्दा अहिलेको बेरोजगारीको अवस्था सृजना भएको भन्दै अबको शिक्षा रोजगारमूलक हुने बताए।

उच्च शिक्षासँगै प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा रहेको भन्दै उनले शिक्षक सेवा आयोगलाई पुनर्गठन गरेर सरकार अघि बढ्न लागेको बताए ।

सङ्घीय सरकार राष्ट्रिय परीक्षा बोर्डलाई नयाँ ढङ्गले व्यवस्थित गर्ने तयारीमा रहेको मन्त्री पोखरेलले जानकारी दिए । उनले अहिले पनि देशभरि ६० हजार बालबालिका विद्यालयबाहिर रहेको तथ्याङ्क उल्लेख गर्दै सरकारले आउँदो शैक्षिक सत्रमा सबै बालबालिकालाई विद्यालय पठाउने वातावरण तयार पार्ने बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री