शनिबार, ८ वैशाख २०८१

जब किशोरीलाई परिवारकै सदस्यसँग यौन सम्बन्ध राख्न यसरी बाध्य बनाइयो

समयपोष्ट २०७७ फागुन ८ गते २१:२५

Advertisement

इथियोपियाकी यी छात्राको कहानी तपाईंलाई निकै पीडायुक्त लाग्न सक्छ । बीबीसीसँगको कुराकानीमा उनले आफूलाई सैनिकले बलात्कार गर्ने कोसिस गर्दा आफूलाई बचाउने क्रममा कसरी हात गुम्यो भन्ने जानकारी दिएकी छिन् । यस्तै हजुरबुवालाई आफ्नै नातिनीसँग यौन सम्बन्ध स्थापित गर्न बाध्य बनाएको घटनाबारे पनि उनले कुराकानी गरेकी छिन् ।

यी छात्राको उमेर करिब १८ वर्षको छ । बीबीसीले उनको नाम सार्वजनिक गरेको छैन । विगत दुई महिनादेखि उनी इथियोपियाको उत्तरी प्रान्त टिग्रेको एक अस्पतालमा भर्ना भएकी छिन् र उनी क्रमशः स्वास्थलाभ गरिरहेकी छिन् ।

टिग्रेमा संघर्षको सुरुवात नोभेम्बर सन् २०२० मा भयो । जब प्रधानमन्त्री अबी अहमदले यो प्रान्तको सत्तारुढ पार्टी टीपीएलएफलाई हटाउनका लागि एक आक्रामक अभियान सुरु गरे ।

टीपीएलएफका लडाकूले संघीय सैन्य इलाकामा कब्जा गरेका थिए । टिग्रेमा सुरु भएको यो संघर्षसहित १८ वर्षीया यी छात्रासहित अन्य थुप्रै छात्र–छात्राको सपना चकनाचुर भयो ।

यीमध्ये कति त आफ्नो इलाका अनय मानिसहरुसँग पहाडतर्फ भागे । त्यसपछि अबी अहमदले टिग्रेको राजधानी मेकेलमाथि कब्जासहित जीतको घोष्णा गरिदिए । २९ नोभेमबरमा संघीय सेनाले यहाँ कब्जा गरेको थियो ।

यतिबेला सुरक्षाबलले टिपिएलएफका ती सदस्यलाई निशाना बनाउन सुरु गरे जसले आत्मसमर्पण गर्न अस्विकार गरेका थिए । यतिबेला टिग्रेका निवासीविरुद्ध पनि यस्ता थुप्रै घटना सार्वजनिक भए जसमाथि मानवाधिकार हननको आरोप लागे । यद्यपि, अधिकारीले भने यी आरोपलाई अस्विकार गर्दै आएका छन् ।

यी विद्यालयकी छात्रा र उनका हजुरबुवा अहिले पनि त्यसै इलाकामा आफ्नो घरमा बसिरहेका छन् । उनीहरुको घर अबीय अदी इलाकामा छ । यो इलाका मेकेलेबाट पश्चिममा करिब ९६ किलोमिटर टाढा छ । उनीहरु कतै जान सकेनन् किनभने उनीहरुका लागि टाढाको यात्रा गर्न निकै मुश्किल थियो ।

३ डिसेम्बरको घटनाबारे यी किशोरीले भनिन्, ‘इथियोपियाली सेनाको पोसाक लगाएका एक सैनिक हाम्रो घरमा छिरे । ती व्यक्तिले हामीलाई बारम्बार टिग्रे लडाकूबारे सोधिरहेका थिए ।’

त्यसपछि ती सैनिकले उनीहरुको घरको अनुसन्धान गरे र जब घरमा केही पनि भेटेनन् तब उनीहरुलाई बेडमा सुत्न आदेश दिए । त्यसपछि उनले उनीहरुको चारैतिर गोली बर्साउन सुरु गरे ।

उनी भन्छिन्, ‘उनले मेरा हजुरबुवालाई मसँग यौन सम्बन्ध स्थापित गर्न आदेश दिए । यो सुन्ने बित्तिकै मेरा हजुरबुवा रिसले आगो हुनुभयो र उहाँहरु बीच भगडा हुन थाल्यो ।’

उनी भन्छिन्, ‘ती सैनिकले मेरो बुढो हजुरबुवालाई कोठाभन्दा बाहिर लिएर गए र उनको काँधमा गोली हानिदिए । एउटा गोली तिघ्रामा पनि हाने । त्यसको केही बेरपछि उनी फिर्ता आए।र मलाई मेरो हजुरबुवा मारिदिएको भन्ने जानकारी दिए ।’

