सोमबार, ६ वैशाख २०७८

हिम्मत भए अविश्वासको प्रस्ताव ल्याएर देखाउन् : उपप्रधानमन्त्री पोखरेल

समयपोष्ट २०७७ फागुन १४ गते २१:१४

Advertisement

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताउनुभएको छ ।

पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्च अदालतले गरेको निर्णयको सम्मान गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले कसैले राजीनामा माग्दैमा नदिने र संसद्को सर्वोच्चतालाई मानेर संसद्मा नै सामना गर्ने बताउनुभयो ।

Advertisement

उहाँले नेकपाको अर्काे समूहलाई हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउनेसमेत आग्रह गर्नुभयो । “प्रधानमन्त्रीले अविश्वासको सामना गर्नुहुन्छ ।, उहाँले भन्नुभयो, “नेकपाले लोकतान्त्रिक विधिबाट आउने सबैको सामना गर्छ ।” उहाँले प्रधानमन्त्री संसद्को सामना गरेर नेपाली जनताप्रति आफ्नो लोकतन्त्रको प्रतिबद्धतालाई प्रमाणित गर्ने बताउँदै प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाएको भरमा राजीनामा नगर्ने स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री पोखरेले सरकार संसद् बोलाउने प्रक्रियामा अगाडि बढेको पनि जानकारी दिनुभयो ।

“अदालतको फैसलालाई मान्दामान्दै पनि सबभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्च अदालतका न्यायाधीश होइनन् र हुन सक्दैनन्,” उहाँले भन्नुभयो, “अदालतभन्दा धेरै शक्तिशाली न्यायाधीश जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा हामीहरु छौँ ।” उहाँको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ओली नेतृत्वको नेकपाले हरेक परिस्थितिको सामना गर्न तयार रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टी निर्वाचनमा जाने र संसद्को सामना गर्ने दुवै विकल्पमा सक्षम रहेको भनाइ राख्नुभयो ।

नेकपाको स्थायी कमिटी सदस्य रायमाझीले प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको भन्दै पुर्नस्थापना गर्ने अदालतको फैसलालाई पार्टीले स्वीकार गरेको बताउनुभयो । उहाँले अब संसद्मा कुनै पनि दलको बहुमत पुग्ने अवस्था नरहेमा पुनः संसद् विघटन गरेर निर्वाचनमा जानु पर्ने परिस्थिति सिर्जना हुने बताउनुभयो ।

अनेरास्ववियुका संयोजक ऐन महरले सर्वोच्च अदालतको फैसलाले मुलकुलाई अस्थिरतातर्फ धकेल्नेलाई फाइदा पुगेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री