शनिबार, ८ वैशाख २०८१

मन्त्रीलाई जसरी पनि २ अर्ब चाहिएको थियो : विजय मिश्र

समयपोष्ट २०७६ फागुन ९ गते ९:२५

Advertisement

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमै पुगेर अडियो रेकर्ड गर्ने विजय मिश्र जापान बसेर नेपाल फर्केका हुन् । नेपालमै मेसिनरी एन्ड सेक्युरिटी प्रालि स्थापना गरेर सेक्युरिटी प्रिन्टिङ प्रेसकै क्षेत्रमा काम गरेको बताउने उनी स्विट्जरल्यान्डको एक कम्पनीका प्रतिनिधिसमेत हुन् ।

उनले सुरूमा स्विट्जरल्यान्डको प्रेससँग ‘डिल’ भए पनि पछि मन्त्री कमिसनको लोभमा अन्यत्र लागेको बताएका छन् । अडियो रेकर्डबारे मिश्रसँग कृष्ण ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले किन अडियो रेकर्ड गर्नुभएको ?

मैले त उनीहरूलाई अदालतमा उभ्याउने हो ।जर्मनी र फ्रान्सका राजदूतले नेपाललाई प्रिन्टिङ प्रेस किन्नका लागि दबाब दिएका छन् । मेरो उद्देश्य उनीहरूको स्वार्थमाथि घन्टी बजाइदिने हो । यी विवादित कम्पनीलाई जिन्दगीभर नेपाल नआउने गरी बिदा गर्ने हो ।

कसरी कुरा गर्नुभयो ?

पैसा कति आउँछ र काम भयो भने कसरी हुन्छ भनेर मसँग जिज्ञासा राखेका हुन् । हामीलाई कति आउँछ, तलाईं कति हुन्छ भनेर सोधेका छन् । लागत अनुमानमा एक अर्ब बढाउँदा कसलाई थाहा हुन्छ र भनेका छन् । मैले फोनबाटै भिडियो रेकर्ड गरेको हुँ । यो रेकर्ड सुरुमा सम्बन्धित निकायका धेरै मान्छेलाई सुनाएँ । भिडियोमा मन्त्रीको अनुहार झल्याकझुलुक मात्र देखिने भएकाले अडियो मात्र पठाइदिएको हुँ ।

प्रधानमन्त्रीलाई अडियोबारे थाहा छ ?

मैले दुई महिनाअघि प्रधानमन्त्रीकहाँ अडियो पुर्‍याएको थिएँ । तर मेरो अनुमतिबिना कतै बाहिर नजाने सुनिश्चित गरेको थिएँ । सांकेतिक भाषामा भएको हुनाले मैलेबाहेक कसैले पनि यसलाई अर्थ्याउन सक्दैन । उनले पनि केही कारबाही गर्ने छाँट देखाएनन् ।

कतिमा ॅडिल’ थियो ?

५५/६० करोड वा त्यही सेरोफेरो मात्रै आउने भनेपछि मन्त्री बाँस्कोटाले २७ अर्बको ठाउँमा २८ अर्ब बनाएर ल्याऊ न त भनेका हुन् । उनले सांकेतिक रूपमा एक अर्ब रुपैयाँ बढाउँदा के फरक पर्छ र भनेका छन् ।

सुरुमा बाँस्कोटाले तपाईंलाई विश्वास गरेका रहेछन् ?

उनीहरूले स्विट्जरल्यान्डको कम्पनीसँग किन्ने भनी प्रक्रिया बढाउने बताए । सरकारले त्यहाँको कम्पनीलाई चिठी पठायो । बाँस्कोटाले यहाँको राजदूतलाई फोन गर्दा समय दिएनछन् । अनि मलाई फोन गरेर समय मिलाइदिनुपर्‍यो भनेर आग्रह गरे ।

‘प्रधानमन्त्री…

त्यही क्रममा भेटेर कुरा गरौं भने । अनि म मन्त्रीको कार्यकक्षमा जाँदा संयोगले खिचिएको हो, खिच्छु भनेर योजनाबद्ध रूपमा खिचेको पनि हैन । भिडियो डेढ वर्षअघि खिचिएको हो । म खराब हुन्थें भने उतिबेलै सार्वजनिक गरिदिन्थें । मैले अहिले सही समयमा उठाएको भएर उनीहरू चुप लागेर बसेका छन् । अहिले आएर थाहा भयो, मन्त्री बाँस्कोटा बहुत फटाहा
मान्छे रहेछन् ।

भिडियो खिचिएको छ भन्ने मन्त्रीले थाहा पाए ?

