बिहीबार, १३ वैशाख २०८१

विकास बैङ्कले अन्धाधुन्ध लगानी र व्याजदर बढाएका छैनन्

समयपोष्ट २०७५ माघ २० गते ११:३१

Advertisement

महालक्ष्मी विकास बैङ्कको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

महालक्ष्मी विकास बैङ्क, विकास बैङ्कहरूमध्ये लिडिङ विकास बैङ्कको रूपमा रहेको छ । आजको दिनमा यसका शाखा सञ्जालहरू झन्डै ८९ पुगिसकेका छन् । अबको तीन महिनाभित्र यसको सङ्ख्या १ सय १ पुग्दै छ । हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दुर्गम स्थानहरूमा समेत सेवा पुर्याइरहेका छौँ । हामीसँग चुक्ता पुँजी २ अर्ब ८४ करोड रूपैयाँ रहेको छ । साढे २८ अर्ब निक्षेप, २५ अर्ब कर्जा लगानी रहेको छ । धेरै ठूला विकास बैङ्कमध्ये हाम्रो बैङ्क दोस्रो नम्बरमा पर्छ । मुलुकभर शाखा सञ्जाल हुनु नै यस बैङ्कको मुख्य विशेषता हो । विगतका दिनहरूमा भन्दा अहिले यस बैङ्कको ग्रोथ द्रुत गतिमा अगाडि बढिरहेको छ ।

मुख्यरूपमा लगानीका क्षेत्रहरू के–के छन् ?

कमर्सियल बैङ्क र विकास बैङ्कको लगानीका क्षेत्रहरू एउटै हुन् । खालि हामीले एलसी र टीआर गर्दैनौँ । यहाँको उद्योग, पर्यटन, कृषि, हायर पर्चेज, थोरै भए पनि सेयर कर्जा यी सबैमा कर्जा लगानी गरेका छौँ । विकास बैङ्कहरूलाई पनि राष्ट्र बैङ्कले उत्पादनशील क्षेत्रमा यति प्रतिशत लगानी गर भनेर तोकिदिएको छ । त्यो अनुसार हामीले लगानी पनि गर्दै आएका छौँ । त्यस हिसाबले हामी एउटै सेक्टरमा जोखिमको हिसाबले पनि लगानी गर्दैनौँ । लगानीका क्षेत्रहरूलाई विविधीकरण गरेका छौँ ।

हाम्रो मान्यता भनेको अब कमर्सियल बैङ्क ठूलो, विकास बैङ्क सानो भनेर हेर्नुको कुनै अर्थ छैन । सबैले ठूला–ठूला डिपार्टमेन्ट स्टोर सञ्चालन गर्न पाउनुपर्छ भन्ने छैन ।

अहिले विकास बैङ्कहरूको पुँजी पुराना कमर्सियल बैङ्कहरूको जति नै भइसकेको छ । अब विकास बैङ्क कसरी अगाडि बढ्नुपर्छ ?

आजभन्दा दुई–तीन वर्षअगाडिका कमर्सियल बैङ्कको साइजमा विकास बैङ्कहरू पुगिसकेका छन् । अहिले ग्रोथको हिसाबमा पनि कतिपय कमर्सियल बैङ्कको भन्दा ठूलो ग्रोथ छ । हाम्रो सामान्य मान्यता भनेको अब कमर्सियल बैङ्क ठूलो, विकास बैङ्क सानो भनेर हेर्नुको कुनै अर्थ छैन । सबैले ठूला–ठूला डिपार्टमेन्ट स्टोर सञ्चालन गर्न पाउनुपर्छ भन्ने छैन । कसैले ठूलो व्यवसाय गर्ला तर नेपालको बैङ्किङ सेक्टरमा विकास बैङ्कहरू जुनसुकै कारोबार पनि गर्न सक्ने भएका छन् । विशेष गरी अहिले तरलताको अवस्थामा विकास बैङ्कहरूले आफ्नो परिपक्वता प्रस्तुत गरेका छन् । यिनीहरूलाई कहिले लगानी रकम अभाव पनि भएन, लोन किनबेच गर्नुपर्ने जरुरी पनि भएन । त्यसैले कमर्सियल बैङ्कभन्दा कर्जा र निक्षेप दुवैको व्याजदरमा फरक भएन । युनिभर्सल बैङ्किङ कन्सेप्टको कुरा पनि चलिरहेको छ । यस हिसाबले सबैले निक्षेप लिएका छन् । सबैले कर्जा लगानी गरिरहेका छन् । हल्का सानो–ठूलो मात्रै हो । ती सबैलाई एकरूपता हुने गरी नीति निर्माण साथै काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

सरकारले कमर्सियल बैङ्कहरूलाई जति सेवा–सुविधा दिइरहेको छ, विकास बैङ्कहरूलाई दिएको छैन नि ?

