बुधबार, १२ वैशाख २०८१

गोकर्णेश्वरमा नगर प्रज्ञापरिषद् गठन गर्ने घोषणा

RSS २०७६ फागुन १६ गते १५:०६

Advertisement

नगरपालिकामा साहित्यको विकासका लागि गोकर्णेश्वर नगरपालिकाले नगर प्रज्ञापरिषद् गठन गर्ने भएको छ । नगरपालिकाले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव उद्घाटनका अवसरमा यस्तो घोषणा गरिएको हो । नगर प्रज्ञापरिषद् गठनको घोषणा गर्ने सम्भवतः गोकर्णेश्वर मुलुककै पहिलो नगरपालिका हो ।

महोत्सव उद्घाटन गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड््ययनमन्त्री योगेशकुमार भट्टराईले साहित्य सिर्जनामार्फत सामाजिक तथा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्ने बताउनुभयो । “सबै खालका नकारात्मक पाटोलाई चिर्ने सशक्त औजार साहित्य हो, अन्धकारमा रुमल्निे साहित्यको अब कुनै अर्थ छैन, अब आर्थिक विकास साझा एजेण्डा बन्नुपर्छ”, उहाँले भन्नुभयो । वाग्मती प्रदेशका भौतिक, पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले साहित्यलाई पनि उत्पादनको क्षेत्र बनाउनुपर्ने धारणा राख्नुभयो । प्रतिनिधिसभा सदस्य कृष्ण राईले साहित्यमार्फत नै चेतनाको स्तरवृद्धि हुने बताउनुभयो ।

नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकामा चाँडै नगर प्रज्ञापरिषद् गठन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नेपाली साहित्यको स्तरवृद्धिका लागि प्रतिष्ठान क्रियाशील रहेको बताउनुभयो । प्राज्ञ डा देवी नेपालले स्थानीय तहकै आयोजनामा देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव हुनु गौरवको विषय भएको बताउनुभयो ।

महोत्सवको सहआयोजक ग्राम निर्माण बन्धु मण्डल क्लबका अध्यक्ष तथा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले आगामी दिनमा पनि क्लबले साहित्यिक गतिविधिलाई उच्च प्राथमिकता दिने बताउनुभयो । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेले साहित्यको उपेक्षा भएमा समाज समृद्ध हुन नसक्ने विचार व्यक्त गर्नुभयो । महोत्सव संयोजक तथा वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले नगरपालिकालाई साहित्यको उद्गम क्षेत्रका रुपमा परिचित गराउन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।

नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख विजय आचार्य, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष राजीव थापा लगायतले महोत्सवको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उद्घाटन समारोहलगत्तै प्रतियोगितात्मक कविता वाचन शुरु भएको छ । प्रतियोगितामा छनोट भएका ४० वटा कविता प्रस्तुत गरिँदैछ । सातै प्रदेशको सहभागिता कार्यक्रममा रहेको संयोजक घिमिरेले सुनाउनुभयो ।

केन्द्रमा पहिलो, दोस्रो, तेस्रो र शान्त्वना एवं सातै प्रदेशगतरुपमा पनि पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी साहित्यकाले स्थानीय तहका तर्फबाट पहिलोपटक देशव्यापी प्रतियोगितात्मक महोत्सव आयोजना गरिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री