शनिबार, ८ वैशाख २०८१

युद्धस्तरमा निर्माण हुँदै चीनबाट नेपाल हुँदै भारत जोड्ने अन्तर्राष्ट्रिय सडक मार्ग

समयपोष्ट २०७४ माघ २९ गते १४:२८

रामहरि न्यौपाने 
नुवाकोट– राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तोकिएको समयभित्रै पूरा गर्न तीव्रता दिइएको छ ।  अहिले दुई चरणमा दैनिक आठ घण्टा सडकमा सवारी आवागमन बन्द गरिँदै आइएकामा फागुन १ गतेदेखि एकै चरणमा दैनिक ६ घण्टा सडकमा आवागमन बन्द गरी सडक विस्तारको कार्यलाई गति दिन लागिएको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए ।

Advertisement

फागुन १ देखि दैनिक बिहान ११ बजेदेखि साँझ पाँचबजेसम्म सडकमा सवारी आवागमन बन्द गरी काममा तीव्रता दिने निर्णय जिल्लाको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शुक्रबार गरेको हो । यो सडकमा गएको पुस १ गतेदेखि यही माघ मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपरान्ह ४ बजेसम्म दुई चरणमा आठ घण्टा सवारी सञ्चालन बन्द गरी निर्माणको काम अघि बढाइँदै आइएको थियो ।

वि.सं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पुस १ देखि शुरु भएको सडक स्तरोन्नति तथा विस्तारको काम छ महिना थपसहित गरी २७ महिना (२०७५ फागुन ५) मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । यसअघि एक वर्ष अवधिको प्रगति निकै निराशाजनक भएपछि लक्ष्य पूरा गर्न अहिले युद्धस्तरमा काम भइरहेको योजना प्रमुख देवकोटाले बताए ।

“भारतीय नाकाबन्दीले चीनसँग जोड्ने अन्तर्राष्ट्रिय नाकाको रुपमा छनोट गरिए पनि सडक विस्तारमा लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सकेका छैनौं,” योजना प्रमुख देवकोटाले भने,  “मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानान्तरण, वन क्षेत्रमा काम गर्न अनुमति पाउन ढिलाइले तोकिएको समयमा काम पूरा गर्न गाह्रो भइरहेको छ ।”

काम शुरु भएको एक वर्षको अवधिमा (विसं २०७४ मंसिर मसान्तसम्म) आर्थिक प्रगति दश प्रतिशत मात्र भएको थियो । पुस १ देखि सडकमा सवारी आवागमन बन्द गरी काम शुरु भएको करिब दुई महिनामा प्रगति उत्साहजनक देखिएको छ । योजना प्रमुख देवकोटाका अनुसार आर्थिकतर्फ २१ दशमलव ३ प्रतिशत र प्राविधिकतर्फ १४ दशमलव ३५ प्रतिशत पुगेको छ, यो प्रगति सफलता उन्मुख हो । सडक विस्तारको काम सम्झौता अवधि २१ महिना भएपनि छ महिना थप गरेर २७ महिना  पुर्याइएको  छ ।

पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने सडक ८२ किलोमिटर लामो छ ।  सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किलोमिटर सडक (गल्छी–त्रिशूली–मैलुङ्ग) को काम सम्झौता भएर शुरु भएको एक वर्षमा दश प्रतिशत मात्र भएको छ । अब बाँकी रहेको एक वर्षमा ९० प्रतिशत कार्य गर्नुपर्नेछ ।

फागुन १ देखि दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरी काम थालेर अबको दुई महिनामा प्रगति ३५ प्रतिशत पुर्याउने लक्ष्य लिइएको योजना प्रमुख देवकोटाले बताए ।  चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म ८६ किलोमिटर सडक निर्माणका लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनामार्फत तीन खण्डमा निर्माण गर्न रु नौ अर्ब ५० करोड बजेट उपलब्ध गराएको छ । साविक सडक सुधार तथा स्तरोन्नतिको काम ठेकेदार पक्ष कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनसहित नेपाली सेना र चीन सरकारमार्फत भइरहेको छ ।

गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किलोमिटर सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किलोमिटर सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किलोमिटर सडक नेपाली सेनामार्फत ट्रयाक खोल्ने काम भइरहेको छ । सेनाले आगामी वैशाखसम्ममा हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किलोमिटर सडक चीन सरकारमार्फत निर्माण गरिएको छ ।

मुख्य बजारमा चार लेन 

गल्छीबाट शुरु भएर चीनसँगको सीमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनमा हुने भएपनि धादिङको गल्छी बजार र नुवाकोटको गंगटेदेखि ढुङ्गे बजारसम्म चार लेन बनाउन लागिएको छ । गल्छीको मुख्य बजारमा ५०० मिटर र गंगटेदेखि ढुङ्गेसम्म पाँच किलोमिटर सडकमा बीचमा फूलबारी (क्वारी) सहित चार लेनको बनाउन लागिएको योजना प्रमुख देवकोटाले बताए । उनका अनुुसार दुई लेन सडकमा ११ मिटर कालोपत्रे बनाइने सडकको मध्यभागदेखि दायाँबायाँ १५/१५ मिटर जग्गा अधिग्रहणका लागि नापी कार्यालयमार्फत लगत संकलन भइरहेकाले जतिसक्दो चाँडो यकिन गरी मुआब्जा वितरण गर्न पहल भइरहेको छ । रु नौ अर्ब पचास करोडको लगानीमा निर्माण भइरहेको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले रु तीन अर्ब ६३ करोड ९१ लाखमा ४६ किलोमिटर सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको हो ।

त्रिदेशीय मार्ग बन्ने 
चीनबाट नेपाल हुँदै भारत जोड्ने सबैभन्दा व्यवस्थित र छोटो दूरीको अन्तर्राष्ट्रिय सडक मार्ग समेत भएकाले रसुवा, नुवाकोट र धादिङसहित सिङ्गो मुलुकको आर्थिक विकासमा यो सडक ठूलो योगदान रहने छ ।  राष्ट्रिय गौरवको योजनाको रुपमा हेरिएको यो सडक निर्माणको कामलाई जनअपेक्षाअनुसार नै नयाँ बन्ने सरकारले तीव्रता दिने आशा गरिएको छ । भारतीय सरकारबाट अघोषित नाकाबन्दी भइरहेको समयमा विसं २०७२ कात्तिक २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यो सडक निर्माण गर्ने निर्णय गरेको थियो ।

सडक सञ्चालनमा आएपछि चीनसँगको सीमा रसुवागढीदेखि त्रिशूली, गल्छी हुँदै काठमाडौँ पुग्न १२८ किलोमिटरको मात्रै यात्रा तय गर्नु पर्नेछ । योजना प्रमुख देवकोटाका अनुसार रसुवागढीदेखि गल्छी हुँदै भारतीय सीमा क्षेत्र पर्साको ठोरीसम्मको दूरी २ सय ७८ किलोमिटर मात्र हुनेछ ।  सन् २०२० सम्म केरुङमा रेल सेवा विस्तार गर्ने चीन सरकारको योजनाले रसुवागढी–काठमाडौँ तथा रसुवागढी–ठोरी सडकको उपयोगितालाई अझै बढाइदिने छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री