बिहीबार, १३ वैशाख २०८१

सकियो क्यान इन्फोटेक

समयपोष्ट २०७६ फागुन ७ गते २१:३८

Advertisement

कम्प्युटर एशोसिएसन नेपाल महासंघको आयोजनामा भएको २६ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि बुधबारसम्म ६ दिन चलेको प्रदर्शनी आजबाट सकिएको हो ।

प्रदर्शनीमा झण्डै ४ लाख अवलोकनकर्ता सहभागी भएको आयोजक कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासंघले जनाएको छ ।

१ सय ७४ वटा स्टल राखिएको प्रदर्शनीमा यो पटक सूचना प्रविधि क्षेत्रका सामग्री किनबेच भन्दा पनि नयाँ आविष्कार र सूचना प्रविधिको क्षेत्रमा लागेकाहरुलाई फाइदा पुग्नेगरी स्थान दिइएको थियो ।

स्टार्टअप र इनोभेटिभ व्यवसाय गर्नेहरुलाई २६ वटा स्टल निःशुल्क उपलब्ध गराइएको थियो । त्यस्तै, सूचना तथा सञ्चार प्रविधि (आइसीटी) पढाई हुने कलेजहरुका प्रोजेक्टहरुलाई पनि अलग्गै स्थान दिइएको थियो ।

प्रदर्शनीमा विद्यालय व्यवस्थापन, ई–टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने एप, स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेन्ट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौं अर्ग्यानिक्स, सजिलो मर्मत सेवा, स्किल सेवा, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल रहेका थिए ।

त्यस्तै, सूचना प्रविधि विषयको पढाई हुने कलेजहरुका प्रोजेक्टलाई पनि छुट्टै स्थान दिइएको थियो । प्रदर्शनीले आफुहरुलाई धेरैसामु चिनाउन सहयोग पुगेको र प्रविधिको क्षेत्रमा थप अघि बढ्ने हौसला पाएको प्रदर्शनीमा सहभागी स्टार्टअप तथा कलेजहरुले जनाएका छन् ।

‘हामीले अत्याधुनिक प्रिन्टर बनाएका थियौं, यो प्रदर्शनीभन्दा पहिले खासै कसैले चासो दिएको थिएन । तर हामीले यहाँ स्टल राखेपछि धेरै जनाले तपाईँ त फलानो होइन भन्दै सोध्न थालेका छन्, यो विषयमा बुझ्न चाहनेहरु धेरै रहेछन भन्ने लागेको थाहा पाइयो,’ प्रदर्शनीमा स्टल राखेका दिवस केसीले भने ।

यस्तै पूल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्ने अस्मित सिलवालले क्यान इन्फोटेक प्रदर्शनीप्रति रहेको नकारात्मक धारणा बदल्न यसपटकको प्रदर्शनी सफल रहेको बताए ।

‘रोबोटिक्स क्लवको तर्फबाट हामीले मंगोलियामा सहभागिता जनाएका थियौं, त्यतिबेला खासै चर्चा भएन, तर क्यान इन्फोटेकमा हामीले स्टल पाएपछि धेरैले चासो राख्नुभयो, हाम्रो प्रडक्टबारे जानकारी लिनुभयो, त्यसैले लाखौंमाझ पुग्न सफल भएका छौं, यसले हामीलाई निकै उत्साहित बनाएको छ,’ उनले भने ।

क्यान प्रदर्शनीमा विशिष्ट व्यक्तिहरुको चाँसो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल, श्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्मा, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह, नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी, विभिन्न दलका सांसदहरु, हास्यकलाकार दीपक राज गिरी, मिस नेपाल २०१० सदीक्षा श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरुले मेला अवलोकन गरेका छन् ।

क्यान इन्फोटेकमा पुरष्कृत

यस बर्षको क्यान इन्फोटेकमा सहभागी कम्पनीहरु मध्यबाट आयोजकले उत्कृष्ठ कम्पनीमा एनसेल र भायनेटलाई छनोट गरी पुरष्कृत भए ।

त्यसैगरी उत्कृष्ठ स्टार्ट अप र इनोभेसन तर्फ स्मार्ट क्लिक अटोमेसन सेवा (स्मार्ट घर, होम अटोमेशन) पुरष्कृत भए । छ दिन सम्म चलेको अनलाइन गेममा डोटा टू र सी. एसगो को बिजेता उत्कृष्ठटीम हरुलाई रु १ लाख रुपैयाँसहित पुरस्कृत भए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री