हामीसँग सरकारभन्दा बढी सर्वसाधारणको भर छ । विशेष गरी लोकल लेबलका प्रमोटर, स्थानीय व्यक्तिहरू मिलेर विकास बैङ्क खडा गरेको हुनाले जहाँ–जहाँ विकास बैङ्क छ, त्यहाँ यिनीहरूकोे विश्वास बढी छ । नीतिगत कारणले ठूला–ठूला सरकारी निकायहरूबाट निक्षेप नहुने, सरकारी कारोबार नहुने विषयमा सरकारले अलिकति विचार गरिदिनुपर्छ । नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भएका सबै बैङ्क तथा वित्तीय संस्थाहरू बराबर छन् । सानो–ठूलो मात्र हो । तथापि अहिले प्रादेशिकस्तरका राज्यहरूले विकास बैङ्कहरूसँग पनि कारोबार गर्ने भनेर पहल सुरु गरिसकेका छन् । सात नम्बर प्रदेशबाट त्यो ऐन नै पास भइसकेको हामीले सुनेका छौँ । उहाँहरूले केही समयभित्रै हाम्रो पैसा तपाईंहरूलाई दिन्छौँ भन्नुभएको छ । क्रमशः अन्य प्रादेशिक निकायहरूले पनि देलान् । हामीले सरकारसँग पनि भनिरहेका छौँ । बैङ्क ग्यारेन्टीको कुरामा पनि हामीले भर्खरै मात्र अर्थमन्त्रीलाई गएर भेटेका थियौँ । उहाँ पनि सकारात्मक हुनुहुन्छ । नियमावली संशोधन गर्नुपर्ने हो, म गरिदिन्छु भन्नुभएको छ । अहिले समस्या जुन–जुन बैङ्कले सरकारी निक्षेप लिएका छन्, उनीहरूलाई परेको छ । तैपनि सरकारले सबैलाई समेट्ने गरी राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त बैङ्क, वित्तीय संस्था सबैसँग उनीहरूको क्षमताअनुसार उनीहरूलाई निक्षेप दिने र कारोबार गर्ने वातावरण सिर्जना गरिदिनुपर्छ ।

हामीसँग सरकारभन्दा बढी सर्वसाधारणको भर छ । विशेष गरी लोकल लेबलका प्रमोटर, स्थानीय व्यक्तिहरू मिलेर विकास बैङ्क खडा गरेको हुनाले जहाँ–जहाँ विकास बैङ्क छ, त्यहाँ यिनीहरूकोे विश्वास बढी छ ।

क्रेडिट क्रञ्चको समस्या जुन हिसाबले कमर्सियल बैङ्कमा देखियो, त्यो विकास बैङ्कमा देखिएन भन्नुभयो । मुहानमै समस्या आइसकेपछि  विकास बैङ्कमा पनि नआउला र ?

बैङ्किङ सेक्टर भनेको एकदमै एक–अर्कासँग अन्योन्याश्रित सम्बन्धित छन् । एउटा बैङ्कमा समस्या आयो भने अर्कोलाई असर नपार्ने हुँदै हुँदैन । चाहे जतिसुकै सक्षम र राम्रो होस् । तथापि हामीले यस पटक धान्यौँ । कमर्सियल बैङ्कहरूले साढे १३ प्रतिशतसम्म व्याजदर दिए । हामी साढे १२ भन्दा माथि गएनौँ । हामीसँगै एउटै भवनमा भएको कमर्सियल बैङ्कले हाम्रो भन्दा १ प्रतिशत बढी दिइरहेको थियो तैपनि हामीले धान्यौँ । कमर्सियल बैङ्कले १३ दिए हामीले त्यो भन्दा बढी दिनुपर्छ भनेर भन्दै भनेनौँ । खालि व्याजदरको कारणले मात्र सर्वसाधारणहरू दौडधूप गर्ने होइन रहेछन् भन्ने कुरा यसले देखाएको छ । हामी विकास बैङ्कहरूमा परिपक्वता देखिएको छ । हामीले अन्धाधुन्ध कर्जा र निक्षेपको व्याजदर बढाएका छैनौँ । समयमै विधि र प्रक्रियाअनुसार आफूले बनाएको योजना, बजेटअनुसार चल्ने हो भने केही फरक पर्दैन । तर १५ दिनको पनि अनुमान गर्न नसक्ने, पैसा छ भनेर अन्धाधुन्ध लगानी गर्ने अनि १५ दिनपछि पैसा छैन भनेर रोई–कराइ गर्ने स्थिति सिर्जना भएको छैन । हुँदा पनि हुँदैन ।

