शुक्रबार, १६ चैत २०८०

नेकपा पार्टी भवन बनाउने तयारी शुरु

RSS २०७६ फागुन १३ गते १६:५५

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सञ्चालन गर्नका लागि नयाँ अत्याधुनिक भवन बनाउने तयारी शुरु गरेको छ । यही माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीको नयाँ भवन बनाउने सचिवालयको निर्णयलाई अनुमोदन गरेसँगै नयाँ भवन बनाउने गृहकार्य शुरु गरेको नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

पार्टीले पुरानो नेकपा (एमाले) रहेको मदन नगर बल्खुमा नै पार्टी कार्यालय बनाउने निर्णय गरेको हो । भवन बनाउनका लागि अहिले लालपुर्जानुसारको फिल्डमा कति जग्गा छ भनेर अध्ययन भइरहेको छ । पार्टीले बल्खुस्थित जग्गाको अवस्था बुझ्नका लागि प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएसनलाई जिम्मा दिएको छ । एशोसिएसनका अध्यक्ष शम्भु श्रेष्ठले जग्गाको सर्भे सकिएकाले पार्टीलाई प्रतिवेदन बुझाइने बताउनुभयो । उहाँका अनुसार मदन नगरको उक्त जग्गा नौ रोपनी ११ आना तीन दामको छ । “मलाई बल्खुको लालपुर्जाअनुसार फिल्डमा कति जग्गा छ भनेर अध्ययन गर्न भनिएको थियो”, उहाँले भन्नुभयो, “मैले फिल्डमा गएर लालपुर्जाअनुसारको जग्गा रहेको प्रतिवेदन तयार पारेको छु । चाँडै पार्टीलाई प्रतिवेदन बुझाउनेछु ।”

पार्टीले पटकपटक भवन बनाउने निर्णय गरे पनि कार्यान्वयन गरेको थिएन । यसपटक भने दुई पार्टी एक पनि भएको र दुई ठाउँमा पार्टी कार्यालय रहेकाले एकै ठाउँमा सञ्चालन गर्नका लागि भवन बनाउने कार्यमा पार्टी जुटेको छ । “केन्द्रीय कमिटी बैठकले भवन बनाउने निर्णयसँगै हामीले पनि तयारी थालेका छौँ”, नेकपा पार्टी कार्यालय, लेखा प्रमुख खेम पौडेलले भन्नुभयो, “अहिले लालपुर्जाअनुसार फिल्डमा जग्गा कति छ भनेर इञ्जिनीयरलाई अध्ययन गर्न दिएका छाँै ।”उहाँले इञ्जिनीयरको प्रतिवेदन आएपछि केकस्तो भवन बनाउने भन्नेमा छलफल गरिने बताउनुभयो । भवन बनाउनका लागि सचिवालयले भवन निर्माण कमिटी गठन गर्ने र उक्त कमिटीले सचिवालयलाई भवनको डिजाइन बनाएर दिइने समेत उहाँले बताउनुभयो ।

बैठकले देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्यसम्पादन गर्न अनुकूल हुने गरी आगामी तीन महिनाभित्र पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णयसमेत गरेको थियो । सो निर्णयानुसार वैशाखभित्र नेकपाले नयाँ भवनको शिलान्यास गरिसक्नुपर्ने हो । विसं २०५४ मा बनेको तत्कालीन एमाले भवन २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो । सो भवन भत्किएपछि तत्कालीन एमालेले पासाङल्हामु प्रतिष्ठानमा पार्टी सञ्चालन गर्दै आइरहेको थियो । अहिले सिङ्गो नेकपाको केन्द्रीय कार्यालय सोही प्रतिष्ठान र जनवर्गीय सङ्गठन र विभागहरु पेरिसडाँडास्थित तत्कालीन नेकपा(माओवादी केन्द्र)को भवनमा सञ्चालित छन् ।

पार्टीले प्रतिष्ठानस्थित कार्यालय भवनवापत मासिक भाडा बुझाउँदै आएको छ । पहिले मासिक रु एक लाख ५० हजार भाडा बुझाउँदै आएकामा वर्षेनी १० प्रतिशत वृद्धि भई अहिले पार्टीले भाडावापत रु दुई लाख १५ हजार करबाहेक बुझाउँदै आएको छ । पार्टीको अर्को पेरिसडाँडास्थित कार्यालयले भने भाडा बुझाउनु पर्दैन । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि नयाँ भवन बनाउने विषयमा छलफल भए पनि केन्द्रीय कमिटी बैठकले भर्खर मात्र निर्णय गरेको हो ।
एमालेको नवौँ महाधिवेशन अगाडि पनि बल्खुमा नै नयाँ भवन बनाउने निर्णय गरिएको थियो । तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित भवन निर्माण समितिले छतले अत्याधुनिक भुइँतला (अन्डरग्राउण्ड) सहितको भवनको डिजाइन गरिएको थियो । उक्त भवनको शिलान्यास तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालले गर्नुभएको थियो । सो भवन बनाउने काम त्यत्तिकै सेलाएको थियो । त्यसपछि एमालेले भूकम्पपछि बल्खुमा नै नयाँ भवन बनाउने कुरा गरे तापनि केही ठोस प्रगति हुन नसकेको थिएन । अहिले दुई पार्टी गठन भएपछि केन्द्रीय कमिटी बैठकले नै सचिवालयले गरेको निर्णयलाई अनुमोदन गर्दै तीन महिनाभित्र पार्टीको अत्याधुनिक भवन बनाउने तयारीमा नेकपा छ । नेकपा केन्द्रीय कमिटी बैठकले उक्त कार्यालय भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यलाई न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकलाई दिल खोलेर सहयोग गर्न आग्रहसमेत गरेको थियो ।

कार्यालय सचिव रिजालले बल्खुस्थित पार्टीको जग्गाको नापी कार्यालयबाट ट्रेस नक्शा लिई जग्गा यकिन गर्न थालिएको बताउनुभयो । “कति जग्गामा भवन बनाउन मिल्छ, त्यो हेरेर मात्र हामी भवनको नक्शा ढाँचा गर्नेछौँ”, उहाँले भन्नुभयो, “पार्टीको सबै कार्यालय रहने गरी भवन अत्याधुनिक बन्नेछ ।” उहाँले जग्गाको अवस्था पहिचान भएपछि मात्र कस्तो किसिमको भवन बनाइने भन्ने थाहा हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री