‘उनले मलाई अब मलाई कसैले पनि बचाउन नसक्ने बताए । उनले मलाई मेरो कपडा खोल्न भनिरहेका थिए । म बारम्बार याचना गरिरहेकी थिएँ । तर उनले भने मलाई लगातार कुटिरहेका थिए ।’

केही मिनेटसम्म यी दुईबीच निकै संघर्ष चल्यो तर अन्त्यमा ती सैनिकको रिस यति विघ्न बढ्यो कि उनले ती छात्रामाथि पनि गोली हानिदिए ।

उनले भनिन्, ‘उनले मेरो दाहिने हातमा तीनवटा गोली हाने । उनले मेरो खुट्टामा पनि तीन गोली हाने । तर जब बाहिरबाट गोली चलेको आवाज आयो तब उनी त्यहाँबाट गए ।’

‘धन्य हजुरबुवा जिउँदै हुनुहुन्थ्यो । यद्यपि, उहाँको स्थिती निकै खराब थियो र बेहोस हुनुहुन्थ्यो ।’
यी छात्राको हृदयविदारक अनुभव सार्वजनिक भएपछि टिग्रेमा संघर्षका बेला कथित यौन हिंसाको विषयमा चिन्ता बढेको छ । यौन हिंसामाथि संयुक्त राष्ट्रकी दूत प्रमिला पट्टनले आफ्नो चिन्ता व्यक्त गरेकी छिन् ।

उनले भनिन्, ‘यस्ता थुप्रै घटना सार्वजनिक भएका छन् जसमा मानिसहरुलाई उनकै परिवारका सदस्यमार्फत् बलात्कार गर्नका लागि बाध्य गरियो । उनीहरुलाई यस्तो गर्नका लागि डर देखाइयो । उनीहरुमाथि हिंसा गरियो ।’

उनी भन्छन्, ‘यस्ता केही महिलाले अत्यावश्यक वस्तुको सट्टामा यौन सम्बन्ध स्थापित गर्नका लागि बाध्य बनाइएको पनि जानकारी दिए । साथै, मेडिकल सेन्टरबाट पनि यस्ता केही प्रमाण भेटिएका छन् जसमा अचानक गर्भ निरोधक र यौन रोगको परीक्षण गर्ने किटको माग बढेको पाइएको छ । यी सबै घटना र प्रमाण धेरैजसो संघर्षका बेला हुने यौन हिंसाको संकेत हुन् । ’

तीन विपक्षी दलले टिग्रेमा सरकारी संरक्षणमा हत्या र सामूहिक बलात्कारका घटना दैनिकको घटना भएको आरोप लगाएका छन् । उनले एक घटनाको उदाहरण दिँदै टिग्रेमा एक पितालाई बन्दुक तेर्साएर आफ्नै छोरीलाई बलात्कार गर्न बाध्य पारिएको जानकारी दिए ।

एक डाक्टर र एक महिला अधिकार समूहकी सदस्यले नाम गोप्य राख्ने शर्तमा बीबीसीलाई भने, ‘त्यतिबेला हामीले करिब ३ सय किशोरी तथा युवतीमाथि घटित घटना रजिस्टर गर्यौं । यस्ता घटना भिन्न भिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा रजिस्टर गरिएको हो । तर यी सबैको आरोप एउटै थियो । यी सबै किशोरीहरुले आफू बलात्कृत भएको बताए ।’

उनीहरुका अनुसार तीमध्ये धेरैजसो किशोरीले बलात्कार गर्नेहरुले इथियोपियाली सेनाको पोसाक लगाएका थिए । उनीहरुले आफूलाई स्वास्थ्य सहायता नलिन पनि धम्की दिएको जानकारी दिए ।

ती डाक्टरले भनिन्, ‘उनीहरुको शरीर चिथोरिएको थियो । तीमध्ये कोहीमाथि त सामूहिक बलात्कार भएको थियो । यस्तै ती मध्ये एकजनालाई त एक हप्तासम्म बलात्कार गरियो । त्यहाँ कुनै प्रहरी छैनन्, यस्तोमा उनीहरुले कसरी न्याय पाउँछन् ?’

महिला अधिकार कार्यकर्ताले भनिन्, ‘टिग्रेका अन्य हिस्सामा पनि हामीले बलात्कारका यस्तै चकित पारिदिने कहानी सुनेका छौं । तर यातायातको समस्याका कारण हामीले उनीहरुको मद्दत गर्न पाएका छैनौं ।’

मेकेलका एक अस्पतालमा काम गर्ने एक अन्य स्वास्थ्यकर्मीले भनिन्, ‘पछिल्ला केही समयदेखि हरेक दिन करिब पाँचदेखि ६ महिला आउँछन् । उनीहरु कि त एचआइभी निरोधक औषधी माग्छन् कि त गर्भनिरोधक ।’ बीबीसी

प्रतिक्रिया

सम्बन्धित सामाग्री