खालि व्याजदरको कारणले मात्र सर्वसाधारणहरू दौडधूप गर्ने होइन रहेछन् भन्ने कुरा यसले देखाएको छ । हामी विकास बैङ्कहरूमा परिपक्वता देखिएको छ ।

 

कमर्सियल बैङ्कहरूसँगै व्याजदर नबढाउने विषयमा यहाँहरूले पनि भद्र सहमति त गर्नुभयो नि ?

यो भद्र सहमति गर्नेमा राष्ट्र बैङ्क र अर्थ मन्त्रालयको ठूलो हात रहेको छ । अहिलेको अवस्थामा यो सकारात्मक पनि छ । खुला अर्थनीति भन्नेबित्तिकै व्याजदर बजारले तोक्ने हो, कुनै संस्थाले तोक्ने होइन । अहिले पनि लिखितरूपमा कुनै संस्थाले यति व्याजदर देऊ–नदेऊ भनेको छैन । तर एउटा संस्थाले गरेको कुनै पनि निर्णयको कारणले अरू बैङ्क तथा वित्तीय संस्थालाई उति नै समस्या पार्छ । यहाँ बैङ्कहरू छाडा भएर तँछाड–मछाड गरेर व्याजदर बढाउँदै जाने हो भने कति पुग्ने हो त ! एउटाले व्याजदर बढाउँदै गएपछि भोलि त्यसकोमा कारोबार बढ्छ । निक्षेप बढ्दै जान्छ । अर्को बैङ्कलाई समस्या पर्दै जान्छ । फेरि अर्कोले बढाउँछ । मुलुकको अर्थतन्त्रले धान्न सक्ने मात्र व्याजदर वृद्धि हुनुपर्छ । अन्धाधुन्ध, तँछाड–मछाड गरेर व्याज बढ्दै जानुभन्दा केही हदसम्म भए पनि संयमित भएको ठीक छ । यो भनेको  रिजनेबल रेटमा बस्नुहोस् । रिजनेबल रेटमा कर्जा दिनुहोस् भन्ने राष्ट्र बैङ्क र अर्थ मन्त्रालयको अनुरोध थियो, त्यो अनुसार कमर्सियल बैङ्कले र हामीले पनि सहमति गर्यौं। यो सकारात्मक हो तर सधैँभरि नरहला । जब बैङ्कहरू परिपक्व हुन्छन्, अन्धाधुन्ध पहिलेको जस्तो गरेनन् भने आफूखुसी फेरि पछि छोडिएला । छोडिएपछि आजभन्दा एक–दुई वर्षअघि जस्तै सामान्य दिशामा कसैको आधा प्रतिशत बढी होला, कसैको घटी होला त्यो सामान्य हो । सबै बैङ्कको उत्तिकै गुडविल पनि हुँदैन । गुडविलको आधारमा पनि निक्षेप र कर्जाको व्याजदर घटी–बढी हुन सक्छ । त्यो हिसाबले पछिका दिनमा संशोधन होला । हाललाई गरेको यो सहमति ठीकै छ । आपसी सहमतिका आधारमा विकास बैङ्क, वाणिज्य बैङ्क र फाइनान्स कम्पनीहरूले सहमति गरेका हुन् ।

मुलुकको अर्थतन्त्रले धान्न सक्ने मात्र व्याजदर वृद्धि हुनुपर्छ । अन्धाधुन्ध, तँछाड–मछाड गरेर व्याज बढ्दै जानुभन्दा केही हदसम्म भए पनि संयमित भएको ठीक छ ।

क्रेडिट क्रञ्च झन्डै चार वर्ष अघिदेखि दोहोरिँदै आएको छ । यसको दीर्घकालीन समाधान के होला ?

