बिहीबार, १५ चैत २०८०

‘पुँजीअनुसारको व्यवसाय छैन’

समयपोष्ट २०७३ माघ २१ गते ६:०८

एनआईसी एसिया बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

Advertisement

एनआईसी एसिया बैंकको अवस्था अत्यन्तै सुदृढ छ । गएको आर्थिक वर्षमा हामीले १ सय ७ करोडको नेट प्रोफिट गरेका थियौं । हाम्रो बैंक पहिलोचोटि एक अर्बभन्दा माथि नाफा कमाउने बैंकमा आएको थियो । चालु आर्थिक वर्षको सुरुवातदेखि नै लिक्विडिटीमा अलिकति समस्या आउन थालेको थियो । त्योअनुसार हामीले सोचेजस्तो व्यवसाय विस्तार गर्न कठिनाइ भएको हो । तर पनि मोटामोटी हामीले वार्षिक रूपमा लगभग तीस प्रतिशतको ग्रोथ गरेका छौं । त्यो हिसाबले सन्तोषजनक नै मान्नुपर्छ । तर, तरलताको अवस्था यस्तै नै कायम रहिरहने हो भने सेवा विस्तार गर्न अलिकति चुनौतीपूर्ण छ । 

पछिल्लोपटक यो तरलताको समस्याका कारण बैंकहरू नयाँकर्जा दिन नसक्ने अवस्थामै पुगेका हुन् ?

म त लगभग हो नै भन्छु । कुनै एउटा दुईवटा बैंकमा उहाँहरूको पहिलेदेखिकै स्ट्रकचरको कारणले केही तरलता भए पनि सामान्यतया अधिकांश बैंकहरूमा निक्षेपको वृद्धिभन्दा कर्जाको वृद्धि पक्कै पनि केही बढी भएको हो । यो क्रम यो आर्थिक वर्षमात्र होइन, पछिल्लो आर्थिक वर्षको पछिल्लो छ महिनादेखि नै सुरु भएको थियो । पछिल्लो आर्थिक वर्ष हेर्नुभयो भने यो छ महिनामा खासै कर्जा विस्तार भएको छैन । त्यसमा मुख्यतया भूकम्प र नाकाबन्दी पछि कर्जा रोकिएको थियो । तर, पछिल्लो छ महिनामा कर्जा विस्तार अत्यधिक नै भएको हो । त्यही मुभमेन्टमा यो आर्थिक वर्ष पहिलो क्वार्टरमा केही चलिरहेको हो । त्यसले गर्दा निक्षेपको वृद्धि हुँदा कर्जाको वृद्धिदर अलि उच्च नै थियो । त्यसैको फलस्वरूप अहिले कर्जामा लगानीयोग्य निक्षेपको पुँजी एक/दुईवटा बैंकबाहेक अधिकांश बैंकहरूमा अभाव छ । त्यसले गर्दा समग्रमा कर्जा प्रवाह गर्न बैंकहरूलाई कठिन नै छ । यसको मुख्य कारण भनेको हाम्रो सानो इकोनोमीमा सरकारी कोषमा पैसा थुप्रिनु हो । कुनै पनि सानो इकोनोमीमा गभर्मेन्ट खर्चले निकै ठूलो महत्व राख्छ । गभर्मेन्टले समयमै खर्च गर्यो भने हामी बैंकिङमा मनि मल्टिप्लेयर भन्छौं जस्तो बजारमा गभर्मेन्टको निश्चित अवधिमा छ महिना एक वर्षमा एक रुपैयाँ आउँछ भने बजारले त्यसलाई मल्टिप्लाइ गर्छ । पैसाले पैसा बनाउने हो । एउटा मुख्य कारण त्यो भयो । अर्को राजस्व कर त हरेक दिन नै उठाइनै रहन्छ । त्यसले गर्दा बजारबाट करका रूपमा पैसा निस्किँदै जाने सरकारी ढुकुटीमा थुप्रिँदै जाने अनि खर्च नहुने मुख्य कारण भयो । अर्को  भनेको रेमिट्यान्सको जुन ग्रोथ छ, त्यो अहिले केही सुस्त भएको छ । मुख्यतया हाम्रो देशमा डिपोजिटमा योगदान पुर्याउने भनेकै ती दुईवटा सेक्टर हुन । ती दुईवटा नै सुक्दै गएको हुनाले निक्षेप वृद्धिदरमा ब्रेक लागेको छ । बैंकले त निक्षेप लिएर कर्जा दिने हो । त्यसले गर्दा अलिकति कठिन छ । 

laxman risal 1

भूकम्प र नाकाबन्दीले गर्दा कर्जा प्रवाह कम थियो, पछि इन्टरेस्ट रेट एकदम कम भयो, जसले गर्दा अधिक बैंकहरूले पैसा दिए त्यसले गर्दा पनि यो अवस्था आएको भनिन्छ नि ?

