फोरमलाई सरकारमा ल्याउन जनमतविपरीत संविधान संशोधन गरे प्रतिरोध गर्ने मोहनविक्रमको चेतावनी
ने.क.पा. (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले फोरमलाई सरकारमा ल्याउनका लागि ओली सरकारले आफ्नो पहिलेको अडान विपरित संविधानमा संशोधन गर्ने नीति अपनाए जनतामाथि विश्वासघात हुने बताएका छन् ।
संघीय समाजवादी फोरमले सरकारमा सामेल हुनका लागि संविधानमा संशोधन हुनुपर्ने राखेको शर्त प्रति एमाले सकारात्मक भएको भन्ने समाचार आएसंगै महामन्त्री सिंहले विज्ञप्ति मार्फत सो कुरा बताएका हुन् ।
बिहीबार जारी गरिएको बिज्ञप्तीमा भनिएको छ ,फोरमले सरकारमा सामेल हुनका लागि संविधानमा संशोधन हुनुपर्ने शर्त राखेको र त्यसप्रति एमाले सकारात्मक भएको कुरा सञ्चार माध्यमहरुले बाहिर ल्याएका छन्, फोरमलाई सरकारमा ल्याउनका लागि ओली सरकारले आफ्नो पहिलेको अडानविपरीत संविधानमा संशोधन गर्ने नीति अपनाए भने त्यो जनतामाथि विश्वासघात हुनेछ ।’
विज्ञप्तिमा त्यस प्रकारको कुनै पनि कदमको पार्टीले कडा विरोध गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ,’पहिले प्रथम संविधान संशोधनका बेलामा ओलीको सरकारले सम्झौतापरस्त नीति अपनाएर त्यसलाई पारित गराएको थियो । तर दोस्रो संविधान संशोधनका बेलामा त्यसले त्यसका विरुद्ध दृढ नीति अपनाएको थियो । एमालेले दोस्रो संविधान संशोधन, भारतीय नाकाबन्दी, भारतका कतिपय हस्तक्षेपकारी नीतिहरुका विरुद्ध तथा चीनसितको सम्बन्ध विस्तारको पक्षमा स्पष्ट अडान लिएको थियो । एमाले र माओवादीका त्यस प्रकारका नीति र भूमिकालाई हाम्रो पार्टीले समर्थन गरेको थियो । उनीका त्यस प्रकारका नीति र भूमिकाका कारणले नै चुनावमा उनीहरुले जनताबाट ठूलो समर्थन प्राप्त भएको थियो । उनीहरुको त्यस प्रकारको पूर्व नीति वा अडानमा पुनः विचलन आउने छैन भन्ने हामीले आशा गरेका छौं ।
विज्ञप्तिमा संविधानमा संशोधन एउटा सामान्य प्रक्रिया भएको र आवश्यकतानुसार त्यस प्रकारका कैयौं संशोधनहरु गर्दै जानुपर्ने भएपनि मधेशवादीहरुले जोड दिइरहेका संशोधनहरुको प्रकृति राष्ट्रघाती प्रकारको रहेको पार्टीले ठहर गरेको छ । ‘त्यसकारण तिनीहरुलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट र निश्चित मत छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया