बिहीबार, १५ चैत २०८०

एमाले–माओवादी कार्यदल बैठकः एकीकृत पार्टी संघीय संरचनाअनुसार

समयपोष्ट २०७४ फागुन १२ गते १५:१९

नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् ।

Advertisement

दुई दलको आज बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठकमा नेपालको संविधानअनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढाउने गरी छलफल शुरु गरेको छ । दुई पार्टीको संगठनात्मक अनुभव आदानप्रदानबाट कार्यदलले औपचारिक रुपमा काम शुरु गरेको एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो ।

बैठकले यही फागुन २५ गतेभित्र कार्यदललाई तोकिएका काम सम्पन्न गर्न कार्यतालिका बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

आजको बैठकमा एमाले र माओवादी केन्द्रका संगठनात्मक ढाँचा, अभ्यास तथा अनुभवका बारेमा एक अर्का पार्टीको जानकारी आदानप्रदान गर्ने काम भएको नेता विष्टले बताउनुभयो ।

माओवादी केन्द्रका नेता रामबहादुर थापाको अध्यक्षतामा बसेको कार्यदलको बैठकले अन्तरिम विधान मस्यौदा तयार पार्दा निश्चित विधि र मापदण्ड अपनाउनेसमेत निर्णय गरेको छ । कार्यदलको अर्को बैठक फागुन १५ गते मंगलबार एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्नेछ ।

कार्यदलमा एमाले महासचिव ईश्वर पोखरेल, सचिव विष्ट, नेताहरु रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, बेदूराम भुसाल सदस्य हुनुहुन्छ भने माओवादीका तर्फबाट नेता थापा, वर्षमान पुन, मातृका यादव, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा सदस्य हुनुहुन्छ ।

एमाले र माओवादी केन्द्रले यही फागुन महिनाभित्रै एकता प्रक्रियालाई टुंगो लगाउने गरी आवश्यक तयारी गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी एकताको आधार पूर्णरुपमा तयार पार्न कार्यदललाई यसअघि नै निर्देशन दिइसक्नुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री