शुक्रबार, १६ चैत २०८०

इटहरीमा तीस करोड लागतमा वाटर पार्क निर्माण

समयपोष्ट २०७७ फागुन १४ गते २०:३७

Advertisement

पूर्वक्षेत्रको केन्द्र मानिएको सुनसरीको इटहरी नगरपालिकाभित्र तरहरास्थित ‘इपि ल्याण्ड एण्ड वाटर पार्क’ को निर्माण सम्पन्न भएको छ । पूर्वप्रहरी अधिकृत प्रहरी अतिरिक्त महानरीक्षक (एआइजी) कृष्ण बस्नेत तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) ज्ञानविक्रम शाह, इटहरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाण्डौंको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पार्क निर्माण गरिएको छ ।

कुल रु ३० करोडमा छ विघा क्षेत्रफलमा निर्माण गरिएको सो पार्कमा पाँच हजार मानिस अट्ने क्षमता छ । अघिल्लो चैत महिनामै सञ्चालनमा आउने भनिएको सो पार्क कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको थियो ।

संसारका सबै ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । विशेषगरी विदेशका ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । ती पार्क कहीँ सरकारले बनाएको हुन्छ त कहीँ निजी क्षेत्रको लगानीमा । नेपालमा मुख्य शहरमा कमै मात्र मनोरञ्जन पार्क छन् । जसले गर्दा परिवारसँग रमाइलो गर्न, घुम्न उचित ठाउँको अभावलाई यो पार्कले पूरा गर्ने पार्क सञ्चालकले विश्वास लिएका छन् ।

पार्क सञ्चालनले गर्दा इटहरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि रमाउने ठाउँ मिलेको छ । यहाँबाट बालबालिका, तन्नेरीदेखि पारिवारिक मज्जा लिन पाउने भएका छन् । पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठ वटा राखिएका छन् ।

एक स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न सक्नेछन् । दिनभरिमा पाँच हजार मानिसले यसमा मनोरञ्जन लिन सक्छन् । पार्कमा एकै पटक ६०० मानिस अटाउने एक वेभ पुल राखिएको छ । यस पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउँने पार्क सञ्चालक समितिका अध्यक्ष भीमबहादुर पौडेलले जानकारी दिनुभयो । जोरासिक यहाँको अर्को सुन्दर विशेषता हो । यहाँ डुङ्गा चढेर डाइनोसरलगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिने अध्यक्ष पौडेलले बताउनुभयो ।

पार्कमा जिप लाइन टावर बनाइएको छ । यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ । साथै, चट्टानमा चढ्ने स्थान पनि निर्माण गरिएको छ । पार्कमा पहिलो स्नोपार्क केही केही समयपछि सञ्चालनमा आउने जानकारी दिँदै अध्यक्ष पौडेलले भन्नुभयो, “पार्कभित्र रेष्टुरेन्ट, बार्बे क्यु हुनेछ र अर्को लञ्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ ।”उहाँले भन्नुभयो, “फास्ट फुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ । यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि छ् ।” प्रदेश–१ को गौरव बोक्ने यो पार्कमा पहिलो चरणमा ६० जनाले रोजगार पाएका छन्

एक अर्व ९५ करोडको बजेट

इटहरी उपमहानगरपालिकाको आठौँ नगरसभा आज शुरु भएको छ । सो अवसरमा नगरप्रमुख द्वारिकलाल चौधरीले कोभिड–१९का कारण पूरक बजेट ल्याउन बाध्य हुनुपरेको बताउनुभयो । उहाँले साताँै नगरसभाले स्वीकृत गरेको बजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड–१९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रममा प्रभाव परेको बताउनुभयो । उपप्रमुख लक्ष्मी गौतमले रु एक अर्व ९५ करोड ४० लाखको संशोधित पूरक आय–ब्ययको अनुमान प्रस्तुत गर्नुभयो ।

उहाँले विनियोजन ऐन, आर्थिक ऐन संशोधन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्र्ने, इटहरी स्वास्थ्य ऐनका सम्बन्धमा वनेको विधेयक, इटहरी भूउपयोग तथा जग्गा व्यवस्थापन गर्न बनेको विधेयक र टोल विकास संस्था सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७७ पेश गर्नुभयो । चालु नगरसभाको अर्को बैठक फागुन २५ गते बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री