शुक्रबार, १६ चैत २०८०

पुनर्बीमा कम्पनीलाई एक अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति

RSS २०७६ फागुन ६ गते १६:५२

Advertisement

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक वर्षको सबैभन्दा ठूलो परिमाणको साधारण शेयर बिक्री हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले नेपाल पुनर्बीमा कम्पनीको रु एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले यही फागुन ४ गते सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति प्रदान गरेको हो ।

पछिल्ला दिनमा साधारण शेयर बिक्रीका लागि त्यत्ति धेरै उत्साह नभइरहेको बेला पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्न लागिएको हो । बोर्डले अनुमति दिए लगत्तै कम्पनीले शेयर बिक्रीका लागि आश्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता रु १०० का दरले कूल एक करोड ६० लाख कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड यसअघि नै नियुक्त भइसकेको छ । शेयर बिक्री अघि गरिएको रेटिङमा कम्पनीले ग्रेड २ प्राप्त गरेको छ । इक्रा नेपालले उक्त साधारण शेयरको रेटिङ गरेको हो ।

कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ । साधारण शेयर बिक्री भएपछि कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ । कम्पनीमा नेपाल सरकारको ४४, विभिन्न बीमा कम्पनीको ३९ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी शेयर संरचना तय गरिएको छ । यस्तै बोर्डले गैर आवासीय नेपालीले प्रवद्र्धन गरेकोे ‘एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड’ लाई पनि साधारण शेयर बिक्रीको अनुमति दिइएको छ ।

बोर्डले रु १०० अंकित दरमा रु ३३ करोड ९८ लाख चार हजार ६०० बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर बिक्री गर्ने अनुमति दिइएको छ । जलविद्युत् एवं पूर्वाधार क्षेत्रमा लगानी गर्ने लक्ष्यका साथ गैरआवासीय नेपाली सङ्घले एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी स्थापना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री