बिहीबार, १५ चैत २०८०

सैनिक (पहिलो संशोधन) विधेयक सदनमा पेश

RSS २०७६ फागुन ६ गते १५:४८

Advertisement

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गर्नुभएको छ ।
उहाँले नेपालको संविधानबमोजिम सेनालाई थप लोकतान्त्रिक र सुव्यवस्थित बनाउन विधेयकले मार्गप्रशस्त गर्ने जानकारी दिनुभयो ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ पेश गर्नुभयो । बैठकमा मिडिया काउन्सिल विधेयक, २०७५, अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिअन्तर्गत (पार्लेमो अभिसन्धि) का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिएको थियो । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन, २०७६ लाई बैठकमा पेश गर्नुभयो ।
शोक प्रस्ताव
बैठकले २०४८ को संसदीय निर्वाचनमा नेपाली काँग्रेसबाट गुल्मी २ बाट निर्वाचित सांसद भागवत ज्ञवालीको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । नेपाली काँग्रेस गुल्मीका प्रथम जिल्ला सभापति समेत रहनुभएका उहाँको ७५ वर्षको उमेरमा आज बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा अल्सर रोगबाट निधन भएको थियो । प्रतिनिधिसभाको आगामी बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री