तल र माथि नै धारो भएको बाल्टीमा भित्र झर्ने पानीभन्दा बाहिर निस्कने पानी धेरै भयो भने त्यो बाल्टी रित्तिन्छ । बैङ्किङ सेक्टर भनेको पनि त्यही हो । यहाँको सिष्टमले जति धान्छ, जति अर्थतन्त्रमा निक्षेप वृद्धि भएको छ, त्यहीअनुसार कर्जा लगानी गर्ने हो भने समस्या नै हुँदैन । सामान्यतया जेठ महिनामा बजेट आउँछ । सरकारले यति पैसा खर्च गर्छ, यति पैसा बजारमा आउँछ भनेर बैङ्कहरूले अनुमान गर्छन् । त्यही अनुमानका भरमा बैङ्कहरूले बजेट बनाएका हुन्छन् । तर सरकारले सधैँ राजस्व सङ्कलन गर्ने, खर्च नगरिदिने, खर्च गर्न वैशाख–जेठ नै कुर्नुपर्ने अवस्था अहिले पनि छ । अहिले हल्का सुधार भयो होला तर खासै उल्लेखनीय सुधार भएको छैन । पौष महिनामै साठी–सत्तरी अर्बभन्दा बढी राजस्व सङ्कलन हुन्छ । त्यो पनि बैङ्किङ सेक्टरबाट नै जान्छ । जुन अनुपातमा मुलुकले राजस्व सङ्कलन गरेको छ, त्यही अनुपातमा विकास निर्माणमा खर्च गर्दै जाने हो भने ती समस्या हुँदैनन् । त्यसैले बेलैमा यसलाई निराकरण गरिदिनुपर्छ । त्यो भए मात्र यो समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ । मुलुकको अर्थतन्त्र अथवा मौद्रिक नीतिले तोकिएको आसपासमा नै रहेर कर्जा विस्तार गर्ने हो भने यो समस्या सधैँका लागि अन्त्य हुन्छ ।

बैङ्कका आगामी योजना के छन् ?

हामीले यो बैङ्कलाई नेपालकै नमुना बैङ्क बनाउँछौँ भनेका छौँ । शाखा सञ्जालको एक सय एक पु¥याउँछौँ भनेका छौँ । केही पहाडी जिल्लाबाहेक नेपालका अधिकांश क्षेत्रमा हाम्रो उपस्थिति छ । यसलाई भावी दिनहरूमा बैङ्किङ क्षेत्रमा उपलब्ध आधुनिक प्रविधिहरू प्रयोग गरेर अगाडि लैजाने भएका छौँ । ग्रोथ भनेर नर्मल त्यस्तो एग्रेसिभ ग्रोथ गर्दैनौँ तर क्वालिटी ग्रोथ गर्छौं ।

हामीले अर्को संस्थाबाट कर्मचारी ल्याउनुभन्दा हामीसँगै भएका कर्मचारीहरूलाई व्यापक रूपमा परिचालन गरेर तालिम दिएर चुस्त र दुरुस्त बनाउने योजना छ ।

कर्मचारीहरूलाई पनि तालिमहरू दिनुपर्छ भनेर ट्रेनिङ एन्ड डेभलप्मेन्ट डिपार्टमेन्ट खडा गरेका छौँ । अहिले बैङ्क तथा वित्तीय संस्थाका धेरै शाखाहरू खुलेका छन् । कर्मचारी एउटा संस्थाबाट अर्कोमा जाने हुन्छ । हामीले अर्को संस्थाबाट कर्मचारी ल्याउनुभन्दा हामीसँगै भएका कर्मचारीहरूलाई व्यापक रूपमा परिचालन गरेर तालिम दिएर चुस्त र दुरुस्त बनाउने योजना छ । सामान्यतया बैङ्किङ क्षेत्रमा नौलो केही हुँदैन, रुटिङ वर्क नै हुन्छ । तथापि आधुनिक प्रविधि अपनाएर भिसा कार्ड, डलर कार्ड सुरु गरिसकेका छौँ । फरेन करेन्सीको काम हुन्छ । वैदेशिक भ्रमणमा, वैदेशिक रोजगारीमा जानेहरूले डेबिट कार्डदेखि डलरसमेत पाउँछन् । हरेक काम हामीले गरेका छौँ । एउटा लिडिङ विकास बैङ्कको रूपमा अगाडि बढाउँछौ भनेर लागेका छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री