शुक्रबार, १४ वैशाख २०८१

साढे १ करोड लागतमा निर्माणाधीन एकीकृत बस्तीको काम अन्तिम चरणमा

समयपोष्ट २०७६ फागुन ७ गते १०:४९

Advertisement

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माणाधीन बहुउद्देश्यीय एकीकृत नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको छ ।

बस्तीमा २४ घर निर्माण हुँदैछन् । यही महिनाको अन्तिमसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले जानकारी दिनुभयो । “घरहरु निर्माण सम्पन्न गरेर अहिले घेराबारको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “रङरोगन, खानेपानी, बिजुली र घेराबारको काम सम्पन्न गरेर नयाँ वर्ष २०७७ को उपलक्ष्यमा उद्घाटन गर्ने तयारी गरिएको छ ।”

नगरपालिकाको पहलमा निर्माण शुरु गरिएको बहुउद्देश्यीय एकीकृत नमूना बस्ती देशकै नमूना बनाउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिनुभयो । “होमस्टे (घरवास)को अवधारणाअनुसार निर्माण शुरु गरिएको नमूना बस्तीमा ‘एक घर, एक उत्पादन’ गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “ बस्ती सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

भूकम्पपीडितले पाउने प्रतिघरपरिवार रु तीन÷तीन लाखको जम्मा रु ६० लाख र बाँकी रकम पुनःनिर्माण प्राधिकरण तथा नगरपालिकाले लगानी गरेको छ । नगरपालिकाले आर्थिक सहयोगसँगै घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत उपलब्ध गराएको नगरप्रमुख रिजालले बताउनुभयो ।

विभिन्न कार्यक्रम गर्नका लागि आवश्यक सामुदायिक भवनसमेत निर्माण गरिएको उक्त बहुउद्देश्यीय एकीकृत बस्तीमा बालबालिकाका लागि छुट्टै बालउद्यान, कक्षा ५ सम्म पढाइ हुने अङ्ग्रेजी माध्यमको विद्यालय, मन्दिरलगायत रहने जनाइएको छ । विसं २०७५ असोज ४ गते शिलान्यास गरिएको बहुउद्देश्य एकीकृत नमूना बस्ती निर्माणका लागि अहिले १६ दक्ष जनशक्ति खटाइएको छ ।

बहुउद्देश्यीय एकीकृत बस्तीमा सञ्चालन हुने विद्यालयका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग काठमाडौँका डा नरेश रिमालले गर्नुभएको संयोजक ढकालले जानकारी दिनुभयो । काठमाडौँको झम्सीखेल निवासी डा रिमालले भवनका लागि रु ३० लाख, फर्निचरका लागि रु १० लाख र व्यवस्थापनका लागि बैंक खातामा रु १० लाख जम्मा गरिदिनुभएको जनाइएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा तथा उच्च हिमश्रृङ्खला र तराईका समथर भूभाग सजिलै देख्न सकिने विजयखर्कमा निर्माणाधीन बहुउद्देश्यीय एकीकृत नमूना बस्ती नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत पर्दछ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने विजयखर्कमा निर्माणाधीन बहुउद्देश्यीय एकीकृत नमूना बस्तीलाई निकै महत्वका साथ हेरिएको छ ।

करीब रु एक करोड ५० लाख लगानीमा पूरा हुने बस्तीका लागि पुनःनिर्माण प्राधिकरण भवन एकाइ डिभिजन कार्यालय ओखलढुङ्गाको रु ६० लाख र घेराबारका लागि प्रदेश सरकारको रु १५ लाख सहयोग रहेको छ । बस्तीका लागि स्थानीय शारदाप्रसाद ढकालले रु २५ लाख मूल्य पर्ने साढे सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।
दश स्थानीय तह रहेको जिल्लाको अन्य स्थानीय तहमा पनि एकीकृत बस्ती निर्माणको काम धमाधम भइरहेको छ । जथाभावी निर्माण गरिएका बस्तीलाई व्यवस्थित गर्न हरेक स्थानीय तहले एकीकृत बस्ती निर्माणको काम शुरु गरेको हो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री