अस्ति मलाई उनीहरूले मान्छे पठाए । बाँस्कोटाले ‘मलाई कसरी बचाउने हो बचाउ’ भनेका हुन् । पार नलागेपछि ‘त्यो मिश्रलाई कसरी ठिक पार्ने ?’ भन्ने उपाय सोच्न थाले । मलाई ‘केही पैसा लिएर चुप लाग न त’ भन्ने अफर पनि आएको हो । ‘मैले देश चलाउने अनि यसले मलाई चुनौती दिने ?’ भनेर पनि धम्की आएको थियो । मलाई सार्वजनिक लेखा समितिका एक सदस्य (नाम भनेनन्) ले दीपक भट्ट र सोनाम (यति समूहका सञ्चालक) सँग भेट्नुपर्‍यो भनेर पनि प्रस्ताव आएको थियो । पछि एउटा भेटमा भट्टले म संलग्न छैन भनेका थिए ।

किन लागत अनुमान बढाउन खोजे ?

यो रद्द होला भन्ने मेरो अनुमान थियो । उनीहरूले टेन्डरबाट काम गरेको भए पैसा खान पाउने थिएनन् । मन्त्रीलाई जसरी पनि २ अर्ब त चाहिएको थियो नै । टेन्डरमा गएको भए पनि उनीहरूले एजेन्टलाई कमिसन दिने नै थिए । थोरै आउने भएपछि मन्त्रीलाई पुगेन । सबै हिसाबकिताब गरेर मन्त्रीले बढाउन लगाएका हुन् ।

मैले त अझै धम्क्याउन थाल्यौ भने भ्रष्टाचारविरुद्ध संस्था खोलेर तिमीहरू विरुद्ध लाग्छु भनेर भनिदिएको छु । मैले उनीहरूलाई ३५ लाखभन्दा बढी जनसंख्या भएको मुलुकमा यस्तो प्रेस आवश्यक पर्छ भनेर सहमत गराएको थिएँ । जाउ हेरेर आउ भनेर मन्त्रीलाईस्वीट्जरल्यान्ड पठाइदिएको हुँ । उता गए, घुमेर आए अनि यहाँ विकल पौडेललाई च्यापेर आफूअनुकूल कागज बनाएर खेल्न खोजे ।

यो खेलमा अरू को–को छन् ?

यो खेलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतका दुई/तीन जना कर्मचारी छन् । (उनले थर बताए पनि बिर्सिएको बहानामा नाम खोलेनन्) । पछि उनीहरूले प्रधानमन्त्रीसम्म सहजीकरण गर्थे । विकलले मन्त्रीसँग नजिक भएर काम गर्‍यो । ऊ अमेरिकी ग्रिनकार्ड होल्डर हो । अन्तःशुल्कको स्टिकर छाप्दा पनि ऊ संलग्न थियो । एमआरपी छाप्ने भएपछि परराष्ट्र मन्त्रालयमा आएको हो । बदमासी गरेको थाहा पाएपछि टंकमणि शर्माले आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा कारबाही गरेका थिए ।

मन्त्री बाँस्कोटासँग पछिल्लो समय कुराकानी भएको छ ?

छैन । मैले बारम्बार यो विषय लेखा समितिमा उठाउनुपर्‍यो भनेको थिएँ । मसँग अडियो रेकर्ड छ भन्ने थाहा पाएपछि मन्त्री केही सातायता अलि नरम भएका थिए । मेरोविरुद्ध बोले ५ मिनेटमा बाहिर ल्याइदिन्छु भनेको थिएँ । अरू सांसदलाई थाहा भए पनि कोही उनका विरुद्ध बोल्न सकेनन् ।कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री