त्यतिबेलाको सिनारियो हेर्ने हो भने हामी सिसिडी रेसियो भन्छौं लगभग–लगभग ७० को हाराहारीमा चलिरहेको थियो । ७० भनिएको र राष्ट्र बैंकले तोकेको भनिएकोमा १० प्रतिशत ग्याप थियो । समग्र बैंकिङ क्षेत्रको हेर्ने हो भने त्यो भनेको ठूलो रकम हो । त्यो हिसाबले ब्याजदर सस्तो हुँदै गएपछि कर्जाको माग बढ्नु भनेको एकदम स्वाभाविक हो । त्यो जुनसुकै इकोनोमीमा हुन्छ । पछिल्लो छ महिनामा अलि द्रुत गतिमै कर्जा विस्तार भएको थियो । त्यो कर्जा सस्तो भएर पनि हो । केही रकमहरू अनुउत्पादक क्षेत्रहरूमा पनि गयो होला । सेयर लोनमा, घर–जग्गा लोनमा, अटो लोनमा केही पैसा गए तर समग्रमा त्यो सेक्टरमा गएको पैसा भनेको एकदमै ठूलो रकम होइन । पक्कै पनि केही पैसा गयो, त्यो हिसाबले कर्जा वृद्धि हुँदा सोही अनुपातमा निक्षेप नबढ्दा अहिलेको अवस्था भएको हो । जम्मा १५/१६ सय अर्बको बजार छ, त्यसमा दुई सय अर्बको सरकारी पैसा थन्किँदा त्यसको राम्रै इफेक्ट आउँछ । 

तरलता कम गर्न केही दिन अगाडि राष्ट्र बैंकले रिपो पनि जारी गर्यो, त्यो उल्लेख्य मात्रामा बैंकहरूले किनेनन्, यहाँलाई के लाग्छ ?

त्यसमा मेरो व्यक्तिगत बुझाइ अलि फरक छ । नेपाल राष्ट्र बैंकले सिसिडी रेसियो ८० प्रतिशत तोकेको छ । कारण ८० प्रतिशतको हाराहारीमा धेरै बैंकहरू पुगेकाले हो । राष्ट्र बैंकले जुन रिपो जारी गर्छ, त्यो रिपोबाट लिएको रकम निक्षेपमा गणना हुँदैन । त्यसको प्रयोग सिआरआर मेन्टेन गर्नका लागि र केही मात्रामा इन्टर बैंकमा लगानी गरेर केही मार्जिन कमाउनु भन्दा बाहेक त्यसको खासै उपयोग छैन । ८० प्रतिशत सिसिडी पुगिसकेको छ । बाँकी २० प्रतिशतले हरेक बैंकको सिआरआर, क्यास रिक्वायरमेन्ट, एसएलआरले पुगेकै छ । त्यसले गर्दा प्रयोग नभएको हो त्यो । यदि कुनै उपकरण जुन निक्षेपमा गणना गर्न मिल्छ त्यस्तो आयो भने त्यसको अत्यधिक उपयोग हुने कुरा म देख्छु । 

अहिले सबै बैंकहरू पुँजी बढाउनेक्रममा रहेका छन्, यस्तो अवस्थामा यो तरलता अभावले दीर्घकालीन रूपमा कस्तो असर पार्छ ?

दीर्घकालीन रूपमा पुँजीअनुसारको व्यवसाय विस्तार नहुँदा त्यसको सम्भावित रिजल्ट भनेको पुँजीको प्रतिफल घट्ने हो । त्यसको सम्भावना छ । पुँजीअनुसारको व्यवसाय छैन । 

२०७४ असार मसान्तभित्र आठ अर्ब पुँजी कसरी पुर्याउँदैं हुनुहुन्छ ?

हामीले क्यापिटल प्लानअनुसार राष्ट्र बैंकलाई बुझाइसकेका छौं । पछिल्लो आर्थिक वर्षको मुनाफाबाट हामीले २६ प्रतिशत बोनस इस्यु गर्यौं । अब चाँडै पछिल्लो एजिएममा अनाउन्स गरिएअनुसार १५ प्रतिशतको राइट इस्यु आउँदै छ । त्यो आइसकेपछि यो चालु वर्षको प्रोफिटबाट हामीले आठ अर्ब पुर्याउँछौं । 

बैंकहरू एकतिर आठ अर्ब पुँजी बढाउनतिर अगाडि बढिसके, अर्कोतिर एकैपटक चार गुणा पुँजी बढाउँदा यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन असर पार्छ भनेर विश्लेषण गरिदैं छ, यहाँलाई के लाग्छ ?

