शुक्रबार, १६ चैत २०८०

लाइन विस्तारका लागि गाडिएका पोलसमेत ढले, काम समयमै नहुँदा प्राधिकरणको पाँच करोडको आयोजना अलपत्र

समयपोष्ट २०७६ फागुन ७ गते १३:२२

Advertisement

नेपाल विद्युत् प्राधिकरण दम्ती सवस्टेशनको वितरण लाइन निर्माणको काम नहुँदा आयोजना अलपत्र परेको छ । सवस्टेशन वितरण लाइनको काम समयमा सम्पन्न हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्यूठान जिल्लामा रु पाँच करोड लागतको आयोजना अलपत्र परेको छ ।

सवस्टेशनमा वितरण लाइनका लागि हुनुपर्ने काम समयमै नहुँदा आयोजना सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका इञ्जिनीयर ज्ञानबहादुर फर्सालले बताउनुभयो । आरके इन्टरनेशन नेपाल काठमाडौँले गत भदौमा काम सक्ने गरी ठेक्का लिएको थियो । फर्सालले भन्नुभयो, “ठेकेदार कम्पनीले समयमै काम गरेको भए आयोजना सञ्चालनमा आइसक्थ्यो ।”

विद्युत् भार कटौती मुक्त जिल्लाका रुपमा रहेको प्यूठानमा बारम्बार विद्युत् अनियमिताको समस्या देखिनुको मुख्य कारण सवस्टेशन नहुनु रहेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख जयनन्द बोगटीले बताउनुभयो । विद्युत् प्राथिकरणले आयोजना सम्पन्न गर्न विसं २०७७ वैशाख मसान्तसम्म म्याद थप गरेको छ । लाइन विस्तारका लागि गाडिएका पोलसमेत ढलेका छन् । ठेकेदार कम्पनीले आयोजना समयमै सक्ने विषयमा चासो दिएको पाइँदैन ।

१४ करोडको काम हुने

यसै आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत रु १४ करोड लागतमा विद्युतीकरण गर्ने प्राधिकरण प्रमुख बोगटीले बताउनुभयो । प्यूठान नगरपालिकाका केही ठाउँ र विद्युतीकरण नभएका जिल्लाका विभिन्न ठाउँमा वितरण लाइन निर्माण, ट्रान्सफर्मर जडानका काम गर्ने उहाँको भनाइ छ ।

यो बजेटले यसै आर्थिक वर्षमा काम गर्ने र जिल्लाका केही ठाउँमा अर्को आर्थिक वर्षमा काम गरि जिल्लामा विद्युतीकरणको काम सक्ने योजना आफूहरुले बनाएको उहाँले बताउनुभयो । आगामि आवमा गौमुखी गाउँपालिका–३ रजवाराको केही भाग, नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङका सबै ठाउँ, नौ बहिनी २ खवाङका केही ठाउँमा काम हुनेछ । जिल्लामा अहिले २३ हजार घरधुरीले विद्युत् जडान गरि सुविधा लिइरहेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री