त्यसको दुईवटा पाटो छ । आठ अर्ब पुँजी भयो र सोहीअनुसारको व्यवसाय म एक वर्ष अथवा दुई वर्षमा बढाउँछु भन्दा अत्यधिक रूपमा कर्जा बढाउँदा हुने जोखिम आउन सक्छ । तर, पुँजी बढ्नुको साथसाथै बैंकको जोखिम वहन गर्ने क्षमता पनि बढेर जान्छ । ब्यालेन्स कहाँनेर रिसिभ गर्ने भन्ने अलिकति सोच बिचार गरे अगाडि बढ्दा म त्यति धेरै जोखिम देख्दिनँ । मेरो यही वर्ष आठ अर्ब पुग्छ र यही वर्ष पुँजीअनुसारको कर्जा पनि बढाउँछु भन्दा केही जोखिम आउन सक्छ । तर, अलिकति ब्यालेन्स गर्यो भने केही पुँजीमा प्रतिफल केही मात्रामा घट्ला तर लङटर्ममा बैंकको पुँजी बलियो हुनु भनेको बैंकिङ सेक्टरका लागि सकारात्मक नै मान्छु । अलिकति प्लानिङको आवश्यकता छ । आजको आजै कर्जा डबल गर्छु भनेर लाग्यो भने केही जोखिम पक्कै हुन्छ । 

laxman risal 2

अन्त्यमा एनआईसी एसिया बैंकले यो वर्ष नयाँयोजना के ल्याउँदै छ ?

नयाँ प्रडक्टहरू ल्याउनेभन्दा पनि भइरहेको प्रडक्टहरूमा समयानुसार सुधार गर्दै लैजाँदै छौं । अहिले हामीले नेपाल राष्ट्र बैंकको विपन्न वर्गमा सिधै लगानी गरेको रिक्वायरमेन्टअनुसारको चारवटा प्रडक्टहरू बनाएर हाम्रो एउटा टिम शाखाहरूमा व्यापक रूपमा परिचालन गरेका छौं । त्यसैगरी हामीले होम लोनमा प्योर होम लोन भनेर एक करोडसम्म सजिलो तरिकाले प्रदान गर्ने गरेका छौं । साना मझौला कर्जामा तीन/चारवटा प्रडक्टहरू अहिले अत्यन्तै लोकप्रिय भएका छन् । प्रडक्ट भन्नेकुरा निरन्तर चलिरहने कुरा हो । कुनै पनि प्रडक्ट कि डिपोजिट कि लोन कि इलेक्ट्रोनिक बैंकिङसँग सम्बन्धित हुन्छ । हामी अहिले इलेक्ट्रोनिक बैंकिङमा अगाडि बढ्नुपर्छ भनेर लागिरहेका छौं । हाम्रो मोबाइल बैंकिङको एप्लिकेसनहरू  पनि हामीले रिभाइभ गर्यौं। हामीले इन्टरनेट बैंकिङमार्फत इन्टर बैंक पेमेन्ट गर्न सक्ने क्यापाबिलिटीमा पहिलो बैंक भयौं । यो वर्षमात्र हामीले आठ/दसवटा नयाँ प्रडक्टहरू बजारमा ल्याएका छौं । हाम्रो कतिपय प्रडक्टहरू टार्गेटेड सेग्मेन्टमा हुन्छ । त्यो हिसाबले लोकल एरियामा मात्र हामी त्यसको प्रचार–प्रसार गर्छौं । 

अहिले हामी शाखा विस्तारमा पनि लागिरहेका छौं । यो चालु आर्थिक वर्षमा बाह्रवटा शाखाहरू खोलिसक्यौं । लगभग अरू २८ वटा शाखाहरू खुल्नेक्रममा छन् । यो आर्थिक वर्षमा ४० वटा नयाँ शाखा खोल्ने तयारीमा हामी लागेका छौं। गत साधारणसभामा हाम्रो अध्ययक्षज्यूले वातावरण संरक्षरणमा बैंकको योगदान होस् भनेर यो आर्थिक वर्षमा सात हजार नयाँ बिरुवा रोप्ने घोषणा गर्नुभएको थियो । त्यसमा हामीले विराटनगरमा बन्दै गरेको नयाँ खेलकुद स्टेडियममा पन्ध्र सय बिरुवा रोप्ने भनेर एउटा सम्झौता गरेका छौं । अहिले तत्कालै बिरुवा रोप्ने सिजन नभएकाले सुरुवातका रूपमा राष्ट्रिय खेलकुद सुरु हुनुभन्दा अगाडि २०० बिरुवा रोपेर सुरुवात गर्यौं । रूख रोप्ने सिजन आएपछि त्यो काम सम्पन्न गर्छौं । त्यस्तै हामीले अरू तीन/चारवटा संस्थाहरूसँग एमओयु गरिसकेका छौं र सांकेतिक रूपमा सुरुवात पनि गरिसकेका छौं । भर्खरैमात्र हामीले धरानको बीपी कोइराला इन्स्टिच्युटमा सुरुवात गरेका थियौं । लगभग हाम्रो लक्ष्य दस हजार बिरुवा रोप्ने हो । त्यसअनुसार अगाडि बढिरहेका छौं । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री